close

करोडौँ खर्चिएको बसपार्क, जहाँ नालीसमेत छैन

करोडौँ खर्चिएको बसपार्क, जहाँ नालीसमेत छैन

Trulli
ADVERTISEMENT

बागलुङ- पटक-पटक म्याद थपिएपछि निर्माणको अन्तिम चरणमा पुगेको बागलुङ बसपार्कको सिंगो परिसरमा नाली भने कतै बनेको छैन । नाली अभावमा पानीको आहाल बस्ने जोखिम भएको छ । केही दिनदेखिको झरीले पनि पानी जमेर यहाँ आहाल बनिसकेको स्थानीयले बताए ।

 

२ पटकसम्म लागत संशोधन र स्टिमेट गरिए पनि बसपार्कमा नाली नबनेकाले करोडौँको काम गुणस्तरहीन हुने स्थानीय बताउँछन् । ‘बसपार्क भनेपछि नाली हुनैपर्ने हो । किन बनेन ? खोजीको कुरा हो,’ स्थानीय नन्दलाल सापकोटाले भने, ‘विकास निर्माण गुणस्तर नभए जनताको कर त्यसै खेर जान्छ ।’

 

लोकमार्ग छेवैमा घर भएका सापकोटाले सडक बनाउँदा पनि नाली र पर्खाल समयमा नबनेका कारण धेरै पहिरो भोगेको सुनाए ।  बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माका अनुसार यहाँ ८० वटा बस राख्न सकिने गरी बसपार्क निर्माण गरिएको हो । त्यसबाहेक झन्डै १ सय बढी घडेरी बनाउने जमिन पनि छ । उक्त क्षेत्रफलको पानी तर्कने ठाउँ नभएपछि बसपार्क बर्खामै भत्कने खतरा भएको सापकोटाले गुनासो गरे ।

 

घडेरी बनाउने स्थानको भलबाढीसमेत बसपार्कमै झर्छ । गाडी सरसफाइ गरेको पानी जम्ने अवस्था छ । डेढ महिनाअघि अलकत्र छर्किएर राखिएको बसपार्क कालोपत्रे भइसकेको छैन । 


बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरको बसपार्क निर्माणमा ढिलाइ हुँदा आर्थिक अनियमितता र गुणस्तरहीन काम भएको टिप्पणी बढेको छ । नगरपालिकाका इन्जिनियर शर्माले भने नालीबिनाकै बसपार्क भएको दाबी गरे । 


‘पानी बग्ने गरी बसपार्कको ढल्काइ भएकाले नाली नचाहिने भएको हो,’ इन्जिनियर शर्माले भने, ‘केही स्थानमा भलबाढी पस्ने, पानी जम्ने देखिइसकेकाले त्यसको निकास बनाउन लागेका छौँ ।’ 

 

पानी जमेर अलकत्र छर्केबाहेक केही स्थानमा अहिले पनि हिलाम्मे छ । यहाँ अनियमितता भएको उजुरीपछि अख्तियारले छानबिनसमेत थालेको थियो । बसपार्क बनाउन स्थानीयले १८ वर्षअघि जग्गा दिएका थिए । घडेरीको रूपमा बिक्रीसमेत गर्न नपाएको गुनासो सापकोटाले गरे ।


बसपार्क बनाउन ठेक्का दिएको बागलुङ नगरपालिका र नगर विकास कोषले ठेकेदारसँग हरेक ६÷६ महिनामा म्याद थपिरहेका छन् । अन्तिम पटक असार मसान्तमा काम सक्ने जिम्मा पाएको आशीष फेवा संयुक्त निर्माण कम्पनीले तोकिएकै समय काम सक्ने प्रतिबद्धता जनाएको थियो ।


नगर विकास कोषका इन्जिनियर सुन्दर भण्डारीले बसपार्क भनेपछि नाली हुनुपर्ने बताए । ‘मैले एक पटक बुझ्नैपर्ने भयो । नाली हुनुपर्ने हो,’ उनले भने, ‘डिजाइन फेरेर लागतसमेत बढाइएकाले नाली फेरि किन छुटेछ ? अध्ययन गर्छौं ।’

 

असार मसान्तमा काम सक्नुपर्ने उनले बताए । बसपार्कको टर्मिनल भवन, बस पार्किङ, भूमिगत ट्याक्सी पार्कसमेत बनिनसकेको हो । बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले समयमा काम सक्न निर्देशन दिइएको जानकारी दिए ।


‘काम पूरा नभएको र नालीलगायत संरचना नभएकोबारे खोजी गर्छौं,’ उनले भने, ‘भर्खरै आएकाले त्यसको सबै डिजाइनबारे मलाई थाहा भएन ।’ उनले नगरपालिकाको प्रत्यक्ष निगरानीमा गर्ने काममा समेत लापर्वाही भएको टिप्पणी गरे । निर्माण कम्पनीले ७ करोड ६६ लाख ९९ हजार रुपैयाँबाट काम थालेको थियो । लागत स्टिमेट परिवर्तनपछि ११ करोड रुपैयाँमा ठेक्का पुगेको छ ।

 

बसपार्क व्यवस्थापन समितिको नाममा नगरपालिकाले थप ४० लाख रुपैयाँ विनियोजन गरेपछि महालेखा परीक्षकले बेरुजु निकालेको थियो । बसपार्क निर्माण समितिले बेरुजुमध्येको १० लाख रुपैयाँ फिर्ता गरेको छ ।

 

बसपार्कका लागि जग्गा दिएकाहरू अहिलेसम्म भोगचलन गर्न नपाएर चिन्तामा छन् । ‘भएको जग्गा दियौँ । अहिले न बेच्न पाइन्छ, न त उपयोग गर्न नै,’ स्थानीय सन्तोष क्षेत्रीले भने, ‘जनप्रतिनिधिदेखि ठेकेदारसम्मले मिलेमतोमा काम अलपत्र पार्दा जनताले दुःख पाएका छन् ।’ जग्गादाताले एक-एक वटा घडेरी पाउने सर्तमा ५९ रोपनी जमिन बसपार्क समितिलाई दिएका थिए ।