close

सिरिजंगाको बजेट साढे ५० करोड ५७ लाख, आफ्नै खर्चमा डाक्टरी पढाउने

सिरिजंगाको बजेट साढे ५० करोड ५७ लाख, आफ्नै खर्चमा डाक्टरी पढाउने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५० करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।


जिल्लाका ९ स्थानीय तहमध्ये सबैभन्दा पहिले गाउँपालिकाले ४३ बुँदे नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । 

 

गाउँपालिकाले हास्य कलाकार मनोज गजुरेललाई सिरिजंगाको छोरो उपमाले सम्मान गरेको छ भने उनलाई गाउँपालिकाको पर्यटन सद्भावनादूत घोषणा गरेको छ ।

 

गजुरेलको जन्म सिरिजंगा गाउँपालिकाको वडा नम्बर ६ मामाङ्खेमा भएको हो । यस्तै, सिरिजंगाको गौरव कञ्चनजंघा अभियानलाई उसले विशेष महत्त्व दिएको छ । 


गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँमै रोजगार गर्वको आधारअन्तर्गत पालिकाले लघु उद्यममार्फत कोभिड–१९ बाट संक्रमित न्यून आय भएका सुकुम्बासी परिवारलाई विशेष सुविधा उपलब्ध गराउने नीति ल्याएको छ ।


गाउँपालिकाले १ जनालाई एमबिबिएस तहसम्म को पढाउने भएको छ । सीप सिकेर रोजगार बन्ने गरी बिभिन्न कार्यक्रम ल्याएको पालिकाले जुत्ताचप्पल, स्यानिटरी प्याड, ढाका कपडा लघु उद्यम विकास कार्यक्रममार्फत स्थानीय स्तरमै यी सामग्री उत्पादनलाई विशेष जोड दिने भएको छ ।


कञ्चनजंघाको पानी, हाम्रो आम्दानी नाराका साथ कञ्चनजंघाको पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन उसले मिनरल टावर उद्योग स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी अघि बढाउने भएको छ । 


निःशुल्क शिक्षा हामी सबैको इच्छा नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका १–१ जना सर्वोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरका ४१ वटै विद्यालयका विद्यार्थीको पोसाकमा एकरूपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ । 


पालिकाले एसईईअघि कम्तीमा २ महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित महिला र अपांगता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिस्ट्रेन शुल्क र परीक्षा शुल्कबापतको रकम गाउँपालिकाले बेहोर्नेछ ।
यस्तै, प्रत्येक वर्षको एसईई परीक्षामा पालिका क्षेत्रबाट सर्वोत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाई १–१ थान ल्यापटपसहित सम्मान गरिने भएको छ ।


कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने १ छात्र र १ छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ ।


अब प्रत्येक वर्ष सिरिजंगा दिवस अवसरमा वडास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गरिनेछ भने पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्न स्थानीय कानुन निर्माण प्रक्रिया अघि बढाउने सिरिजंगाको नीति छ ।

 

गाउँपालिकाले यसअघि निर्णय गरेको कोरोना संक्रमित तथा कोरोनाविरुद्ध खटिने जनशक्तिका लागि प्रोत्साहन रकमलाई आगामी आवमा पनि निरन्तरता दिएको छ भने म स्वस्थ मेरो गाउँ स्वस्थ अभियानलाई समेत निरन्तरता दिएको छ ।


गाउँपालिकाले घरमै बच्चा जन्माउने कार्यलाई शून्यमा झार्ने भनेको छ भने त्यसका लागि प्रत्येक वडामा बर्थिङ सेन्टर निर्माण गरिनेछ । अहिलेसम्म वडा नम्बर ६ मामाङ्खे र वडा नम्बर ७ खेवाङमा मात्र बर्थिङ सेन्टर छैन ।


गाउँपालिकाले स्वस्थ आमा, स्वस्थ बच्चा नारा अघि सारेको छ । यो अभियानका लागि गर्भवती भएको १६ सातादेखि सुत्केरी भएको ६ महिनासम्म सम्पूर्ण गर्भवती एवं सुत्केरी महिलालाई सम्बन्धित स्वास्थ्य संस्थामार्फत निःशुल्क क्याल्सियम चक्की वितरणको व्यवस्था गरिनेछ ।


पालिकाले एक घर एक धारा अभियानलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै लैजाने भनेको छ । गत वर्ष सिरिजंगाको जन्म दिवस अवसरमा शिलान्यास गरेको पालिकाको प्रशासकीय भवन आउँदो वर्ष उद्घाटन गर्ने घोषणा गरेको छ । पालिकाले कार्यालयको काम अह्राएर होइन, मन पराएर पनि गर्ने नाराअन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने १ जनालाई सर्वोत्कृष्ट र अरू ३ जनालाई उत्कृष्ट शिक्षक/कर्मचारीलाई सम्मान गर्नेछ ।


पालिकाले युवालाई लक्षित गरी नमुना गाउँसभा सञ्चालन, टोल विकास संस्थामार्फत वृक्षारोपण अभियानसमेत सञ्चालन गर्नेछ ।

 

यस्तै, कृषि तथा पशुपक्षीतर्फ सिरिजंगाको शान, उद्यमशील किसान कार्यक्रमलाई निरन्तरता दिइएको छ । माटो सुहाउँदो खेती प्रणालीका लागि निःशुल्क माटो परीक्षणको व्यवस्था मिलाउने घोषणा गरेको छ भने पालिकाभरका ७२ वटै टोल विकास संस्था र क्षेत्रमा कृषकको मागमा आधारित साझेदारी कृषि कार्यक्रम सञ्चालन गरिनेछ ।

 

८ वटै वडाका ५ सय ५० कृषकलाई लागत साझेदारीका आधारमा टनेल खरिद गरी वितरण गर्ने, वडा नम्बर २ आम्बेगुदिन र वडा नम्बर ५ पेदाङमा साना शीतभण्डार निर्माण गर्ने, सिकैचा र मामांखेलाई बाख्रा, आम्बेगुदिन र पेदाङलाई किबी, खेवाङ र याम्फुदिनलाई चौँरी र सिनाम र तेल्लोकलाई मकै पकेट क्षेत्रको रूपमा विकास गर्ने गाउँपालिकाले नीतिमार्फत घोषणा गरेको छ । 

 

पालिकाको नाम सिरिजंघाको सट्टा सिरिजंगा राख्न प्रस्ताव पठाइने 

 

बजेट अधिवेशन तथा नवौँ गाउँसभाले गाउँपालिकाको नाम सिरिजंघाको सट्टा सिरिजंगा राख्ने गरी परिवर्तन गर्न प्रस्ताव पठाउने सर्वसम्मत निर्णय लिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद २ को दफा ४ को उपदफा (३) मा गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ ।


सोहीअनुसार गाउँपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्नुपरे सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारसमक्ष पेस गर्न सक्ने व्यवस्था छ ।


यसरी प्राप्त प्रस्ताव नेपाल सरकारले उपर्युक्त देखे त्यस्तो गाउँपालिका वा नगरपालिकाको नाम वा केन्द्र हेरफेर गर्न सकिने व्यवस्था छ ।

 

किराती लिपिका पुनरुत्थापक, प्रचारक तथा अध्यात्मवादी समाज सुधारकका रुपमा चिनिएका ऐतिहासिक व्यक्तित्व सिरिजंगा सिङ् थेबेको नामबाटै गाउँपालिकाको नामकरण गरिए पनि उनै इतिहास व्यक्तित्वको नाममा नामकरण गरिएको गाउँपालिकाको नाम हुनुपर्नेमा सिरिजंघा भएकाले सच्याउन माग हुँदै आएको थियो ।

 

उक्त गाउँपालिकाको नाम परिवर्तन गराउन ‘सिरिजंगा नाम सुधार अभियान समिति’ नै गठन गरेर स्थानीयले अभियान थालेका थिए ।