close

सामूहिक करार खेतीबाट आयआर्जन बढाउँदै विपन्न दलित परिवार

सामूहिक करार खेतीबाट आयआर्जन बढाउँदै विपन्न दलित परिवार

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कटारी नगरपालिकाका अतिविपन्न गरिब भूमिहीन दलित परिवारले सामूहिक करार खेतीबाट गर्जो टार्न थालेका छन् । नगरपालिकाले नमुनाका रूपमा भूमिहीन अतिविपन्न गरिब दलित परिवारलाई सामूहिक रूपमा करार खेती गर्न जग्गा, मल, बिउ, सिँचाइ सुविधा उपलब्ध गराइदिएको छ ।

 

कटारी नगरपालिका वडा नम्बर ३ हडियामा १८ घर भूमिहीन अतिविपन्न गरिब दलित परिवारलाई २ बिघा जग्गा उपलब्ध गराएपछि अहिले विभिन्न खेती गरेर आयआर्जन गरी गुजारा चलाउन थालेका छन् । राष्ट्रिय कृषक समूह महासंघ कटारी नगरपालिकाको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको करारको जग्गामा अहिले विभिन्न प्रकारका तरकारी खेती गरेर दलित तथा विपन्न परिवारले आम्दानी गरिरहेका हुन् ।


करारकै जग्गामा खेती गर्ने स्थानीय लक्ष्मण परियार राष्ट्रिय कृषक समूह महासंघ कटारी नगरपालिकाको समन्वयमा नगरले उपलब्ध गराएको २ बिघा जग्गाले परिवार पाल्न सहज भएको बताउँछन् ।

 

ज्याला, मजदुरी गरी गुजारा गर्दै आएका भूमिहीन बस्तीका दलित परिवार अहिले ज्याला, मजदुरी गर्न हिँड्नुपरेको छैन । ‘कोरोना महामारीमा कहाँ जानू ? अहिले यही करार खेतीमा पाएको जग्गामा खेती गरेर परिवार पालिरहेका छौँ । हाम्रो नाममा जग्गा कहीँ पनि छैन । नगरपालिकाले लालीगुराँस दलित कृषक समूह गठन गरेर सामूहिक खेती गर्न सिकाएको छ,’ परियारले भने ।

 

नगरपालिकाले सिँचाइ, मल, बिउ, जग्गा र तालिम दिएको छ । समूह गठन गरेर गरिब, विपन्नले सामूहिक खेती गरिरहेका छन् । समूहमा जम्मा १८ घरपरिवार छन् । 

 

उनीहरूलाई नगरपालिकाले ५ वर्षका लागि खेती गर्न बाँझो जग्गा उपलब्ध गराएको हो । ‘हामी दलित तथा अतिविपन्न परिवारलाई नगरपालिकाले यसैगरी कतै बाँझो जग्गा भाडा वा कमाएर खान मात्र दिने हो भने खुसीका दिन आउने आशमा छौँ’, समूहकी सदस्य आशा सदाले भनिन्, ‘अहिले छोराछोरीको पढाइ खर्च, नुन, तेल, सामान्य उपचार खर्च करार खेतीले धानेको छ । 

 

कटारी नगरपालिकाले तरकारी खेतीका लागि आवश्यक विभिन्न प्रकारका सामानमा सहयोग गर्दै आएको छ । नगर उपप्रमुख भीमकुमारी राउतले पानी तान्ने पम्पसेट २ थान, कुटो–कोदालोलगायत विभिन्न कृषि औजार सहयोग गरेकी छन् ।


‘बाँझो रहने सरकारी जग्गाको सदुपयोग गर्न जनतालाई करार खेतीमा दिन सके समृद्धि हासिल गर्न सकिने थियो । नगरपालिकाले ‘नमुना करार खेती कार्यक्रममार्फत १८ घरपरिवारलाई दिएको जग्गाले खुसी ल्याएको छ’, उनले भनिन् ।
 
कटारी नगरपालिका वडा नम्बर ३ हडियामा करारमा दिएको जग्गामा अहिले भूमिहीन विपन्न र दलित परिवार तरकारी खेती गरेर मनग्ये आम्दानी गरिरहेको नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए । 


नगरभरिका बाँझो सरकारी जग्गा जनतालाई निश्चित समयसम्म करारमा दिएर उपयोग गर्ने नीति रहेको उनले सुनाए । ‘करार खेतीपछि भूमिहीनले ज्याला, मजदुरीका लागि अन्यत्र भौतारिनुपरेन । मिहिनेत गर्न सके राम्रो आम्दानी लिन सकिने रहेछ’, आशा सदाले भनिन् । 


विपन्नलाई बंगुर र बाख्रा वितरण

स्थानीय विपन्न नागरिकको आयस्तर वृद्धि गर्न स्थानीय सरकारले प्रयास गरिरहेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ झोडापाटाले अतिविपन्न परिवारलाई बाख्रा तथा बंगुरका पाठा वितरण गरेको छ । 


अतिविपन्न घरपरिवारको आयआर्जन वृद्धिका लागि ३८ वटा बंगुरका भुनी र ३४ वटा बाख्रा चारघरेमा वितरण गरिएको हो । वडाभरिका ७० घरपरिवारलाई उन्नत जातका ७२ वटा बंगुर र ७० वटा बाख्रा वितरण गर्ने लक्ष्य रहेको वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।


वडाको चालू आर्थिक वर्षको ९ लाख बजेटबाट पाख्रीबास कालो उन्नत जातको बंगुरका पाठा (भुनी) खरिद गरी वितरण गरिएको वडाध्यक्ष सुवेदीले बता ।

 

अतिविपन्न गरिब परिवारको पहिचान गरी उनीहरूको आयस्तर वृद्धि गर्न आत्मनिर्भर बन्न सकून् भन्ने लक्ष्यले वितरण गरिएका हुन् । बाख्रा तथा बंगुरका पाठा वितरण गर्दै नगर प्रमुख खगेन्द्र राईले गरिब किसानको आयस्तर बढाउने पहल हुँदै आएको बताए । 


उनले भने, ‘जसको आर्थिक अवस्था नाजुक छ, त्यस्तो परिवारको आर्थिक अवस्था उकास्ने उद्देश्यले आर्थिक आयआर्जन गर्न बंगुरका पाठी वितरण गरिएको हो,’ नगरप्रमुख राईले भने । त्यसैगरी वडाको भित्तेटोलमा उपप्रमुख रीताकुमारी चौधरीले बाख्रा वितरण गरिन् । स्थानीय तहले गरेका स-साना सहयोगले कृषि क्षेत्रमा लाग्नेलाई उत्प्रेरणा मिल्ने उनको भनाइ छ ।


चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ का विपन्न परिवारका लागि ७२ वटा धराने कालो बंगुरको पाठापाठी र ७० वटा खरी जातको बाख्राका पाठापाठी वितरण गरिएको छ ।