close

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन उद्योगी, व्यवसायीको माग

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन उद्योगी, व्यवसायीको माग

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेटेर आर्थिक गतिविधिबारे जानकारी गराएको छ ।

 

भेटमा अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरिएको महासंघले बताएको छ । 

 

महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञाको समय अग्र भागमा रहेर उपभोग्य वस्तुको निर्वाध उत्पादन र वितरणका लागि काम गरिरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न स्वास्थ्यमन्त्रीलाई आग्रह गरिएको
थियो ।

 

जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पूरा गर्नसमेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्न अध्यक्ष गोल्छाले मन्त्रीसँग आग्रह गरे ।

 

‘महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएटअन्तर्गतका सबैलाई अबको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाइयोस्’, अध्यक्ष गोल्छाले भने । 

 

कोभिड–१९ को महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञामा पनि उद्यमी व्यवसायीले निर्वाध उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरिरहेको, संकटको घडीमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ एवं यसको सिंगो सञ्जाल नै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माणसहित राहत सेवा प्रदान गर्न खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने प्रतिबद्धता महासंघ अध्यक्ष गोल्छाले व्यक्त गरे ।

 

छलफलमा मन्त्री तामाङले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

 

कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले यसलाई तत्काल तंग्रिने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिने सोचाइमा सरकार रहेको उनको भनाइ छ ।