close

दिप्रुङका अध्यक्षको दैनिकीः काँधमा जिम्मेवारी, पिठ्युँमा बिरामी (भिडियो खबर)

दिप्रुङका अध्यक्षको दैनिकीः काँधमा जिम्मेवारी, पिठ्युँमा बिरामी (भिडियो खबर)

ADVERTISEMENT

खोटाङ- वैशाखदेखि सुरु भएको कोरोना भाइरसको दोस्रो लहरको महामारीमा केही जनप्रतिनिधिले जोखिम मोलेर जनताको सेवा गरिरहेका छन् । महामारीले गाउँदेखि वडासम्म असर गरेपछि जनप्रतिनिधि नै अग्रपंक्तिमा खटिएर स्थानीयको सेवा गरिरहेका छन् । स्थानीयको सारथि बनिरहेका छन् । जनप्रतिनिधिप्रतिको नकरात्मक दृष्टिकोण परिवर्तन गर्न केही स्थानीय तहका जनप्रतिनिधि साँच्चै जनताको सेवकको दर्जा कमाइरहेका छन् । यस्तै, सेवामा खटिइरहेका छन्, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई । कोरोनाका कारण गम्भीर बनेका बिरामीलाई उपचार गराउन पछिल्लो समय उनी व्यस्त छन् ।उनी हरेक दिन गाउँमा बिरामी भएकालाई आफैँले बोकेर अस्पताल पुर्‍याउछन् ।

 

गाउँपालिका–७ टेम्मा ज्यामिरेका ५८ वर्षका राजकुमार राई श्वास फेर्न गाह्रो भएर निकै गलेका थिए । आफन्तले खबर गरेपछि गाउँपालिका अध्यक्ष एन्टीजेन परीक्षणका लागि स्वास्थ्यकर्मी सहित ज्यामिरे पुगे । एन्टीजेन परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पूष्टि भएपछि सोमबार नै गाउँपालिका अध्यक्ष राईले गाडीमा हालेर अस्थायी कोभिड अस्पतालमा पुर्‍याए र राजकुमारको जीवन बचाए । 

 

साेही गाउँपालिका–६ छितापोखरीका २१ वर्षीय युवक बोल्न सक्न छाडेको पाँच घण्टा बितिसकेको थियो । दिदीको घरमा बसिरहेको यिनको वाक्य बस्यो । गाउँलेले गाउँपालिका अध्यक्ष राईलाई फोन गरे । लगत्तै उनले स्वास्थ्यकर्मी लिएर बिरामी भएको स्थानमा पुगे । उनलाई कोरोना भएको रहेछ । उनले  बिरामीलाई उठाए र काँधमा बोकेर गाडी रोकेको ठाउँसम्म पुर्‍याए, गाडीमा हाले र दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खास्थित अस्थायी कोभिड अस्पताल पुर्‍याएर भर्ना गरे । 


यी केही उदाहरण हुन् । कोभिड-१९ को महामारीमा सुरु भएयता अध्यक्ष राईले आठ बिरामीलाई यसरी नै उदाहरण गरिसकेका छन् । संक्रमितलाई देखेपछि त्रास मान्ने वा नजिक जान डर मान्ने गरेको देखिन्छ । तर गाउँपालिका अध्यक्ष राई भने हिजोआज संक्रमित ओसार्नमा व्यस्त छन् । उनी यो महामारीको समयमा आफू नखटे को खटिन्छ र ? भन्दै आफै प्रतिप्रश्न गर्छन् ।

 

सिकिस्त अवस्थाका र तत्काल अस्थायी कोभिड अस्पताल पुर्‍याउनुपर्ने खालका बिरामीलाई निरन्तर उद्दार गर्ने गाउँपालिका अध्यक्ष राई बताउँछन् । नागरिकलाई संकट परेको समयमा मौन बस्न मिल्दैन, असहयोगी भएर हात बाँधेर बस्नु भन्दा हात फुकाउँदा कसैको ज्यान जोगिन्छ भने सेवामा खटिनुपर्ने तर्क उनको छ । स्थानीय सरकार भनेकै नागरिकको सुख, दुःखको सारथि भएकाले पनि आफू जोखिममा रहेपनि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर नागरिकको जीवन रक्षामा खटिएको उनी बताउँछन् । 

 

गाडी आफैलाई कुदाउन आउने हुँदा उनलाई चालकको आवश्यकता पर्दैन । बिरामीलाई आफै गाडीमा चढाउँछन् र गाडी हाँकेर आस्थायी कोभिड अस्पताल पुर्‍याउने गर्दछन् । उनले कोरोना जितेका धनकुमारीलाई जेठ ३० गते उसैगरी गाडीमा राखेर घर पुर्‍याइदिए । धनकुमारीले गहभरी आँशु पार्दै गाउँपालिका अध्यक्षलाई धन्यवाद दिइन् । यस्तै, आशिर्वाद अहिले अध्यक्ष राईले पाइरहेका छन् । उनको कर्मले र उनको नागरिकप्रतिको सेवाले होला सायद अहिले गाउँमा संक्रमित विस्तारै निको हुँदै गएका छन् ।

 

७ वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा हालसम्म ३४९ जनाको एन्टीजेन र १५१ जनाको पिसिआर परीक्षण भइसकेको छ । संक्रमितमध्ये ७० जना निको भइसकेका छन् । राजनीति भन्दा माथि उठेर जनप्रतिनिधि आफै खटिएर महामारीसँग पौठेजोरी गरिरहेका छन् । सेवामा खटिरहेका छन् । र, त नागरिकबाट मानवरुपी भगवानको दर्जा पाइरहेका छन् । राईको जस्तै अन्य जनप्रतिनिधिले पनि नागरिकलाई यसरी नै सेवा दिउन् । अनि पो स्थानीयले महसुस गर्छन्, गाउँगाउँमा सरकार भएको । होइन र ?