close

जुम्लाको खलढुंगामा पहिरोको जोखिम : १६ घरधुरीका ११७ घरपरिवार विस्थापित 

जुम्लाको खलढुंगामा पहिरोको जोखिम : १६ घरधुरीका ११७ घरपरिवार विस्थापित 

Trulli
ADVERTISEMENT

जुम्ला– लगातार परेको पानीले देशभरसहित जुम्लाका विभिन्न गाउँबस्तीमा पनि पहिरोको जोखिम बढेको छ । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ६ खलढुंगा र दलित बस्तीमा पहिरोको जोखिम बढेपछि १६ घरधुरीका ११७ जना घरपरिवार विस्थापित भएका छन् ।

 

बस्तीको चारैतिर पहिरो जाँदा गाउँ नै जोखिममा परेपछि घरपरिवार विस्थापित भएका हुन् ।  ‘लामो समयसम्म वर्षा हुँदा गाउँ नै जोखिममा परेको छ’, स्थानीय मुनराज अधिकारीले भने, ‘कमजोर भूभाग भएको पातरखोलाको खलढुंगाका घर पहिरोले भत्काउन थालेपछि स्थानीय गाउँ छाडेर सुरक्षित ठाउँमा जान थालेका हुन् ।’

 

हिमा गाउँपालिकाको जुगाड प्रहरी चौकीले उक्त जोखिम क्षेत्रको निरीक्षण गरेको छ । खलढुंगा र दलित बस्तीका १६ घरधुरीका ११७ घरपरिवार आप्mनो घर छाडेर आफन्तको घरमा बस्न गएका छन् ।

 

गाउँ नै पहिरोको जोखिममा परेपछि उनीहरूले विस्थापित भएर आफन्तकहाँ शरण पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक युवन चौधरीले बताए ।  उनले भने, ‘अहिले त्यहाँका नागरिक सुरक्षित स्थानमा छन् ।’ 

 

हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार एक वर्षअघि नै त्यो जोखिम बस्ती सार्न निर्णय भएको हो । गाउँकार्यपालिकाले निर्णय गरेर त्यो बस्ती स्थानान्तरण गर्न सघन सहरी विकास तथा भवन डिभिजन कार्यालय जुम्लालाई परिपत्र गरिएको हो । 

 

सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र खड्काका अनुसार उक्त जोखिम बस्ती स्थानान्तरण गर्न केन्द्रमा कार्यक्रम बनाएर पठाए पनि चालू वर्षमा स्वीकृत भएन । 

 

आगामी आर्थिक वर्षमा त्यो कार्यक्रम बजेटमा परेको छैन । यस विषयमा सबै क्षेत्र तथा निकायबाट पहल हुनुपर्ने हो । 

 

गाउँपालिकाले बस्ती स्थानान्तरण गर्न १२ करोड रुपैयाँ बजेट स्टिमेट तथा कार्यक्रम बनाएर पठाएको छ । एउटा घरको ५ लाख रुपैयाँका दरले बजेट बनाएको उनले जानकारी दिए । बस्ती स्थानान्तरणसहित विद्यालय, पानी सडक, सबै आवश्यक पूर्वाधारको कार्यक्रम बनाएको हो । 

 

वर्षाले भेडी गोठालाको विचल्ली

 

गर्मी छल्न पाटन उक्लेका भेडी गोठाला निरन्तरको वर्षाले विचल्लीमा परेका छन् । भेडाको बथानसँगै पाटन र खर्कमा बसेका भेडीगोठाला अहिले विचल्लीमा परेका हुन् । 

 

भोजपत्र, त्रिपाल र ढुंगाले छाएको गोठमा बसिरहेका भेडी गोठालालाई एकातिर चट्याङको खतरा छ भने अर्कोतिर भेडाबाख्रालाई भोकै राख्नुपर्ने बाध्यता छ ।

 

‘पाटनमा भरपर्दाे गोठै छैनन् । आफैंले बनाएका गोठ हावाहुरीले उडाउने खतरा हुन्छ,’ तातोपानी गाउँपालिका वडा नम्बर ७ सर्मीका भेडीगोठाला कृष्ण खड्काले भने, ‘गत वर्ष यही समय पानीको वास्ता नगरी भेडा चराउन हिँडेका एक छिमेकी गोठालाको चट्याङले मृत्यु भयो । अहिले पनि त्यस्तै नहोला भन्न सकिन्न ।’ 

 

२०७२ मा करिब १० दिनसम्म निरन्तर वर्षा हुँदा सयौँ भेडा मरेका थिए । यिनीहरू पाटन क्षेत्रमा ४ महिना बसाइँपछि घर फर्किन्छन् । जिल्लाका पाँचसय, माझखर्क, सुकदह, सुपाकुना, गाडखर्क, भुरीचुलालगायतका पाटनमा अस्थायी भेडी गोठ छन् ।

 

यहाँको भेडापालन पुख्र्यौली पेसा हो । मुख्य आम्दानीको स्रोतका रूपमा भेडापालन व्यवसाय भएकाले जिल्लाका सबै गाउँबस्तीमा भेडापालन गरिने गरेको छ ।

 

जुम्लामा करिब ७४ हजार हाराहारी भेडा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए । ‘आम्दानी राम्रो छ, भेडाको संख्या बढिरहेको छ,’ उनले भने ।

 

कर्णाली प्रदेशले यो वर्षबाट गोठालो भत्ता दिने भएको छ । ५० बढी भेडाबाख्रा भएका किसानलाई मासिक ५ सय रुपैयाँ गोठालो भत्ता दिने भएपछि गोठाला खुसी छन् ।