close

पहिलो पटक सडक कालोपत्रे गर्दै बौदीकाली: ३५ करोडको बजेट ल्याउने तयारी 

पहिलो पटक सडक कालोपत्रे गर्दै बौदीकाली: ३५ करोडको बजेट ल्याउने तयारी 

Trulli
ADVERTISEMENT

नवलपुर- पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३५ करोड रुपैयाँको बजेट ल्याउने भएको छ । प्रत्येक वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्‍याउने र पहिलो पटक पालिकाभित्र सडक कालोपत्रे गर्ने योजना अगाडि सारेको छ । 


गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार पालिकाले आगामी गाउँसभामार्फत नवलपुरबाट गण्डकी प्रदेश जोड्ने बाटोसँग पालिकाको प्रशासनिक भवनलाई जोड्ने गरी २ दशमलव ५ किलोमिटर सडक पक्की गर्ने योजना अगाडि सारेको छ । 


त्यसैगरी बौदीकालीका ३ वटा वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जोडिसकेकामा अब बाँकी वडामा पुर्‍याउने योजना समेटेको छ । ५२ किलोमिटर नगर चक्रपथ निर्माणका लागि चक्रपथलाई स्तरोन्तति गर्दै ग्राभेल गर्ने योजना अगाडि सारिएको उनले बताए । 


बौदीकालीको नगर चक्रपथ बौदीकालीको मुख्य-मुख्य गाउँ र वडालाई सडक सञ्जालसँग जोडिनेछ । दिगो पूर्वाधार विकास र कोभिडका साथै अन्य महामारी रोकथामका लागि छुट्टै बजेट विनियोजन गर्ने तयारी भएको उनले बताए । 


बौदीकालीको गाउँसभा १० असारभित्र गरिसक्ने लक्ष्य छ ।  १५ शय्याको गाउँ अस्पताल निर्माण गर्ने, प्रशासनिक भवन सुविधासम्पन्न बनाउनेलगायत योजना पनि गाउँपालिकाले अगाडि सारेको छ ।