close

बागलुङ र पर्वत जोड्ने दोस्रो लामो झोलुंगे निर्माण हुँदै

बागलुङ र पर्वत जोड्ने दोस्रो लामो झोलुंगे निर्माण हुँदै

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि अर्को लामो पुल निर्माण प्रक्रिया अघि बढेको छ ।

 

सस्पेन्सन ब्रिज डिभिजनले बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौर र पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लिवाङ जोड्ने गरी लामो झोलुंगे निर्माण गर्न अध्ययन थालेको हो । 

 

पुलको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न जिम्मेवारी पाएको कम्पनीले बुधबारबाट काम थालेको छ । कम्पनीको प्राविधिक समूह अध्ययनका लागि बागलुङ आएको हो ।

 

‘हामीले ३ महिनामा सबै काम सक्ने गरी सुरु गरेका छौँ । अहिले स्थलगत अध्ययनमा छौँ,’ डिपिआरको जिम्मेवारी पाएको नेसनल सिनर्जी कम्पनीका इन्जिनियर विजय चौहानले भने, ‘५६७ मिटर लामो झोलुंगे पुल बन्न सक्ने गरी अध्ययन गर्न अनुमति लिएका छौँ ।’

 

सिंगल स्पान प्रविधिको संसारकै लामो बाङ्गेचौर अदुवारी पुल निर्माण सफल भएपछि उपल्लाचौर नाग्लिवाङ जोड्ने गरी झोलुंगे पुल निर्माणका लागि अध्ययन थालिएको सस्पेन्सन ब्रिज डिभिजनका सिनियर डिभिजन इन्जिनियर हुमकान्त मिश्रले बताए । 

 

डिपिआर तयार भएपछि पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले जानकारी दिए । ‘यसअघि पनि यहाँ लामो पुल निर्माणका लागि अध्ययन भएको हो । तर, त्यतिबेला ३ सय ६० मिटरभन्दा लामो पुल बनाउन सकिने प्रविधि थिएन,’ मिश्रले भने, ‘त्यो समयको प्रविधिअनुसार सम्भाव्यता नरहेको प्रतिवेदन आयो ।’ 

 

अहिले ५६७ मिटर लामो पुल बागलुङ र पर्वत जोड्ने गरी सफलतापूर्वक सञ्चालनमा रहेकाले पुनः अध्ययन थालिएको हो । पाङ–अदुवाबारी लामो पुलको उद्घाटनकै समय उपल्लाचौर–नाग्लिबाङ पुल बनाउने घोषणा भएको थियो ।

 

पुल शिलान्यास गर्दै राष्ट्रिय सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त पुल बनाउने घोषणा गरेका थिए । उनकै निरन्तरको दबाबमा डिभिजनले दोस्रो पटक सम्भाव्यता खोज्न थालेको छ ।

 

अध्ययनका लागि बागलुङ आएको प्राविधिक समूहले बुधबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र निर्वतमान प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकसँग छलफल गरेको छ ।

 

‘सीधा आँखाले हेर्दा पाङ–अदुवाबारीको पुलभन्दा छोटो दूरी नै छ । हामीले प्राविधिक
समूहलाई सोहीअनुसारको ठाउँ देखायौँ,’ नगरप्रमुख पौडेलले भने, ‘यो पुल बहुआयामिक हुनेछ । निर्माण गर्नैपर्छ ।’

 

निवर्तमान सांसद पाठकले समयमा विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पुल निर्माणको ठेक्का प्रक्रियालाई सहयोग गर्न आग्रह गरे ।

 

उपल्लाचौर क्षेत्र र जलजला गाउँपालिकाकै घनाबस्ती रहेको नाग्लिवाङ गाउँ जोडिँदा सर्वसाधारणका लागि धेरै सुविधा हुने पौडेलले बताए । यो पुल बन्दा नाग्लिवाङबाट कालीगण्डकी किनारमा निस्केर बागलुङ बजार उक्लिनुपर्ने बाध्यता अन्त्य हुनेछ ।

 

पुलले बागलुङ नगरपालिका र पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणको आउजाउका लागि धेरै सहज हुने पौडेलको धारणा छ । ‘अहिले सरकारले पक्की र झोलुंगे पुल प्राथमिकतामा राखेको छ । बजेट अभाव नहोला,’ पौडेलले भने, ‘डिपिआर तयार भएपछि तत्काल काम थाल्नुपर्छ ।’ 

 

कालीगण्डकी नदीमाथि पछिल्लो समय लामा पुल बन्ने क्रम बढेको छ । पर्वत सदरमुकाम कुश्मा बजार र बागलुङको नारायणस्थान कुकुरगाडेमा अर्को पुल निर्माणका लागिसमेत सरोकारवालाले दबाब दिइरहेका छन् । यो पुल बने बागलुङभित्र कालीगण्डकी नदीमाथि बनेका पुलको संख्या ५ पुग्नेछ ।