close

प्रविधिमा जोडिँदै साकेलाका आधारभूत विद्यालय 

प्रविधिमा जोडिँदै साकेलाका आधारभूत विद्यालय 

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको तयारी गरिएको छ ।


नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा साकेला गाउँपालिकाले पालिकाभरिका २३ वटा सामुदायिक आधारभूत विद्यालयमा कम्तीमा २० एमबिपिएस क्षमताको नन–डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट विस्तारको तयारी गरेको हो । 

 

सामुदायिक विद्यालयमा इन्टरनेटको माध्यमबाट प्रविधिमा आधारित पठन–पाठनका लागि ब्रोडब्यान्ड इन्टरनेट जडानको तयारी गरिएको साकेला गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । 


पालिकाभरका सामुदायिक आधारभूत विद्यालयमा ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन दूरसञ्चार प्राधिकरण र साकेला गाउँपालिकाबीच २५ जेठमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्रलाल हाडा र प्रमुख प्रशासकीय अधिकृत रविन मगरबीच भएको समझदारीपत्रमा २ वर्षका लागि महसुल र जडान खर्चबापत प्रतिसाइट औसत २६ हजार २८१ कायम गरिएको उल्लेख छ ।

 

सिरहाको लहानदेखि उदयपुरको गाईघाट हुँदै खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर ७ टेम्मासम्म आइपुगेको फाइबर इन्टरनेटको तारलाई साकेलासम्म विस्तार गर्ने तयारी छ ।
 
समझदारीपत्रमा दूरसञ्चार प्राधिकरणले तोकिएका सामुदायिक आधारभूत विद्यालयमा सेवा जडान गरिसकेपछि सेवाप्रदायकलाई पालिकामार्फत जडान खर्च र २ वर्षको महसुल उपलब्ध गराउने, त्यसबाहेक अन्य कुनै प्रकारको प्रशासनिक खर्च, पोल वा सोको भाडाबापतको खर्च उपलब्ध गराइने उल्लेख छ । 

 

यस्तै, गाउँपालिकाले दूरसञ्चार प्राधिकरणबाट इमेल तथा इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवाप्रदायकमध्येबाट एउटा सेवाप्रदायक छनोट गर्ने, तोकिएबमोजिम उपकरण जडानपछि तोकिएबमोजिमको सेवाको गुणस्तर कायम भएको एकिन गरी प्राधिकरणलाई सिफारिस गर्ने, जडान खर्च र २ वर्षको महसुल खर्चबाहेक अन्य कुनै प्रकारको प्रशासनिक खर्च, पोल वा सोको भाडाबापतको खर्च पालिकाले उपलब्ध गराउनुपर्नेछ । 


यस्तै, त्रैमासिक रूपमा सेवाको गुणस्तरका सम्बन्धमा तोकेको मापदण्डअनुरूप भए÷नभएकोबारे अनुगमन तथा निरीक्षण गरी प्राधिकरणलाई जानकारी गराउने, सेवाको सुरुआत र निरन्तरताका लागि प्राधिकरण वा छनोट भएका सेवाप्रदायक र विद्यालयबीच समन्वय तथा सहजीकरण गर्नुपर्नेछ ।

 

सामुदायिक विद्यालयसँग प्रविधिमा आधारित पठनपाठन एवं इन्टरनेटको सही उपयोग गराउन समझदारी गर्ने, सेवा अवधि समाप्त भएपछि त्यसको निरन्तरता तथा दिगोपनाका लागि स्थानीय तहको सहकार्य र साझेदारीमा आवश्यक व्यवस्था गरिनेलगायतका सर्त उल्लेख छ । ५ वडा रहेको गाउँपालिकाका धेरैजसो माविमा इन्टरनेट विस्तार गरिसकिएको छ ।