close

उदयपुरका सहरबाट गाउँ पस्यो कोरोना

उदयपुरका सहरबाट गाउँ पस्यो कोरोना

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरका सहरी क्षेत्रमा कोभिड संक्रमण घट्दै गए पनि गाउँघरमा भने फैलिने संकेत देखिएको छ । केही दिनयता सदरमुकाम गाईघाट, कटारी, बेलटार र रामपुरलगायत बजार क्षेत्रमा कोभिड संक्रमित घट्दै गए पनि गाउँघरतिर संक्रमित भेटिने क्रम झनै बढेको हो ।

 

पछिल्लो समय दुर्गम ताप्ली गाउँपालिकामा एकै दिन ५३ जना संक्रमित भेटिएका छन् । नगरपालिका भए पनि बेलका नगरपालिका वडा नम्बर ६ लामीडाँडामा एकै दिन २७ संक्रमित देखिए । वडाध्यक्ष वसन्त मगरका अनुसार त्यहाँ ३२ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । वडा नम्बर ६ मा ३६ जना संक्रमित पुगेका छन् ।

 

यति धेरै संक्रमित सो वडामा कहिल्यै देखिएका थिएनन् । ६ नम्बर वडासँग जोडिएका रामपुर, लालबजार र बुद्धचोकमा भने यसअघि नै संक्रमितको संख्या बाक्लो थियो ।

 

बजार क्षेत्रमा घर भएका र व्यापार, व्यवसाय गर्ने तथा जागिर खानेहरू पहाडको पुर्ख्याैली घर फर्कंदा संक्रमण बढेको अनुमान स्वास्थ्यकर्मीको छ । गाउँमा ज्वरो, रुघाखोकीजस्ता कोभिड लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमित पाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

 

दुर्गम गाउँपालिका लिमचुङबुङमा यसअघि नै १ सय बढीमा संक्रमित थिए । यीमध्ये ३८ महिलासहित ७४ जना निको भइसकेका छन् । हाल १३ महिलासहित ३४ जना गाउँ अस्पताल र होम आइसोलेसन सेन्टरमा उपचाररत रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नौलशेर राईले बताए ।

 

गाउँमा बढी संख्यामा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिए पनि स्वास्थ्य परीक्षण गर्न नमानेकाले संक्रमण फैलिएको हो । तर, सबैजसो उपचारबिनै निको भइरहेको राईले जानकारी दिए ।

 

कोभिडसँग मिल्दोजुल्दो रुघाखोकीको लक्षण देखिए पनि जँचाउन बेवास्ता गर्ने गरेको आइसोलेसनका फोकल पर्सन कर्णशेर राई बताउँछन् । उनका अनुसार लक्षण देखिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टोली खटाउँदा पनि परीक्षण गर्नै नआउने समस्या छ । 

 

उदयपुरमा पछिल्लो २४ घन्टामा निको हुनेको संख्या २८ महिलासहित ३६ पुगेको छ । अहिलेसम्म जिल्लामा कोभिडबाट निको हुनेको संख्या १ हजार २ सय ८९ पुगेको छ । अघिल्लो दिन ५८ निको भएका थिए भने ८३ जनाले कोभिड जितेको अभिलेख स्वास्थ्य कार्यालयसँग छ ।

 

हाल त्रियुगाका १ सय ९७, बेलकाका १ सय १८, चौदण्डीगढीका ८५ र कटारीका ३३ जना संक्रमित उपचाररत छन् । त्यस्तै, ताप्लीका ५५, लिमचुङबुङका ३४, उदयपुरगढीका १३ र रौतामाईका ४ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

 

उदयपुरमा कोभिडका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ । यीमध्ये महिला १७ र बाँकी पुरुष रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकमा उल्लेख छ ।