close

चार वर्षमा के गर्‍यो भक्तपुर नगरपालिकाले ? (भिडियो खबर)

चार वर्षमा के गर्‍यो भक्तपुर नगरपालिकाले ? (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- २०७४ सालमा २० वर्ष पछि स्थानीय तहको निर्वाचन भयो । देश संघीयतामा रूपान्तरण भएसँगै भएको निर्वाचनबाट आम नागरिकको असिम अपेक्षा थियो । चार वर्षका लागि स्थानीय नागरिकलाई राज्य भएको अनुभूति दिलाउने अभिभारा सहित स्थानीयको समस्या बुझ्न स्थानीयबाटै चुनिएका जनप्रतिनिधि खटिए । अहिले उक्त जनप्रतिनिधिले आफ्नो अन्तिम कार्यकालमा आफ्नो गल्ती सुधार्ने र चुनावी घोषणा पूरा गर्ने गरी काम थालेका छन् ।

 

नागरिकबाट पनि स्थानीय जनप्रतिनिधिको  कामको मूल्यांकन हुन थालेको छ । जनप्रतिनिधि पनि आफ्नो कामको समीक्षा थालेका छन् । योबीचमा कतिपय स्थानीय नागरिक स्थानीय तहको कामप्रति सन्तुष्ट भएको प्रतिक्रिया दिन थालेका छन् । यस्तै, सन्तुष्टी भक्तपुरको भक्तपुर नगरपालिकाबाट स्थानीय लिइरहेका छन् । मुलुकमा संघीय सरकार लागू भएको चार वर्ष भइसकेको छ । संघीयता लागू भए पश्चात गाउँगाउँमा सिंहदरबार आएको महसुस आम नागरिकले गर्न पाएका छन् ।

 

पाँच वर्षको लागि गठन भएको यो स्थानीय सरकारको समयसीमा करिब एक वर्ष मात्रै बाँकी छ । यस दौरानमा स्थानीय सरकारलाई आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्न भने भ्याइ न भ्याई छ ।मुलुकको सानो नगरपालिकाको रूपमा रहेको भक्तपुर नगरपालिका नमुना स्थानीय तहको रूपमा परिचित छ । विकास निर्माण होस् या त शैक्षिक विकास वा स्वास्थ्य विकास नै किन नहोस् सबै उदाहरणीय रहेको स्थानीयले नै बताउने गरेका छन् । केन्द्रको अधिकार स्थानीय सरकारमा आएपछि विकास तीव्र रूपमा भएको उनीहरू बताउँछन् । 

 

१० वडा रहेको पालिकाका नगरप्रमुखसँगै उपप्रमुख र वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी अर्थात् नेमकिपाका नै छन् । नेमपकिपाको एकाधिकार रहेको स्थानीय तह भन्दा कुनै फरक नपर्ला भक्तपुरलाई । यहाँका विकास निर्माण पनि सोही पाटीको मार्ग निर्देशन अनुरूप नै छन् । स्थानीय सरकारको चुनावमा नगरप्रमुख सुनिल प्रजापतिसंगै १० वटै वडाध्यक्ष नेमकिपाबाटै निवार्चित भए । सोही अनुरूप आफ्नो पाटी र विचारधारालाई टेकेर विकास निर्माण मात्रै नभई शैक्षिक तथा सामाजिक क्षेत्रको विकास पनि हुँदै आएको दावी भक्तपुर नगरपालिकाको छ । 

 

हाल नगरपालिका स्वयम्ले प्रत्येक वडामा शिशु स्याहार केन्द्र सञ्चालन गर्दै आएका छन् । स्कूल देखि कलेजसम्म ६ वटा शैक्षिक संस्था पालिकाको स्वामित्वमा सञ्चालित छन् । जहाँ स्थानीय मात्रै नभई मुलुकभरीका नागरिकले सामान्य देखि प्राविधिक शिक्षा अध्ययन गर्न पाएका छन् ।  भूकम्पले क्षति पुर्‍याएका २०८ वटा सम्पदाको संरक्षण पनि गरिएको दावी नगरपालिकाको छ । तर, खानेपानीको समस्या भने ज्युँका त्युँ छ । 

 

पालिकाले चोकचोकमा व्यायाम स्थल, महिलालाई सिप मुलक कार्य, युवाको लागि भाषा तथा संस्कृतिको संरक्षण सम्बन्धी प्रशिक्षण समेत दिँदै आएको छ । तर, अझै नागरिकसँग जोडिएका मसिना विषयलाई आत्मसाथ गर्नबाट जनप्रतिनिधि चुकिरहेका छन् । अन्तिम कार्यकाललाई चुनावी घोषणा पूरा गर्ने कार्यकाल बनाउने भन्दा पनि अपूरा योजना पूरा गरेर अघि बढ्नु नै जनप्रतिनिधिका लागि उत्तम विकल्प हुन सक्छ । र, स्थानीय नागरिकमा आफ्ना जनप्रतिनिधिप्रतिको शंकाको सुविधा दूर गर्न अन्तिम कार्यकाललाई सफल बनाउन पनि उत्तिकै जरुरी छ ।