close

चर्चामा अर्नाकोट विमानस्थल : डिपिआर बनिसक्यो, अध्ययनका लागि बजेट !

चर्चामा अर्नाकोट विमानस्थल : डिपिआर बनिसक्यो, अध्ययनका लागि बजेट !

Trulli
ADVERTISEMENT

बागलुङ– २ वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने गरी गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि चर्चामा आएको हो ।

 

बागलुङमा बलेवा र ढोरपाटन विमानस्थल छन् । लामो समयदेखि बन्द रहेका दुवै विमानस्थल बेलाबेला चर्चामा आउँछन् । बलेवा विमानस्थल कालोपत्रेको काम चलिरहेको छ । २६ वर्ष बन्द भएर दुई वर्षअघि सञ्चालनमा आएको यो विमानस्थल एक महिना सञ्चालन भएर पुनः बन्द भएको छ ।

 

ढोरपाटन विमानस्थल बन्द भएको वर्षौं बित्यो तर सञ्चालनको कुनै तयारी छैन । भएका विमानस्थल दिगो सञ्चालन नभएको बागलुङमा पछिल्लो पटक अर्नाकोट विमानस्थल चर्चामा छ ।

 

दुई वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको थियो । तर, त्यो डिपिआरअनुसारको काम भने अहिलेसम्म अघि बढेको छैन । 

 

पुनः प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अर्नाकोट समेटिएपछि अर्को प्रक्रिया सुरु भएको हो ।  मध्यपहाडी लोकमार्ग र सालझन्डी ढोरपाटन मार्गको संगम रहेको अर्नाकोटमा ट्विनअटर विमान आउजाउ गर्न सक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्ट इन्जिनियरिङ कन्सल्टेन्सी’ ले डिपिआर बनाएको थियो ।

 

डिपिआर सार्वजनिक गर्दै इञ्जिनियर गुरुप्रसाद अधिकारीले भनेका थिए, ‘७ सय मिटर लामो रनवेसहित झन्डै एक किमि लामो मैदान बनाउन सकिने प्राविधिक टोलीको सुझाव छ ।’ उक्त कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो । 

 

उड्डयन प्राधिकरणमा तयार भएको डिपिआर थन्काएर प्रदेश सरकारले भने यो वर्ष सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टाएको छ । ‘अर्नाकोट विमानस्थलको सम्भाव्यता अध्ययन गरिनेछ,’ मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट भाषण गर्दै भनेका छन् ।

 

यो विमानस्थलको डिपिआर तयार गर्न भूमिका खेलेका कांग्रेस नेता दोर्ण कुँवरले संघले बेवास्ता गरेकाले प्रदेश सरकारले त्यसको अपनत्व दिन खोजेको बताए । 

 

‘के–के कुरा मिलेन, बनेको प्रतिवेदन थन्काए काम भएन,’ कुँवरले भने, ‘अहिले संघसँग मिलेर प्रदेशले काम गर्ने गरी बजेट कार्यक्रममा समावेश भएको जानकारी पाएको छु ।’ 

 

तर, बजेट के–कति छ भन्ने प्रस्ट छैन । यो स्थानमा बुर्तिवाङ बजारदेखि ५ किमि कच्ची सडकबाट पुग्न सकिन्छ । ढोरपाटन सिकार आरक्षमा आउने साहसिक पर्यटक र घुम्न आउनेलाई पनि यो विमानस्थल उपयुक्त हुने स्थानीय बताउँछन् ।

 

ढोरपाटन नगरपालिकाले सुरक्षित सुत्केरी सेवाका लागि हेलिकोप्टरबाट उद्दार गर्ने नीति बनाएको छ । यो नीतिलाई पनि हवाई मैदान उपयोगी हुने स्थानीयको मत छ । 

 

डिपिआरले २ अर्ब रुपैयाँमा ट्विनअटर विमान आउने स्तरीय हवाई मैदान बनाउन सकिने सुझाएको छ । प्रारम्भिक अध्ययनका लागि भने ४० लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।