close

बालिका बचत कार्यक्रमको प्रभाव: बर्थिङ सेन्टरमा बढे सुत्केरी गराउने

बालिका बचत कार्यक्रमको प्रभाव: बर्थिङ सेन्टरमा बढे सुत्केरी गराउने

Trulli
ADVERTISEMENT

खोटाङ- ‘बालिका बचत’ कार्यक्रम सुरु गरेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टरमा गएर सुत्केरी गराउने संख्या वृद्धि भएको छ । बालिकामैत्री नगरपालिका बनाउने लक्ष्यसाथ आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर बालिका बचत कार्यक्रम सुरु गरेपछि स्वास्थ्य संस्थामा गएर नियमित गर्भजाँच गराउने र बर्थिङ सेन्टर वा स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउने संख्या बढेको हो ।


बालिका बचत कार्यक्रमअन्तर्गत नगरपालिकाले गत वर्षको १ साउनयता जन्मिएका हरेक छोरीको नाममा खाता खोल्ने र ३ वर्षको उमेर पुग्दासम्म वार्षिक ४ हजार रुपैयाँका दरले खातामा रकम जम्मा गरेर सहयोग उपलब्ध गराउने व्यवस्था गरेको छ ।

 

बालिका बचत कार्यक्रमअन्तर्गतको सहयोग पाउन गर्भावस्थामा आमाले ४ पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने प्रावधान छ ।

 

बालिका बचत कार्यक्रमको प्रभावस्वरूप हाल नगरपालिकामा गत वर्षको साउनदेखि जेठसम्म ९० प्रतिशत गर्भवतीले नगरभित्रका बर्थिङ सेन्टर वा अन्यत्रका स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएको उपप्रमुख विमला राईले बताइन् । ११ वडा रहेको नगरपालिकामा यसबीचमा ४८० जना बच्चा जन्मिएकामा ३२३ जना (६१ प्रतिशत) नगरभित्रकै बर्थिङ सेन्टरमा र १५७ जना (२९ प्रतिशत) भने रेफर भएर विभिन्न अस्पतालमा जन्मिएका हुन् ।

 

१० प्रतिशत बच्चा भने घरमा वा स्वास्थ्य चौकी लैजाँदै गर्दा बाटैमा जन्मिएका हुन् । जन्मिएकामध्ये ५२ प्रतिशत बालिका छन् । नगरपालिकामा गर्भजाँच परीक्षण दर पनि ३९ प्रतिशतबाट बढेर ६१ प्रतिशत पुगेको छ । व्यक्तिगत घटना दर्तामा समेत कार्यक्रमले योगदान पुर्‍याएको उपप्रमुख राईले जानकारी दिइन् । 


छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप नगरपालिकाले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसर पारेर गत २४ फागुनबाट औपचारिक रूपमा बालिका बचत कार्यक्रम सुरु गरेको हो ।

 

दिवस अवसरमा हलेसीमा आयोजित कार्यक्रममा पूर्वजलस्रोत राज्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लीलाकुमारी दमाईकी छोरी सुनिता परियारलाई बालिका बचत कार्यक्रमअन्तर्गतको चेक हस्तान्तरण गर्दै कार्यक्रम सुरु गरेकी थिइन् ।

 

बालिका बचत कार्यक्रमअन्तर्गत आमालाई हकवाला राखेर हरेक बालिकाको नाममा सालपा विकास बैंकको हलेसी शाखामा १५ वर्षे मुद्दती खाता खोल्नुपर्ने सम्झौता छ । हालसम्म ६६ बालिकाको नाममा खाता खोलिसकिएको छ । असार तेस्रो साताभित्र सबै बालिकाको नाममा खाता खोलेर जनही ४ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने उपप्रमुख राईले बताइन् ।

 

खातामा रकम जम्मा गरेबापत सालपा विकास बैंकले वार्षिक ९ प्रतिशतले ब्याज उपलब्ध गराउने सम्झौता छ । खातामा जम्मा भएको रकम बालिका १५ वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था छ । छोरा र छोरीमाथिको विभेदको अन्त्य गर्दै बचत गर्ने बानीको विकासका लागि नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्न सक्ने नगरपालिकाका महिला तथा बालबालिका शाखाका संयोजक इरन राईले जानकारी दिइन् ।

 

लामो समयसम्म नगर वाहिर बसिरहेको अवस्थामा गाउँमा आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू हुँदैन । समाजमा छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद कायम छ । कतिपय दम्पतीले छोरीको भ्रुण पहिचान गरेर गर्भपतन गर्ने गरेका छन् । यो अवस्थामा ‘छोराछोरी बराबरी’ हुन् भन्ने बुझाइको विकासका लागि छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बालिका बचत कार्यक्रम ल्याइएको हो ।


३० असार २०७६ मा पूर्ण बर्थिङ सेन्टरयुक्त वडा घोषणा गरिएको नगरपालिकाका हरेक गर्भवती महिलालाई अनिवार्य बर्थिङ सेन्टरमा गएर बच्चा जन्माउन प्रोत्साहन गर्ने लक्ष्यसाथ बालिका बचत कार्यक्रम ल्याइएको उपप्रमुख राईको धारणा छ ।

 

‘समाजमा छोरा र छोरीमाथि विभेद भइरहेका छन् । त्यही भएर छोरी जन्माउने आमाबुबाको प्रोत्साहनका लागि बालिका बचत कार्यक्रम ल्याइएको हो । यसले बचत गर्ने बानीको विकासमा समेत टेवा पुग्ने अपेक्षा छ,’ उपप्रमुख राईले भनिन्, ‘अर्को कुरा, हाम्रो नगरपालिकाका सबै वडामा बर्थिङ सेन्टर बनिसकेको छ । गर्भवतीलाई अनिवार्य त्यही गएर सुरक्षित सुत्केरी गराउने वातावरण बनाउन यो कार्यक्रम अघि सारिएको हो ।’ बालिका बचत कार्यक्रमले समाजमा छोरीलाई हेर्ने नजरमा परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।