close

बजेट निर्माणमा जुटे दाङका स्थानीय सरकार 

बजेट निर्माणमा जुटे दाङका स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

दाङ– दाङका स्थानीय सरकार बजेट तथा नीति कार्यक्रममा जुटेका छन् । १० असारसम्म नीति तथा कार्यक्रम ल्याएर १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुरूप दाङका पालिकाहरू यतिबेला बजेटको पूर्वतयारीमा जुटेका हुन् । 

 

अहिले दाङका २ वटा उपमहानगर, एउटा नगरपालिका र ७ वटा गाउँपालिका बजेटको तयारीमा छन् । कतिले तोकेको मिति र कतिले त्यसअगावै नीति तथा कार्यक्रम र बजेट ल्याउने चटारोमा छन् ।

 

संघीय सरकारले बजेट प्रस्तुत गरेपछि पालिकास्तरीय नीति निर्माण, योजना तुर्जमा, पूर्वयोजना तथा बजेटको समीक्षा, उपलब्धिलगायत विषयमा छलफल एवं खाका तयार पार्ने काम भइरहेको पालिकाले जनाएका छन् ।

 

आर्थिक वर्ष २०७७/७८ मा ल्याइएका नीति तथा कार्यक्रम र बजेट उपलब्धि, कार्यान्वयन, सबल र कमजोर पक्षलाई पहिचान गर्न समीक्षा भइरहेको तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले बताए ।

 

उपमहानगरले १ सातादेखि नीति तथा योजना तर्जुमाको कामलाई अगाडि बढाएको उनले जानकारी दिए । योजनाअनुसार बजेट ल्याइने र वडा स्तरमा योजना छनोट तथा सुझाव संकलनको जिम्मा दिइसकेकाले त्यहाँबाट आएका योजनाको आधारमा तयारी गरिने उनको धारणा छ ।

 

यो वर्ष बहुवर्षीय योजनालाई प्राथामिकता दिने तयारी स्थानीय सरकारको छ । विगतका अधुरा काम पूरा गर्ने लक्ष्य उनीहरूको छ ।

 

तुलसीपुरले नीति निर्माण तथा योजना तर्जुमाका लागि योजना बैंकसमेत स्थापना गरेको छ । उक्त योजना बैंकमार्फत पनि योजना छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए । यसैगरी विषयगत समितिसँग छलफल गरेर कुन योजनालाई कसरी परिचालन गर्ने, कति प्राथमिकता दिने भन्नेबारे टुंगो लगाइने उनको भनाइ छ । 

 

घोराही उपमहानगरले नीति तथा योजना निर्माणको तयारी थालेको छ । उपमहानगरले योजना छनोट तथा सुझाव संकलनका लागि महाशाखालाई पत्राचार गरिसकेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

 

महाशाखाबाट आएका योजना विषयगत समितिसँग छलफल गरेर योजना तर्जुमा तथा बजेटको तयारी गरिने उनले बताए ।

 

कोरोना महामारी अझै नियन्त्रणमा आइनसकेकाले सामाजिक विकास शाखा र पूर्वाधार विकासका योजना प्राथमिकतामा राखिने उनको भनाइ छ । 

 

बबई गाउँपालिकाले वार्षिक योजना र लक्षित वर्गले लाभ लिन सक्ने गरी नीति तथा कार्यक्रमसहितको बजेट ल्याउने तयारी गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्लले जानकारी दिए ।

 

कोभिडलाई लक्षित गरेर कृषि क्षेत्रमा अनुदानका कार्यक्रम, पूर्वाधार विकास कार्यक्रम, विशेष अनुदानका कार्यक्रम ल्याउने तयारी भइरहेको मल्लले बताए ।

 

उनका अनुसार आगामी आर्थिक वर्ष २०७८/७९ मा संघ र प्रदेश सरकारसँग समपुरक रहेका योजनालाई पनि पालिकाले प्राथमिकतामा राख्ने गरी बजेटको तयारी गरेको छ । 

 

पालिकाले संघमार्फत प्राप्त विशेष अनुदानका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेर नीति तथा योजना निर्माण गर्ने तयारी छ । 

 

राजपुर गाउँपालिकाले आगामी वर्षको बजेटको तयारीका लागि पहिलो चरणको बैठक बसिसकेको जनाएको छ । कोभिड महामारीको त्रासका कारण कर्मचारी कार्यालय आउने वातावरण नभएकाले बजेट तथा योजना तर्जुमाको तयारी केही ढिला भएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले बताए ।

 

शान्तिनगर गाउँपालिकाले पनि वडाहरूलाई योजनाको खाका तयार गर्न पत्राचार गरेको र त्यहाँबाट आएका योजनाको स्रोत अनुमान गरी प्राथमिकताका आधारमा बजेट तय गरिने पालिकाले जानकारी दिएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्तबहादुर डाँगीले बजेटको तयारी भइरहेको बताए ।