close

पाल्पाका स्थानीय तहमा बजेटको हतारो : अनलाइनबाटै मागिँदै सुझाव

पाल्पाका स्थानीय तहमा बजेटको हतारो : अनलाइनबाटै मागिँदै सुझाव

Trulli
ADVERTISEMENT

पाल्पा– पाल्पाका स्थानीय तहले आगामी वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेटका लागि अनलाइनबाटै सुझाव मागेका छन् ।कोरोना महामारीका कारण बस्ती र वडा स्तरमा भेला गर्न सम्भव नभएपछि पालिकाले अनलाइन प्रश्नावली तयार गरेर त्यही सुझाव दिन मिल्ने गराएका हुन् ।

 

पालिकाहरूले फेसवुक, ईमेल र अन्य सामाजिक सञ्जालबाट समेत सुझाव संकलन गर्न थालेका छन् । रम्भा गाउँपालिकाले २६ वटा प्र्रश्नावलीमार्फत आर्थिक विकास, समाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास क्षेत्रगत विषयमा सुझाव मागेको छ । 

 

कोरोना जोखिम रहेको र १० असारभित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिसक्नुपर्ने भएकाले अनलाइनबाट सरोकारवाला पक्षसँग सुझाव माग गरिएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

 

पालिकाले पूर्वाधार विकाससंगै कोराना नियन्त्रण र रोकथामका उपाय, संस्थागत सुत्केरी र लैंगिक समानताका क्षेत्रमा सुधारका उपाय सुझावमा दिन आह्वान गरेको छ ।

 

पालिकाको समग्र विकासका सञ्चालन गर्न सकिने नमुना कार्यक्रम, कृषिमा आत्मनिर्भर बनाउने विधि, सुशासन प्रवद्र्धन, गाउँ–गाउँमा रोजगारीको र लक्षित वर्ग उत्थानमा गर्नुपर्ने कार्यक्रमलगायतमा सुझाव मागिएको छ । 

 

बगनासकाली गाउँपालिकाले पालिकाको फेसबुक पेज र इमेलमा सुझाव माग गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, कृषि, पशुपालन, रोजगारी र सुशासन क्षेत्रमा सुझाव मागिएको पालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । जिल्लाका धेरै पालिकाहरूले अनलाइन सुझाव संकलन थालेका छन् ।