close

पारि तिब्बततिर घनघोर वर्षा : तामाकोसी आउने पानीको उकास खुलाउँदै चिनियाँ नागरिक 

पारि तिब्बततिर घनघोर वर्षा : तामाकोसी आउने पानीको उकास खुलाउँदै चिनियाँ नागरिक 

Trulli
ADVERTISEMENT

दोलखा– चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन्।एकै पटक पोखरी बनेको नदी फुटेसँगै नेपालसम्म क्षति पु¥याउने देखिएपछि उनीहरूले पानी तर्काउन लागेका हुन् ।

 

दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लप्चीको सिमानामा पर्ने स्थानीमा चिनियाँ नागरिकले सामाजिक सञ्जालमा राखेको भिडियो र तस्बिर हालेका इलाका प्रहरी कार्यालय सिंगटीले जानकारी गराएको छ । पहिरोले नदीको प्रवाह रोकिँदा थुनिएपछि उतातिरको खोला एकै पटक फुटे तामाकोसी नदीमा बाढी आउने खतरा छ ।

 

स्थानीय प्रशासनले दोलखा र आसपास जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती पौने १० बजे सार्वजनिक सूचना जारी गर्दै चीनको सिमा क्षेत्रमा रहेको टिंग्री कन्ट्रीको रोङछिया सहर र उक्त क्षेत्र आसपास भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त भएको बताएको छ ।

 

सोही कारण तामाकोसीमा नदीमा कुनै पनि बेला पानीको बहाव बढेर बाढी आउन सक्ने जनाइएको छ । बाढी आउने खतराका कारण नेपाल–चीनबीचको सिमानामा रहेका बस्ती तथा तामाकोसी नदी तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेकाले सो क्षेत्रका बासिन्दालाई सतर्क र सजग रहन भनेको छ । 

 

दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वर्षायाममा निम्तन सक्ने सम्भावित खतराबारे चीनको टिंग्री काउन्टीसँग शुक्रबार बेलुकी कुरा हुँदा भारी वर्षा र पहिरोका कारण नेपाल–चीन सीमामा नदीको प्रवाह रोकिएको जानकारी प्राप्त भएको बताए । सो जानकारी प्राप्त हुनासाथ स्थानीय प्रशासनले सूचना जारी गरेर उच्च सतर्कता अपनाउन आग्रह गरेको उनको भनाइ छ ।

 

तामाकोसी नदी नेपाल–चीन सिमानाबाट उद्गम भएर बग्ने गर्छ । तसर्थ, चीनतर्फ भारी वर्षा र बाढीपहिरो आउँदा तामाकोसी नदीमा पनि पानीको बहाव बढ्ने गरेको छ ।

 

तामाकोसी नदीमा बाढी आए नेपाल–चीनबीचको सिमानामा रहेका बस्तीसहित दोलखाको लामाबगर, गोंगर, सिंगटी, तामाकोसी, सितली, किर्नेटार तथा रामेछापको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षति पु¥याउनेछ ।

 

बाढीको खतरापछि माथिल्लो तामाकोसीको सुरुङमा पानी पठाउने काम पनि गए रातीबाटै बन्द गरिएको छ । बालुवा थिग्य्राउने पोखरीको पानीलाई फालेर पूरै खाली गरिएको छ ।

 

१ असारमा तामाकोसी नदीमा एक्कासि आएको बाढीका कारण माथिल्लो तामाकोसीको जलाशय काठको मुढा र लेदोले भरिएको थियो । ती मुढा र लेदोलाई झिकिएको आयोजनाले जनाएको छ ।

 

आयोजनामा बाढी आउने सूचनापछि माथिल्लो तामाकोसीको जलाशयको सतह ९ मिटर घटाइएको छ भने बालुवा थिग्य्राउने पोखरी पूरै खाली गरिएको छ । जलाशयको पानी घटाएर न्यूनतम बिन्दुमा झारिएका कारण तामाकोसी नदीमा बाढी आइहाले कम्तीमा एकदेखि डेढ घन्टा बाँधले थेग्न सक्नेछ ।