close

पत्रकार महासंघका अध्यक्ष भन्छन्ः सरकारले मिडिया चलाउनु हुँदैन

योजनालाई प्रभावकारी बनाउन तुलसीपुरले माग्यो सुझाव 

पत्रकार महासंघका अध्यक्ष भन्छन्ः सरकारले मिडिया चलाउनु हुँदैन

योजनालाई प्रभावकारी बनाउन तुलसीपुरले माग्यो सुझाव 

Trulli
ADVERTISEMENT

दाङ- तुलसीपुर उपमहानगरपालिका आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ । आर्थिक वर्ष २०७७/७८ मा ल्याइएका नीति तथा कार्यक्रमको समीक्षा, प्रभावकारिता र कमजोरीका विषयमा विभिन्न क्षेत्रका सरोकारावालासँग छलफल गरी आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमका लागि उपमहानगरले आन्तरिक तयारी थालेको हो ।


उपमहानगरले नीति तथा कार्यक्रमको विषयमा पत्रकारसँग छलफल र सुझाव संकलन गरेको छ । विगतमा सम्पन्न गरिएका योजना र बाँकी रहेका योजनाबारे समीक्षात्मक छलफल गरिएको हो । सहभागीले कार्यान्वयन गर्न सकिने योजनालाई मात्र प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन सुझाए ।


पछिल्लो समय कोरोना महामारीका कारण स्वास्थ्य र शिक्षा क्षेत्र प्रभावित भएको भन्दै स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनीहरूको सुझाव छ । 

 

कतिपय योजनाका काम सम्पन्न भए पनि संरक्षणका प्रयास नभएको, अनधिकृत रूपमा हुने नदीजन्य पदार्थको दोहन, विकास निर्माणका काममा हुने विवाद, योजनामा बजेट कार्यान्वयनको समस्यालगायत विषयलाई ध्यान दिन जरुरी उनीहरूले बताए ।

 

छलफलमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले लक्षित वर्गसम्म लाभ पुग्ने गरी नीति तथा कार्यक्रम ल्याइनुपर्ने बताए । स्थानीय सरकार मिडियामैत्री बन्न जरुरी रहेको भन्दै उनले सरकारले मिडिया चलाउने नभई मिडियाको संरक्षण, पत्रकारिता क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । ‘सरकारले मिडिया चलाउने होइन’, उनले भने, ‘चलेका पनि नागरिकको स्वामित्वमा आउनुपर्छ । मिडिया हाउसलाई के आवश्यक छ, त्यसको व्यवस्थापन सरकारले गर्नुपर्छ ।’


स्रोत-साधनको उचित व्यवस्थापन भए मात्र दिगो विकास हुने हुँदा यसका लागि सरकारले मिडिया क्षेत्रसँग सहकार्य गरेर जान सक्ने नीति निर्माण गर्न जरुरी रहेको उनले बताए । पोखरेलले कुनै पनि तहका सरकारहरूले आफूले सञ्चार माध्यम सञ्चालन गर्न नहुने तर सञ्चार माध्यमको प्रवर्द्धन गर्नुपर्ने सुझाव दिए ।


‘सरकारले सञ्चानल गरेका ४ वटा सरकारी सञ्चार माध्यम छन् । ती पनि अब सरकारले चलाउने होइन’, उनले भने, ‘नागरिकको स्वामित्वमा लैजानुपर्छ ।’ सरकारले चलाइरहेका सञ्चार माध्यम नागरिकको मातहतमा ल्याउने छलफल भइरहँदा अब अरू सरकारले सञ्चार माध्यम सञ्चालन गर्छन् भने त्यो महासंघका लागि स्वीकार्य नहुने उनले स्पष्ट पारे । पोखरेलले भने, स्थानीय तहले मिडिया सञ्चालन गर्न नहुने र यदि त्यस्तो गरिए सुधार्न आग्रह गर्छौं ।’


मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुशील बस्नेतले तुलसीपुरको भविष्य कस्तो बनाउने भन्ने विषय उपमहानगरकाकै जिम्मामा रहेको बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रमलाई नागरिकको मौलिक हकसँग जोडेर बनाउन सुझाए ।


कार्यक्रममा सहभागीले अन्य पत्रकारले हालसम्म उपमहानगरमा भएका विकास निर्माणका कामको दूरदर्शिता नदेखिएकाले नीति तथा कार्यक्रम पारदर्शी बनाउन आग्रह गरे । सहभागीबाट आएका सुझाव संकलन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले नागरिक उत्तरदायित्वभित्रै रहेर विकास निर्माणका काम गर्दै आएको जानकारी दिए । 


‘जनप्रतिनिधि भएर यहाँसम्म आइपुग्दा ठूला काम गरेका छौँ’, उनले भने, ‘हामीले सञ्चालन गरेका कतिपय अभियानको सिको गर्दै राज्यले तिनलाई राष्ट्रिय अभियान बनाएको छ । यो हाम्रा लागि गौरवको कुरा हो ।’