close

आइसोलेसन सेन्टर अस्थायी कोभिड अस्पतालमा स्तरोन्नति

आइसोलेसन सेन्टर अस्थायी कोभिड अस्पतालमा स्तरोन्नति

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेलमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई अस्थायी कोभिड अस्पतालमा स्तरोन्नति गरिएको छ ।

 

कोभिड–१९ बाट संक्रमण भएका बिरामीलाई उपचारमा राख्ने गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्रको भवनमा स्थापना गरिएको आइसोलेसन सेन्टरलाई आवश्यक स्वास्थ्यकर्मी, उपकरण एवं औषधी व्यवस्था गरेर अस्थायी कोभिड अस्पतालमा परिणत गरिएको हो । 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जिल्ला अस्पतालको संयुक्त पहलमा आइसोलेसन सेन्टरलाई अस्थायी कोभिड अस्पतालमा स्तरोन्नति गरिएको हो ।

 

२४ सै घन्टा १ डाक्टर र २ जना नर्स खटाउने गरी उपकरण एवं औषधी व्यवस्था गरेर अस्थायी कोभिड अस्पताल तयार पारिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वैभव मल्लिकले बताए । 

 

अस्थायी कोभिड अस्पतालमा बिरामीका लागि आवश्यक अक्सिजन, अक्सिजन कन्सन्ट्रेटरलगायत उपकरण व्यवस्था गरिएको छ ।

 

१० बेडको अस्थायी कोभिड अस्पतालमा बिरामीको चापका आधारमा बेड संख्या थप गर्दै लगिनेछ । बिहीबार तयार पारिएको अस्थायी कोभिड अस्पतालमा संक्रमित बिरामी भने भर्ना भएका छैनन् ।

 

हालसम्म कोभिड–१९ बाट संक्रमितको परीक्षण एवं जिल्ला अस्पतालबाट गर्ने गरिएकामा आगामी दिनमा कोभिडसम्बन्धी उपचार अस्थायी कोभिड अस्पतालबाट हुने नगरप्रमुख दीपनारायण रिजालले बताए । 

 

जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, नगर प्रमुख रिजाल, उपप्रमुख वीणादेवी राई, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालगायतले अस्थायी कोभिड अस्पताल निरीक्षण एवं अनुगमन गरे ।

 

कोभिड–१९ का संक्रमितलाई लक्षित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत १५ वैशाखमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र दिक्तेलको भवनमा ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको थियो ।