close

आठराई त्रिवेणीमा लेखापरीक्षण पेस नगरेका विद्यालयको बैंक खाता रोक्का

आठराई त्रिवेणीमा लेखापरीक्षण पेस नगरेका विद्यालयको बैंक खाता रोक्का

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को सामाजिक लेखा परीक्षण तथा लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने विद्यालयका शिक्षक तथा कर्मचारीको तेस्रो चौमासिक तलब भत्ता रोक्का गर्ने भएको छ । 

 

गाउँपालिकाले वैशाखदेखि असारसम्मको तलब, भत्ता बैंकमा निकासा गरे पनि सालेप र लेप प्रतिवेदन पेस नगरेसम्म सम्बन्धित विद्यालयको बैंक खाता रोक्का गर्ने निर्णय गरेको हो ।


गाउँपालिकाका शिक्षा अधिकृत सीतादेवी लावतीका अनुसार पालिकाभरिका सबै विद्यालयले आव २०७६/७७ को सालेप र लेप गत माघ मसान्तसम्मकै पूरा गर्नुपर्ने प्रावधान छ । 


पालिकाभर ३३ वटा सामुदायिक विद्यालय छन् । आव २०७६/७७ को सालेप र लेप प्रतिवेदन असार मसान्तभित्र गाउँपालिकाको शिक्षा शाखामा पेस गर्नसमेत पालिकाले अन्तिम मौका दिएको छ । 

 

सालेप र लेप गर्ने जिम्मेवारी सम्बन्धित विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको हुने स्मरण गराउँदै गाउँपालिकाले बैंक खाता रोक्का गरिएबाट हुने व्यवधानप्रति विद्यालय स्वयं जिम्मेवार हुनुपर्ने स्मरण गराएको छ । 

 

शिक्षा अधिकृत लावतीका अनुसार पालिकाभरिका विद्यालयले कक्षा ८ को ग्रेट लेजर÷ग्रेडसिट तथा कक्षा ५ को ग्रेट सिट १५ असारभित्र गाउँपालिकाको शिक्षा शाखामा बुझाइसक्नुपर्नेछ ।