close

फुङ्लिङले खुलायो ९ प्रकृतिका ठेक्का

फुङ्लिङले खुलायो ९ प्रकृतिका ठेक्का

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को आन्तरिक आयका लागि ९ प्रकृतिका वस्तु तथा सेवाको ठेक्का आह्वान गरेको छ ।

 

प्रमुख प्रशासकीय बद्रीकुमार कार्कीका अनुसार आगामी आवमा आन्तरिक आय संकलनका नगरपालिकाले १६ असारको म्याद दिएर दरभाउपत्र दाखिला गरिसक्न भनेको हो । 


दरभाउपत्र भने १५ असारसम्म खरिद गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले जडीबुटी, वन पैदावार, कबाडी तथा जीवजन्तु कर संकलनका लागि न्यूनतम ठेक्का रकम १३ लाख २० हजार रुपैयाँ कायम गरिएको छ । 


यस्तै, स्थानीय पूर्वाधार उपयोग सेवाका लागि न्यूनतम १ लाख ५० हजार, तमोर नदीको दोभानबाट थाङ्नेखोला दोभानसम्म ढुंगा, गिटी, रोडा तथा बालुवाको शुल्क संकलनका लागि न्यूनतम ९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।


तमोर नदीको थाङ्नेखोला दोभानदेखि हिरेवाखोला दोभानसम्मको क्षेत्रबाट ढुंगा, गिटी, रोडा तथा बालुवाको शुल्क संकलनका लागि ११ लाख रकम तोकिएको छ ।


यस्तै, तमोर नदीको भाटेघाट भन्ने स्थानबाट ढुंगा, गिटी, रोडा तथा बालुवाको शुल्क संकलनका लागि न्यूनतम ३ लाख ५१ हजार रुपैयाँ ठेक्का रकम तोकिएको छ । 

 

प्रमुख प्रशासकीय अधिकृत कार्कीका अनुसार खोला बाहिरका ढुंगा, गिटी, रोडाको उत्खनन गरी जिल्लाभित्र र बाहिर बिक्री तथा निकासी गर्दाको न्यूनतम ठेक्का रकम ७ लाख, भेदाबारी पुछार, खड्कुडे आसपास तमोर नदी क्षेत्रभित्रको ढुंगा, गिटी, रोडा र बालुवा उत्खनन गरी जिल्ला बाहिर बिक्री तथा निकासी गर्दाको न्यूनतम ठेक्का शुल्क ३ लाख ५१ हजार रुपैयाँ तोकिएको छ ।

 

हाटबजार शुल्क संकलन न्यूनतम २ लाख ५० हजार र विज्ञापन कर संकलनको ठेक्का शुल्क न्यूनतम ५ लाख रुपैयाँ कायम गरिएको छ । सबैको धरौटी रकम कबोल अंकको ५ प्रतिशत कायम गरिएको कार्कीले बताए ।