close

चौदण्डीगढी ६ नम्बर वडाका प्रत्येक घरधुरीमा थर्मोमिटर अनिवार्य

चौदण्डीगढी ६ नम्बर वडाका प्रत्येक घरधुरीमा थर्मोमिटर अनिवार्य

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाका वडा नम्बर ६ ले वडाभरिका सबै घरधुरीलाई थर्माेमिटर र औषधी वितरण अभियान थालेको छ । वडा कार्यालयले एक घर एक स्वास्थ्य स्वयंसेविका उत्पादन गर्ने उद्देश्यले अभियान थालेको हो ।

 

अब प्रत्येक घर घरमा ज्वरो नाप्ने यन्त्र थर्माेमिटर एक थानसहित सिटामोल वितरण गरिएको वडाध्यक्ष कमलध्वज राईले जानकारी दिए । 
उनले भने, थर्मोमिटरसँगै ज्वरो आउँदा प्रयोग गरिने सिटामोलसमेत वितरण गरेका छौँ ।’

 

कोभिड–१९ दोस्रो लहरको रोकथामसम्बन्धी जनचेतनामूलक, अभियानका साथ स्वास्थ्य केन्द्रको आयोजनामा स्वयंसेविकालाई दिइएको तालिममा सहभागीलाई स्वास्थ्य सामग्री वितरण गरिएको वडाध्यक्ष राईले बताए । सामान्य ज्वरो आउँदा महामारीको समय स्वास्थ्य चौकी र अस्पताल जान नपरोस् भन्ने मुख्य उद्देश्य भएकाले यो अभियानको थालनी गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

 

वडाको सिर्वानी, सातधारे बस्तीमा वितरण गरिसकेको र बेल्टार बजार क्षेत्रमा भने मंगलबारदेखि वितरण गरिने उनले जानकारी दिए । वडाभरि कुल १३ सय घरधुरी सबैलाई सामग्री वितरण गर्ने लक्ष्य राखिएको छ ।

 

वडाबासीलाई घर–घरमा पुगेर वितरण गर्ने र त्यसमा छुटेकाहरूले वडा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क कलम÷कपी, झोला वितरण गरिसकेको वडाध्यक्ष राईले सुनाए ।