close

काली उर्लिएपछि डुबानमा सेतीवेणी बजार

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च बिन्दुमा 

काली उर्लिएपछि डुबानमा सेतीवेणी बजार

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च बिन्दुमा 

Trulli
ADVERTISEMENT

पर्वत– अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र यस क्षेत्रमा रहेको बजार डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको हो । 

 

कालीगण्डकीमा पानीको सतह २८ वर्षयताकै उच्च बिन्दुमा पुगेपछि शिला र बजार पूर्ण रूपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिए ।

 

उनका अनुसार बिहान ४ बजेदेखि बजार क्षेत्र डुबानमा पर्न थालेपछि १० घर विस्थापित बनेका छन् । १० घरपरिवार र उनीहरूका पसलमा रहेका सामान सुरक्षित स्थानमा सारिएको उनले बताए । 

 

बजार र शिला डुबानमा परेसँगै उक्त स्थानका वासिन्दा त्रसित बनेका छन् । नदीको वहाब उर्लिएर बजार क्षेत्रमै आएपछि व्यवसायीले सुरक्षित स्थानमा सामान सार्न थालेका छन् । ‘पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचनासमेत डुबाएको छ’, पराजुलीले भने ।

 

बजारवासीलाई संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याविनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पूर्ण क्षति पुगेको उनले बताए । पानीको बहाव ह्वात्तै बढेपछि स्थानीय रातभर जाग्राम बसेका थिए । कालीगण्डकी र सेती खोला दुवैको बहाव उच्च हुँदा जोखिम बढेको हो । 

 

मुलुककै सबैभन्दा ठूलो कालीगण्डकी ए जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीवेणी बजार डुबानको खतरामा पर्ने गरेको छ । सेतीवेणी बजारमा डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रमा झन्डै २ सय व्यापारी तथा सर्वसाधारण समस्यामा परेका छन् । 

 

११ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा ३ दर्जन घरपरिवार विस्थापित बनेका थिए । २१ असोज २०६६ मा बजार क्षेत्र नै डुबानमा परेको घटनाले सधँैभर त्रास थप्ने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताए । कालीगण्डकीमा पानीको सतह बढेपछि विद्युत् आयोजनाको बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

 

उनका अनुसार सुरक्षा निकायले स्थानीयलाई सुक्षित ठाउँमा राख्न प्रयास गरेको छ । स्थानीय प्रहरी चौकीका अनुसार सोमबार राती पानीको बहाव उच्च बढेपछि बजारसम्मै आइपुगेको थियो ।