close

सिन्धुपाल्चोकमा बाढीको बितन्डा (भिडियो खबर)

सिन्धुपाल्चोकमा बाढीको बितन्डा (भिडियो खबर)

ADVERTISEMENT

अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ । बाढीका कारण बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई पक्की मोटरेबलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । बाढीले गएको रातभरमा हेलम्बु, मेलम्ची, तिम्बु, चनौटे, याङ्ग्री लगायतका क्षेत्र अस्तव्यस्त बनाएको हो ।

 

हेलम्बु र मेलम्चीको पूरै बजार लगभग डुबानमा परेको छ, कयौँ घर बगेका छन् । बाढीमा माटो र बालुवाको मात्रा धेरै देखिएकोले माथिल्लो क्षेत्रमा ठुलठुला पहिरो गएको अनुमान गरिएको प्रहरीले जनाएको छ । हेलम्बु, ग्याल्थुमवासी ज्यान जोगाउन बजार माथि पुगेका छन् । यता मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजनिक जग्गामा बसेका छन् ।

 

बाढीका कारण क्षती भएका सडक खुलाई घाइते र बीचबाटोमा अलपत्र सर्वसाधारणलाई गन्तव्यमा पठाउनका लागि प्रयास भइरहेको छ । बाढीका कारण सो क्षेत्रमा मोटरेबल पुल र झोलुङ्गे पुलहरू बगाएको हेलम्बु गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनले बाढीपछि सडक यातायातलाई सञ्चालन गर्न सके सर्वसाधारणलाई राहतका साथै अन्य व्यवस्था गर्न सहज हुने बताए । स्थानीयहरूले रातको बाढीबाट धेरै बासिन्दा हराइरहेको बताए । उनीहरूले खोलाको बहाब कहिले घट्ने र कहिले बढ्ने गर्दा त्रास बढेको बताएका छन् । 


बाढी-पहिरोबाट सिन्धुपाल्चोकको मेलम्चीका करिब पाँच सय जना विस्थापित भएका छन् । तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ । मानिसहरूले आफ्ना घरका सामान क्याम्पमा सारिरहेका छन् । विस्थापित भएकाहरू सुरक्षित स्थानको खोजी गर्दै अग्ला डाँडामा गएर बसेका देखिन्छन् ।

 

मेलम्ची नगरपालिकाको ११ नम्बर वडामा एक सय घरधुरी डुबानमा परेको छ । बाढीले कृषि भवन, आयुर्वेद भवन, कभर्ड हल, सिटी पार्क लगायतका भवन क्षतिग्रस्त भएका छन् । दुईवटा पक्की र दुई झोलुङ्गे गरी चार वटा पुल बगेका छन् । अहिले पनि पानी परिरहेकाले स्थानीय त्रसित छन् । खोज तथा उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गरिएको छ । अर्को एउटा निजी हेलिकप्टर पनि सिन्धुपाल्चोक क्षेत्रमा खटिएको छ ।

 

स्थलगत रुपमा पनि सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसहितको टोली परिचालित छ । यसअघि मंगलबार साँझ पाँचपोखरी थाङ्पाल गाउँपालिका ३ भोताङ स्थित लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र लार्के भन्दा माथि भीषण पहिरोले इन्द्रावती नदी लगभग एक घण्टा थुनिएको थियो भने हेलम्बु गाउँपालिका १ मेलम्ची खानेपानी मुहान माथि नाकोतेमा भीषण पहिरोले मेलम्ची खोला थुनिएको थियो ।