close

मेलम्चीको घाउ नमोबुद्धलाई दुखेपछि...

मेलम्चीको घाउ नमोबुद्धलाई दुखेपछि...

Trulli
ADVERTISEMENT

काभ्रे- गत मंगलबार राती यांग्री र मेलम्ची खोलाको वाढीका कारण  मेलम्ची बजार अस्तव्यस्त बन्यो । थुप्रैको ज्यान गयो । अझै कतिपय वेपत्ता नै छन् । 

 

लेदो मिसिएको बाढी बजार पसेपछि दुइसय भन्दा बढी घर जोखिममा छन् । स्थानीयका दैनिकी देखि विहान वेलुकीको खान्कीसमेत प्रभावित भएको छ । 

 

मेलाम्चीमा अकास्मत आएको यो बिपत्तिले पारेको घाउ पुर्न यतिवेला सिंगो देश जुट्दैछ । काठमाडौंबासीको प्यास मेटाएर गुन लगाएको मेलम्चीबासीको मन फाटेर दुखेको बेला काभ्रेको नमोबुद्धलाई पनि यो चोटले दुखायो । 

 

घटनालगत्तै नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले मेलम्ची नगरपालिकालाई ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँसहयोग गर्ने घोषणा गरे ।

 

‘यो रकम मेलम्ची नगरपालिकाको खातामा पुगिसकेको छ,’ नगरप्रमुख तिमल्सिनाले पालिकाखबरसँग भने, ‘विपदको बेला एकले अर्कोको घाउमा मल्हम लगाउने हो, नमोबुद्धवासीको मन यो घटनाले दुखेको छ । हामी मेलम्चीका जनताको राहत र उद्धारमा हातेमालो गर्न चाहन्छौं ।’

 

नगद सहयोग गरेको नगरपालिकाका प्रमुख तिमल्सिना कोरोनापछिको असरले थलिएका छन् । आफु घटनास्थल जान नसकेपछि उनले प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई आज बिहानै चेक हस्तान्तरण गर्न मेलम्ची पठाए । 

 

नमोबुद्धले जस्तै देशभरका पालिकाले मेलम्चीलाई सहयोग गर्न चासो देखाइरहेका छन् ।

 

नगदसँगै राहतपनि 


चेक बोकेर मेलम्ची पुगेको प्रशासकीय अधिकृतको टोलीले वाढीवाट विस्थापित स्थानीयवासीका लागि खाद्यान्न सहयोग समेत गरेको छ । 
नगरप्रमुख तिमल्सिनाका अनुसार पालिकाले पीडित परिवारका लागि ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्ची नगरपालिकालाई हस्तान्तरण गरेको छ ।