close

पोष्टमार्टम नगर्दा दुई दिन देखि अस्मिताको शव अस्पतालमै

पोष्टमार्टम नगर्दा दुई दिन देखि अस्मिताको शव अस्पतालमै

Trulli
ADVERTISEMENT

डडेलधुरा- शनिबार मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिकाका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको शव दुई दिनदेखि अस्पतालमै छ । पोष्टमार्टमका लागि जोगबुढा अस्पतालमा शव राखिएको भएपनि आवश्यक जनशक्ति र उपकरण नभएको भन्दै अस्पतालले पोष्टमार्टम नगरेको हो । 

 

‘हामी यतैका डाक्टर छौँ, रिपोर्ट जस्तो सुकै पनि आउन सक्छ । स्थानीबाट आक्रमणको भय पनि छ,’ अस्पतालका एक जना डाक्टरले भने, ‘माथिबाट दक्ष डाक्टर पठाउनु पर्छ ।’ परशुराम नगरपालिकाका-८ कै एकजना पुरुषको शव पनि चार दिनदेखि अस्पतालमै छ । मृतकका आफ्न्त नआएकोले शव पोष्टमार्टम गर्न नसकिएको अस्पतालले जनाएको छ । 

 

मृत फेला परेकी अस्मिताको जोगबुढा अस्पतालले पोष्टमार्टम गर्न नसक्ने भनेपछि मृतकका आफन्तले नगरपालिका घेराउ गरेका छन् । आक्रोसित बनदै नगरपालिका पुगेका स्थानीयले नगरपालिका मातहतको अस्पतालको स्वास्थ्य प्रमुख खोइ कता? फोन लगाउनुस् भन्दै नगरपालिका घेराउ गरेका छन् ।  

 

धामीको शव शनिबार परशुराम नगरपालिका-९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो । उनको विभत्स शव फेला परेको स्थानीयले जिकिर गरेका छन् । २ असारमा आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पुर्‍याउन हिँडेकी अस्मिताको शव वनमा फेला परेको हो । 

 

उनको शरिरभरी ठूला नीलडाम रहेको, नाक र बंगारा भाँचिएको वडा नम्बर ८ का अध्यक्ष गोविन्द बोहोराले बताए । ‘नाकको डाँडी पुरै भाँचिएको छ भने एकापट्टिको बंगारा भाँचिएको छ, घटनाको प्रकृति हेर्दा वीभत्स हत्या नै हो,’ बोहराले भने, ‘घटनाको सत्यतथ्य छानविन हुनुपर्छ ।’

 

उनको शव मुलबाटोदेखि ६० देखि ७० मिटरको दूरीमा फेला परेको छ । त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स र केही माथि चप्पल फेला परेको घटनास्थल पुगेका पत्रकार रमेश धामीले बताए । 

 

एकाएक सम्पर्कविहीन

उनी कार्यरत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट समेत कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको थियो । अभियान पश्चात केही मात्रामा खोपका डोज बचेका थिए ।

 

बचेका खोप जोगबुडा अस्पतालमा फिर्ता दिन भनेर उनको कार्यालयले उनीलाई काम लगाएको थियो। त्यसपछि खोपको ‘क्यारियर’ बोकेर र मुखमा मास्क लगाएर उनी ११ बजे जमरानीबाट जोगबुडाका लागि हिँडिन् । साँझ जोगबुडाबाट फर्किनुपर्ने मान्छे नआएपछि उनको परिवार चिन्तित भए । उनीहरुले अस्मितालाई फोन गरे तर फोन ‘स्विच अफ’ आयो । 

 

दुई छोरीकी आमा अस्मिता दिनहुँ घरबाटै कार्यालय आउने भए पनि कोभिडको खोप लगाउने अभियानका कारण एक दिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भए पनि घर पुग्ने गर्थिन् ।

 

सधैं दोस्रो दिन जसरी पनि घर पुग्ने अस्मिता दोस्रो दिनसम्म पनि घर नपुगेपछि घरपरिवारले खोजी गरेका थिए । सुरुमा कार्यालयमा फोन गर्दा कार्यालयका प्रमुखले अघिल्लो दिन जोगबुडा अस्पताल गएको र दोस्रो दिन कार्यालय नआएको बताएका थिए ।

 

‘त्यसपछि जोगबुडा अस्पताल र आफन्तहरुकोमा खोजी भयो र त्यसै क्रममा मलाई पनि फोन आयो,’ वडा अध्यक्ष बोहराले भने, ‘दोस्रो दिनको कार्यालय समयपछि आफन्तकोमा खोजी गरियो ।’

 

तेस्रो दिन गाँउबाट टोली निर्माण गरी खोजी सुरु गरिएको र बाटोमा कहीं कतै नदेखेपछि चौथो दिन प्रहरीलाई समेत खोजीका लागि अनुरोध गरेर सीमाचौकी तातापानी र जोगबुडा इलाका प्रहरी कार्यालयको टोली समेत खोजी गर्दै गर्दा स्थानीयको टोलीले हट्वानी सामुदायिक वनमा शव फेला पारेको अध्यक्ष बोहरा बताउँछन् ।

 

प्रदेश प्रहरी कार्यालयबाट टोली परिचालन

प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले पोष्टमार्टमपछि मात्रै हत्या वा अन्य कारणले मृत्यु भएको हो भन्ने खुल्ने जनाएको छ । मृत्युको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयले दुई वटा टोली परिचालन गरेको छ ।

 

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले जानकारी दिए ।

 

‘घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) को टोली खटाइएको हो । दुवै टोली डडेल्धुरातर्फ गएका छन्,’ थापाले भने ।