close

पहिरोका कारण हिमाली गाउँपालिकाका ४० घरपरिवार विस्थापित

पहिरोका कारण हिमाली गाउँपालिकाका ४० घरपरिवार विस्थापित

Trulli
ADVERTISEMENT

बाजुरा– बाजुरामा निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण हिमाली गाउँपालिकाका २ वटा बस्ती उच्च जोखिममा परेका छन् ।


गत शनिबारदेखिको निरन्तर वर्षाका कारण बस्ती आसपास पहिरो झर्न थालेपछि वडा नम्बर ४ र ६ का २ वटा बस्ती जोखिममा परेका हुन् ।
अविरल वर्षासँगै आएको पहिरोका कारण वडा नम्बर ४ फैतिका २५ र वडा नम्बर ६ बोलढिकका १५ गरी ४० घरपरिवार विस्थापित भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए ।
 
बस्तीमाथि र तलबाट बेलाबेला पहिरो झर्न थालेपछि जोखिमकै कारण उनीहरू विस्थापित भएको उनको भनाइ छ । गाउँपालिकाको सहयोगमा विस्थापित परिवारलाई गाउँ नजिकैको विद्यालयमा सारिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।


वडा नम्बर ४ का विस्थापित स्थानीयलाई शैलेश्वरी माध्यमिक विद्यालय र वडा नम्बर ६ का विस्थापितलाई भवानी आधारभूत विद्यालयमा सारिएको छ ।


पहिरो जानासाथ स्थानीय घर छाडेर भागेकाले मानवीय क्षति भएको छैन । लगातारको वर्षापछि खोलानालामा बाढीपहिरो जान थालेपछि बाजुरामा विद्युत्गृह, काठे पुल, पानीघट्ट र निर्माणाधीन सडक पनि क्षतविक्षत अवस्थामा रहेको स्थानीयले बताए ।


पहिरोका कारण जोखिम ठाउँका अधिकांश स्थानीय सुरक्षित ठाउँमा पाल टाँगेर बस्ने गरेका छन् भने कसैले आफन्तकहाँ शरण लिएका छन् ।