close

खाँदबारी के गर्दैछ ? यस्तो छ नगरप्रमुखको जवाफ (भिडियो वार्ता)

खाँदबारी के गर्दैछ ? यस्तो छ नगरप्रमुखको जवाफ (भिडियो वार्ता)

ADVERTISEMENT

संखुवासभाको खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडा यतिवेला बजेट बनाउने चटारोमा छन् । कृषकलाई कस्ता सुविधा दिने, उद्यम गर्नेलाई कसरी प्रोत्साहन गर्ने भन्नेमा उनको चिन्ता वढी देखिन्छ । यस वर्ष पनि कोरोनाले दुःख दिएका कारण जनताको स्वास्थ्य रक्षा कसरी गर्ने भन्ने चिन्ता पनि छ उनमा । पालिकाखबर बुलेटिनका लागि करिष्मा कार्कीसँगको कुराकानीमा उनले आफ्ना योजनाका पोका र विगतको कामको समीक्षा गरेका छन् । 
 

नगरको वडा नम्बर ६ र ९ लाई बाख्रा र बंगुर पकेट क्षेत्र बनाउने भनेर भर्खरै कार्यक्रम सुरु भएको छ । यी क्षेत्रलाई के आधारमा पकेट क्षेत्र बनाइयो ? किसानले कस्ता फाइदा पाउँदैछन् ? 

वडा नम्बर ६ मा बाख्रा पालनको लागि र ९ मा बंगुर पालनका लागि पकेट क्षेत्र बनाएर जानुपर्छ भन्ने कार्यपालिकाको  छलफल र निर्णयपछि त्यो कार्यक्रम अघि बढाइएको हो । भर्खरै प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत बंगुर पालन कार्यक्रमका लागि ३० लाख रकम आएको छ । त्यही पैसा र स्थानीयको पनि केही आर्थिक सहयोगमा यो कार्यक्रम सुरु गरेका छौँ । ४५ घर परिवारलाई समेट्ने प्रयत्न गरेका छौँ । यस्तै, बाख्रा पालनमा पनि त्यस्तै जनसहभागिता जुटाएका छौँ । किसानले भर्खर सुरुवात गर्दै गरेकाले फाइदा तत्काल देखिएको छैन । अलिक समयपछि त्यसबाट हुने फाइदा देखिनेछ । 

 

कोरोना संक्रमणले व्यापार व्यवसायदेखि जनजीवनसम्म प्रभावित छ । बेरोजगारीको समस्या विकराल बन्दै छ । तर, पालिकाले भने स्वरोजगार बनाउन र लघुउद्यम प्रर्वद्धन गर्न कुनै चासो देखाएन भनेर गुनासो गर्छन् पालिकावासी । उद्यमी बनाउनेतर्फ किन ध्यान नगएको हो ? 

हामीले उद्यमी बनाउनका लागि छोटो अवधिको तालिम सञ्चालन गर्ने प्रयत्न गरेका छौँ । यसपटक तीन वटा वडामा कार्यक्रम कार्यान्वयन गरेका छौँ । त्यसले उद्यमी विकास तालिम कार्यक्रम सञ्चालन गरेको छ । हामीले ८० जना युवालाई स्वरोजगार हुनेगरी तालिम दियौँ । अब उहाँहरुले उद्यम गर्ने कामको पनि व्यवस्था हुनेछ । व्यवसायका लागि ऋण लिने व्यवस्था गरेका छौँ । नगरपालिकाको सिफारिसमा ऋण लिन सकिन्छ । नगरपालिकाले राष्ट्रिय वाणिज्य बैँकसँग सम्झौता गरेको छ । हामीले सिफारिस गरेका व्यवसायीलाई विना धितो, सहुलियत ब्याजदरमा ऋण प्रवाह हुनेछ । सानो स्किमको तीन देखि ठूलो स्किममा पाँच लाखसम्म ऋण लिन सकिनेछ । ब्याजमा अनुदान दिएका छौँ । नियमित रुपमा किस्ता तिर्दै गए पुरुष व्यावसायीले लिएको रकमको २ दशमलव ७४  प्रतिशत र महिला उद्यमीले लिएको ऋणमा १ दशमलव ७४ प्रतिशत मात्रै वार्षिक ब्याज तिर्नुपर्ने व्यवस्था गरेका छौँ । 


 
चालु वर्षमा सवै वडामा गरेर १४० वटा जति आयोजनामा बजेट दिनुभएको छ । एक लाख सम्मका आयोजनामा पैसा बाँढेर समृद्धि कसरी आउला ? एकीकृत लगानीका ठूला योजना निर्माणमा पालिकाले किन ध्यान दिन सकेन ? 

लगानीका ठूला योजना अहिले निर्माण गर्न सकेका छैनौँ । पालिकाले मात्रै गरेर पनि सम्भव छैन । उद्यम गर्ने सोच भएका, कार्यक्रम भएका उद्यमीसँग साझेदारी हामीले गर्ने हो । तराईका जिल्लामा हुने सुविधा जस्तो पहाडका पालिकामा सम्भव छैन । त्यसैले ठूलो उद्योग चलाउन सकिँदैन । तरपनि घरेलु साना उद्योगमा भने हामीले सहयोग गरेका छौँ । 

 

केन्द्र सरकारले दिएका अनुदानको रकम पनि यसपटक खर्च भएन भन्ने छ । कोरोनाका कारण हो कि योजना छनोटमा विवाद भएर हो ? 

हाम्रोमा त्यस्तो समस्या छैन । खर्च भइरहेको छ । योजना सम्पन्न गर्ने चरणमा अघि बढेका छौँ । कोरोना कारण कतिपय सम्पन्न भएका क्षेत्रको भुक्तानी दिन सकेका छैनौँ । हाम्रा कर्मचारी पनि कोरोना संक्रमित हुँदा त्यो समस्या आयो । अहिले हाम्रो धेरै योजना सम्पन्न भइसकेको छ । सम्झौता भएका योजनाहरू अगाडी बढेका छन् । 

 

सक्रिय संक्रमित कति छन् ?  संक्रमित भएकाहरू कहाँ बसिरहनुभएको छ ? 

हामीले पालिकामा ८ सय ७८ जनाको एन्टिजेन र ३ सय ९५ जनाको पीसीआर गर्दा ५ सय १८ जनामा संक्रमण पुष्टि भयो । समस्या भएकालाई आइसोलेसनमा र कम समस्या भएका होम आइसोलेसनमा बसेका छन् । सामुदायिक आइसोलेसनमा ८० जना हुनुहुन्छ । हाम्रा स्वास्थ्यकर्मीले स्वास्थ्य कार्यालयबाट सुझाव र सल्लाह दिएका छौँ । 

 

आगामी आर्थिक वर्षको बजेट बनाउने बेला भएको छ । बजेटका प्राथमिकता के के छन् ? 

अहिले हामी प्राथमिकता निर्धारण गर्दैछौँ । अहिलेको बजेटको प्राथमिकतामा संक्रामक रोगको व्यवस्थापन मुख्य हुनेछ । त्यसपछि प्राकृतिक प्रकोपको व्यवस्थापन र आवगमनलाई सहज बनाउन यातायात पूर्वाधार विकास प्राथमिकतामा रहनेछन् । खानेपानी र सिँचाइ, स्वास्थ्य  र शिक्षालाई पनि बजेट विनियोजन गर्नेछौँ । कृषि, प्रविधि र पर्यटन प्रवद्र्धन पनि प्राथमिकतामा रहनेछन् । मानव संशाधनमा पनि हामीले जोड दिनेछौँ । तालिम दिने, सहयोग गर्ने कार्यक्रम राख्नेछौँ । सूचना तथा सञ्चार क्षेत्र पनि हाम्रो प्राथमिकतामा रहनेछ ।