close

अन्नपूर्णको नीति तथा कार्यक्रम: कोदो टन्न फलाउने, भोटे कुकुर बेच्ने

अन्नपूर्णको नीति तथा कार्यक्रम: कोदो टन्न फलाउने, भोटे कुकुर बेच्ने

Trulli
ADVERTISEMENT

कास्की- कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोदोमा आत्मनिर्भर हुने कार्यक्रम लागू गर्ने भएको छ । केही वडाहरूलाई कोदो पकेट क्षेत्रका रूपमा पहिचान गरी किसानलाई प्रोत्साहन गरिने पालिकाले जनाएको छ । वडा नम्बर ४, ५, ६ र ७ मा कोदो पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्न लागिएको हो । अन्नपूर्णले कोदो उत्पादनमा प्रोत्साहन पुग्ने गरी हरेक वर्ष कोदो महोत्सव सञ्चालन गर्दै आएको छ ।

 

‘भण्डारण गर्न सजिलो र लामो समयसम्म नबिग्रिने भएकोले कोदोमा हाम्रो जोड छ । अहिले कोदोको पहिचानै गुम्ने खतरा देखेका छौँ’, पालिका अध्यक्ष युवराज कुवँरले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने, ‘अन्नपूर्णलाई कोदोमा आत्मनिर्भर बनाइन्छ । कोदोबाटै मनग्गे आम्दानी गर्न सकिन्छ ।’


यसअघि नै पालिकाले आफ्नो क्षेत्रभित्रका होटल तथा रेस्टुराँमा कोदोको परिकारलाई मेन्युमा राख्न निर्देशन दिएको छ । यस्तै, वडा नम्बर २ र ३ मा कफी पकेट क्षेत्र, ८ मा सुन्तला पकेट क्षेत्र तथा ९, १० र ११ मा आलु पकेट क्षेत्रको रूपमा विकास गरिने अध्यक्ष कुवँरले बताए ।

 

हिमाली क्षेत्रमा पाइने जडीबुटी, सतुवा, चिराइतो, स्याउ र दाँते ओखर खेतीमा प्रोत्साहन गरिने उनले सुनाए । कम्तीमा ५ रोपनी वा सोभन्दा बढी जग्गामा मौसमअनुसार एकै प्रकारको खेती गर्ने किसानलाई पालिकाले व्यावसायिक कृषकको रूपमा गणना गरी परिचयपत्र वितरण सुरु गर्ने जनाएको छ । 


युवालाई कृषिमा आकर्षित गर्न स्वरोजगार र युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले बताएको छ । पालिकाभित्र एक घर एक बहुपोषणयुक्त करेसाबारीलाई विशेष आयोजनाको रूपमा अघि सारेको छ । 


‘एक कृषक एक दुहुनो गाईभैँसी’ कार्यक्रमलाई अभियानको रूपमा अघि सारिएको छ । घरपालुवा जनावर कुकुरमा विशेष पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल ‘भोटे’ प्रजातिको कुकुरको गणना र संरक्षण तथा छाउरा उत्पादन गरी बिक्री सुरु गरिने पालिकाले जनाएको छ । 


अन्नपूर्णको माथिल्लो क्षेत्रमा भोटे कुकुर प्रशस्त पाइन्छ । बाख्रा, माछा, कुखुराको व्यावसायिक पालनलाई बढवा दिने नीति तथा कार्यक्रममा उल्लेख छ । तालिममार्फत नागरिकको आयआर्जनमा जोड दिने गरी एक घर एक तालिम अनिवार्य गरिएको छ । 

 

गाउँपालिकाको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार पर्यटन भएकाले पर्यटकीय क्षेत्र विकासका लागि आवश्यक पूर्वाधार र संरचना निर्माण गरिने कुवँरले बताए । विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य अन्नपूर्ण बेस क्याम्प, पर्यटकीय गाउँ घान्द्रुकलगायत क्षेत्र यही पालिकामा पर्छन् । अन्नपूर्णले अब सबै गाउँमा सडक विस्तार गर्ने नीतिलाई तीव्र पार्ने भएको छ । ‘एक गाउँ एक सडक’ कार्यक्रम अघि सारिएको छ ।

 

‘सडक सन्जाल ठूलो विकासको पूर्वाधार हो । अधुरा सडक ट्रयाकको पूर्णताका साथै गाउँपालिका केन्द्र एवं मध्यपहाडी लोकमार्गदेखि वडा केन्द्रहरू जोड्ने रणनीतिक महत्त्वका सडक स्तरोन्नति गरिनेछ’, कुवँरले भने, ‘सबै सडकमा बाह्रै महिना गाडी चल्न सक्ने गरी मर्मतलाई जोड दिइनेछ ।’ शिक्षा र स्वास्थ्यमा पालिकाको विशेष जोड छ । पालिकाले कोभिड नियन्त्रण र उपचारमा महत्त्व दिएको छ । 


‘संघीय सरकारको सहकार्य र अनुमतिको आधारमा गाउँपालिकाबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराइनेछ । संघीय सरकारबाट खोप खरिदका लागि अनुमति प्राप्त भए आवश्यक रकमको कमी हुन नदिई गाउँपालिकाबाट आर्थिक स्रोतको व्यवस्थापन गरिनेछ’, नीति कार्यक्रममा भनिएको छ, ‘महामारी रोकथाम र नियन्त्रणका लागि सबै स्वास्थ्य निकाय र समुदायको तयारी अवस्था र तत्काल प्रतिक्रिया गर्ने क्षमताको विकास गरिनेछ ।’ पालिकाले एक घर एक धारा कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्ने जनाएको छ ।