close

बन्दीपुरमा जनप्रतिनिधि पार्क बन्दै

बन्दीपुरमा जनप्रतिनिधि पार्क बन्दै

Trulli
ADVERTISEMENT

तनहुँ-  पहाडकी रानी उपमाले प्रसिद्ध ‘बन्दीपुर’ को तालाचाँबी लिएका जनप्रतिनिधिमा अचम्मको मोह जागेको छ । स्थानीय सरकार सञ्चालनको तीन वर्ष पूरा भइसकेको छ । अझ दुई वर्ष सिंगै छ ।

तर, बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले यो कार्यकालपछि आप्mनो नाम सधैंका लागि स्मरण बनाउन जनप्रतिनिधि पार्क निर्माण गर्ने भएका छन् ।

गण्डकी प्रदेशको उत्कृष्ट गन्तव्य बन्दीपुरमा पर्यटकको घुइँचो लाग्ने गर्छ ।

पर्यटकलाई अड्याउने प्रशस्त पूर्वाधार नहुँदा बन्दीपुरमा उतिसारो रोकिँदैनन् । पर्यटकको बसाइ लम्ब्याएर दुई–दिन तीन रातको पु¥याउन बन्दीपुर गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर धमाधम पूर्वाधार थप्दै छ ।

तोकिएकै समयमै स्थानीय तहको निर्वाचन हुने हो भने अबको २ वर्षपछि अहिलेका जनप्रतिनिधिले बाईबाई भन्नुपर्नेछ । तर, आफूहरु बिदा भएर गए पनि बन्दीपुरका जनप्रतिनिधिले नासोको रुपमा पर्यटकीय गन्तव्य ‘जनप्रतिनिधि पार्क’ बनाएर छाड्ने संकल्प लिएका छन् ।

नयाँ पर्यटकीय गन्तव्य थप गर्ने उद्देश्यले गाउँपालिकाले ‘जनप्रतिनिधि पार्क’ गत वर्षदेखि निर्माण थालेको हो । डुम्रे बजारबाट बन्दीपुरतर्फ उक्लँदै गर्दा राइनास डाँडामा सडकको छेउैमा पार्क निर्माणाधीन छ ।

सार्वजनिक जग्गामा निर्माणाधीन पार्कका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँले भिरालो जग्गामा एक तले भवन ठड्याइएको छ । बजेट अपुगले भवन निर्माण अधुरै छ ।  

चालू आर्थिक वर्षमा भवन निर्माण सकेर पार्क सञ्चालनमा ल्याउन १० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

भवन निर्माण सकिएपछि पहिलो चरणमा यहाँ कफी सप र सार्वजनिक शौचालय सञ्चालनमा आउने उनले बताए । ‘पार्कलाई बन्दीपुर उक्लने पर्यटकले दृश्यावलोकन गर्ने केन्द्र बनाउने योजना छ’, उनले भने ।

पार्कबाट आँखै अगाडि टलक्क टल्किएका धौलागिरि, माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, मनास्लु, गणेश र लाङटाङलगायतका हिमशृंखलाको ताँती देखिन्छ । हरियाली जंगलको शिरमा रहेको जनप्रतिनिधि पार्कले पर्यटकको मन जित्नेमा अध्यक्ष थापा ढुक्क छन् ।

पार्कमा अर्को नयाँ गन्तव्य पनि थप्ने गाउँपालिकाको योजना छ । ‘दोस्रो चरणमा जिप फ्लायर सञ्चालन गर्ने योजना छ ।  तर, त्यसका लागि लगानी ठूलो हुने भएकाले गाउँपालिकाको बजेटले पुग्दैन । यसको जिम्मा निजी क्षेत्रलाई दिनेछौं’, उनले भने ।

जनप्रतिनिधि पार्क निर्माणपछि थप पर्यटकलाई बन्दीपुर भित्र्याउन सघाउ पुग्ने बन्दीपुर पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।

उनी भन्छन्, ‘आकर्षक ठाउँमा पार्क बन्दैछ । यहाँबाट देखिने दृश्यले सबैको मन लोभ्याउनेछ ।’ जिप फ्लयार सञ्चालनको योजना बन्दीपुरका लागि बिल्कुल नौलो भएकाले सहकार्य गर्न तयार रहेको उनले सुनाए ।

बन्दीपुर गाउँपालिकाको लगानीमा पछिल्लो समय नयाँ गन्तव्य ‘मिनी ग्रेटवाल’ र ‘साइकल लेन’ थपिएको छ । ‘सिसाको दृश्यावलोकन बिन्दु’ र ‘कृत्रिम ताल’ निर्माणको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।