close

धमाधम बन्दै छ बैजनाथमा मानसरोवर (भिडियो खबर)

धमाधम बन्दै छ बैजनाथमा मानसरोवर (भिडियो खबर)

ADVERTISEMENT

बाँके- बाँकेमा मानसरोवरको प्रतीकात्मक स्थल बन्ने भएको छ । हिन्दु र बुद्ध धर्मको धार्मिक स्थलका रुपमा परिचित मानसरोवर तिब्बतमा पर्दछ । यसैको प्रतीकात्मक स्थल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूहको जङ्गल हाताभित्र निर्माण थालिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गरेको उक्त स्थलमा प्रदेश सरकारले ५ करोड खर्च गरेको छ । 


मानसरोवरको प्रतीकात्मक स्थलको निर्माण गरेपछि यस क्षेत्रका पर्यटन फस्टाउने स्थानीयले अपेक्षा गरेका छन् । प्रतिकात्मक स्थल पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्ने र आर्यआर्जनमा समेत वृद्धि हुने स्थानीयको दावी छ । आर्थिक वर्ष २०७५-७६ मा यसका लागि पहल सुरु गरिएको मानसरोवरको प्रतीकात्मक स्थल बोटानिकल गार्डेन आर्थिक वर्ष २०७६-७७ मा मात्रै निर्माण अघि बढेको थियो ।

 

न्यु हरियाली सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको उद्यानमा प्रदेश सरकारले ५ करोड खर्च गरेको छ । जसमध्ये पहिलो वर्ष १ करोड ६ लाख रुपैयाँको काम भइसकेको छ । यस्तै, निर्माण सुरु भएको दोस्रो वर्षमा २ करोडको रकममा बृहत् साँस्कृतिक संग्रहालय र ६०-४० को आयातनमा पौडी पोखरीको समेत निमार्ण गरिएको छ । पञ्च वर्षीय योजना अन्तर्गत यो उद्यान मानसरोवर जान नसक्नेका लागि प्रतिकात्मक रूपमा निर्माण गर्न लागिएको हो । 

 

यो उद्यान करिव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । बैजनाथ भित्र रहेका विभिन्न पर्यटकीय स्थानहरुको निर्माण र स्तरोन्नतीमा पालिकाले विशेष चासो राखेर काम अघि बढाएको छ । निर्माणाधिन अवस्थामा रहेको मानसरोवर बोटानिकल गार्डेन पालिकाको मात्र नभई लुम्बिनी प्रदेशकै गौरवको आयोजना हो । यसकारण पनि पालिकाले यो उद्यान निर्माणमा विशेष ध्यान दिएको छ । 


पछिल्लो समय नेपालगन्ज हुँदै पवित्र धार्मिकस्थल कैलाश मानसरोवर दर्शन गर्न जाने नेपाली तथा भारतीय पर्यटकको आकर्षण बढेको छ । खासगरी भारतीय पर्यटक मानसरोवर दर्शन गर्न जाने गरेका छन् । त्यहाँ जाने पर्यटकको मन बहलाउन तथा मानसरोबर जान नसक्नेलाई मानसरोवरको प्रतीकात्मकका रूपमा बाँकेको वैजनाथ गाउँपालिका-६ मा मानसरोवरको प्रतीकात्मक उद्यान निर्माण हुने भएको गाँउपालिकाले जनाएको छ ।


बैजनाथ गाँउपालिका आफैमा आन्तरिक तथा बाह्य प्रर्यटनका लागि प्रचुर सम्भावना बोकेको पालिका हो । नेपालका उत्कृष्ट सय पर्यटकीय गन्तव्य मध्येको एक गाभर भ्याली समेत यसै गाँउपालिकामा अवस्थित छ ।