close

२४ जिल्लामा विद्युत् प्रसारण लाइन निर्माणको किचलो  : समस्या छिमल्न कार्यदल गठनको सहमति 

२४ जिल्लामा विद्युत् प्रसारण लाइन निर्माणको किचलो  : समस्या छिमल्न कार्यदल गठनको सहमति 

Trulli
ADVERTISEMENT

काठमाडौं– विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका र भविष्यमा देखापर्ने समस्या समाधान गर्न संघ र स्थानीय तहमा कार्यदल गठन गर्ने निर्णय भएको छ । 

 

उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, सचिवहरू, नेपाल विद्युत् प्राधिरकणका पदाधिकारीलगायतको बैठकमा यस्तो सहमति जुटेको हो ।

 

संघीय तहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय एवं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र विद्युत् प्राधिकरणसहितको कार्यदल गठन गर्ने निर्णय भएको छ । 

 

स्थानीय तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला निकाय, स्थानीय तहसमेतको सहभागितामा कार्यदल गठन गर्ने निर्णय भएको छ । 

 

अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार दुवै कार्यदलले जहाँ–जहाँ समस्या देखिएका छन्, तिनलाई समस्या समाधान गर्ने÷गराउने व्यवस्था मिलाउनेछन् ।

 

यस्तै, प्रसारण लाइनको क्षेत्रमा रहेका जग्गा नापी गर्न छुट भएका जग्गा नापी कार्य साउन मसान्तभित्र सम्पन्न गर्ने, वन कार्यालयमा पेस भएका पुरक इआइए असार मसान्तभित्र गर्ने र अन्य इआए÷आइइई स्वीकृतिको कार्य साउन मसान्तभित्र सम्पन्न गर्ने निर्णय भएको छ । 

 

बैठकमा वन क्षेत्रको हकभोगको विषयमा देखिएका असहजता हटाउन समन्वय गर्ने कार्य तत्काल गर्ने, नेपालगञ्ज–कोहलपुर–दैलेख प्रसारण लाइनको नेपाली सेनाको ब्यारेक रहेका स्थानमा देखिएका समस्या समाधान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् प्राधिकरण एवं सेनाको प्रतिनिधि रहेको टोलीले दुई महिनाभित्र समस्या समाधान गर्ने निर्णय भएको छ ।

 

जग्गा अधिग्रहण र क्षतिपूर्तिलाई व्यवस्थित गर्न जग्गा प्राप्ति ऐन संशोधन प्रक्रिया १ महिनाभित्र गरी सरकारसमक्ष पेस गर्ने, विद्युत् प्रसारण लाइन निर्माण गरिने जग्गा प्राप्तिलाई सहज बनाउन स्थानीय तहले सहजीकरण गर्ने पनि निर्णय भएको छ । 

 

जग्गा अधिग्रहण भई क्षतिपूर्ति वितरण भइसकेको जग्गामा संरचना निर्माण गर्न देखिएका समस्या समाधानका लागि गृह मन्त्रालयले समन्वय र सहजीकरण गर्नेछ । यसमा विद्युत् प्राधिकरणले गृह मन्त्रालय र स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय भएको छ । सरोकारवालाको उपस्थिति रहने गरी समन्वय समिति गठन गर्ने निर्णय गरिएको छ । 

 

नवलपरासी, रुपन्देही, पाल्पा, पर्वतको फलेवास, बाग्लुङ, रामेछापको मन्थली, दोलखा, सिन्धुपाल्चोक, काठमाडौंको शंखरापुर, भक्तपुरको चागुँनारायण, गोरखाको पालुङटार, डडेलधुरा, दार्चुला, उदयपुर, सोलुखुम्बु, कास्की, संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, चितवन, मकवानपुर, सर्लाही, सिरहाका विभिन्न ठाउँमा प्रसारण आयोजनामा समस्या देखिएको छ । 

 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रसारण लाइन निर्माणमा देखापरेका समस्यालाई छिम्लँदै अघि बढ्नुको विकल्प नभएको बताउँदै उत्पादित विद्युत्लाई सदुपयोग गर्ने वातावरण तयार पारिने जानकारी दिए । 

 

उनले विभिन्न ठाउँमा नागरिकले उठाएका जायज मागलाई सम्बोधन गर्ने र नाजायज माग भए राज्यको भद्र उपस्थितिमा भए पनि प्रसारण लाइन निर्माणलाई अघि बढाइने बताए । 

 

गृहमन्त्री खगराज अधिकारीले परिणाम निकाल्ने गरी काम गर्न जरुरी भएको उल्लेख गर्दै प्रसारण लाइन निर्माण कार्यलाई अघि बढाउन मन्त्रालयले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शरतसिंह भण्डारीले विद्युत् उत्पादन बढ्ने र प्रसारण लाइनका नभएका कारण बजारसम्म नपु/याउँदा घाटा बेहोर्न बाध्य हुनुपर्ने अवस्था रहेकाले समस्या हटाउन सबै निकाय लाग्नुपर्ने धारणा व्यक्त गरे । वन तथा वातावरणमन्त्री नारदमुनि रानाले रुख कटान, वातावरणीय प्रभाव मूल्यांकन, भोगाधिकारलगायतमा समस्या देखापरेकाले विद्युत् प्रसारण लाइन निर्माण सम्पन्न गर्न वन मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए । 

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले जग्गा मूल्यांकनमै समस्या रहेको भन्दै जायज रूपमा मूल्यांकन गर्ने परिपाटी बनाउनुपर्ने आवश्यकता औँल्याए । 

 

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिव, नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा, प्राधिकरणका पदाधिकारीले प्रसारण लाइन निर्माणमा देखापरेका समस्या र समाधानका उपायबारे धारणा व्यक्त गरेका थिए । 

 

अर्थसचिव शिशिरकुमार ढुंगानाले आगामी आर्थिक वर्षको बजेटमा उल्लिखित कार्यक्रमको कार्यान्वयनमा तीव्रता दिने तयारीअनुसार प्रसारण लाइनमा देखापरेका समस्या समाधानका लागि बैठक आयोजना गरिएको जानकारी दिए । 

 

आगामी वर्षको बजेटमा तामाकोसी आयोजनाबाट २ सय ८८, रसुवागढी १ सय ११, सेन्जेन र माथिल्लो सेन्जेन ५६, त्रिशूली बीबाट ३७, राहुघाट ४०, मध्य भोटेकोसीबाट १ सय २ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट १ हजार ५५ गरी १ हजार ६ सय २९ मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख गरिएको छ ।