close

गण्डकीको बजेटमा समेटिए तनहुँका योजना

गण्डकीको बजेटमा समेटिए तनहुँका योजना

Trulli
ADVERTISEMENT

तनहुँ– गण्डकी प्रदेश सरकारले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।मंगलबार प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले तनहुँको दमौली अस्पताललाई ट्रमा सेन्टरको रूपमा स्तरोन्नति गर्न आवश्यक बजेट विनियोजन गरिएको बताए । 

 

यस्तै, मुख्य राजमार्गमा पर्ने नवलपुरको मध्यबिन्दु अस्पताल, बागलुङको धौलागिरि अस्पताल, स्याङ्जाको भीरकोट नगर अस्पताललाई पनि ट्रमा सेन्टरको रूपमा विस्तार गर्न बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

 

संघीय सरकारसँगको सहकार्यमा कास्कीको पुँडीटार र तनहुँको घारी क्षेत्रलाई समेटेर प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि पनि बजेट विनियोजन भएको छ । 

 

यस्तै, तनहुँको भीमाद र नवलपुरको डेढगाउँ जोड्ने सडक र तनहुँको केही भागलाई समेट्ने शालिग्राम करिडोरका निम्ति पनि आवश्यक बजेट विनियोजन गरेको मुख्यमन्त्री नेपालीले बताए । यी २ सडक पुरानै योजना हुन् । पृथ्वीसुब्बा गुरुङको पालामा सुरु भएका यी २ योजनालाई मुख्यमन्त्री नेपालीले पनि प्राथमिकता दिएका छन् ।

 

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७८/०७९ को ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको छ । चालूतर्फ ४३.५ प्रतिशत र पुँजीतर्फ ५५.७ प्रतिशत, वित्तीय व्यवस्थापनमा ०.८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

 

चालू आर्थिक वर्ष ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । प्रदेशको आन्तरिक स्रोत परिचालन अपेक्षाकृत रूपमा बढ्न नसकेको, राजस्व बाँडफाँटबापत प्राप्त हुने रकम र संघबाट प्राप्त हुने अनुदानमा कमी आएका कारण चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट घटेको मुख्यमन्त्री नेपालीले जानकारी दिए ।