close

छथर जोरपाटीको गाउँसभाः कृषि, शिक्षा, पर्यटन र पूर्वाधारमा जोड

छथर जोरपाटीको गाउँसभाः कृषि, शिक्षा, पर्यटन र पूर्वाधारमा जोड

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । पालिकाले आइतबार नवौँ गाउँसभाबाट ६३ वटा नीति तथा कार्यक्रम पारित गरेको हो । पालिकाले लिएको शिक्षा, कृषि, पर्यटन र पूर्वाधार छथर जोरपाटीको समृद्धि नीतिमा आधारित रहेर नीति तथा कार्यक्रम तयार गरेको छ । 

 

पालिकाले आर्थिक विकासका लागि छथर जोरपाटीको जन र मन गाउँपालिकाको समृद्धका लागि धन, उद्यमशीलताबाट रोजगारी उत्पादनमा वृद्धि: यस पालिकाको हुन्छ समृद्धि, हाम्रो वन छथर जोरपाटीको धनजस्ता लोकप्रिय कार्यक्रम ल्याएको छ । 

 

शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि छथर जोरपाटी शैक्षिक छात्रवृत्ति, बालबालिकालाई कक्षाकोठामा ल्याऔँ, पढाइमा टिकाआ‍ैँ र समाजमा बिकाऔ कार्यक्रम तथा छथर जोरपाटी शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

त्यस्तै, पालिकाभित्र स्थायी बसोबास गर्दै आएका दलित समुदायका लागि एक परिवार एक उपहार कार्यक्रम लागू गर्ने भएको छ । पालिकाले बसाइँ-सराइलाई रोक्न बसाइँ सरिजान नाइँनाइँ सरी आउनेलाई उपहार दिऊँ एक दुहुना गाई’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

पालिकाले सामाजिक उत्तरदायित्वतर्फ एकल महिला बिउ पुँजी कोष, अति विपन्न परिवार सामाजिक सुरक्षा कार्यविधि, छथर जोरपाटी अति विपन्न परिवार सामाजिक सुरक्षा कार्यक्रम, छथर जोरपाटी लक्षित वर्ग तथा समुदाय क्षमता तथा सीप विकास कार्यक्रम लागू गर्ने भएको छ ।

 

हाम्रो गाउँ-घर-सर्वत्र उज्यालो ठाउँ, छथर जोरपाटी राष्ट्रसेवक पदक, प्रकोप व्यवस्थापन कोषजस्ता लोकप्रिय कार्यक्रम समावेश गरेको छ । त्यस्तै, कृषि क्षेत्रको व्यावसायिकीकरणका लागि भूमि बैंक स्थापना, सोधभर्ना सापटी कार्यक्रम, कोभिड-१९ रोकथाम कार्यक्रम, ज्येष्ठ नागरिकलाई घरघरमा उपचार कार्यक्रम पनि समेटिएका छन् ।

 

पर्यटन पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, सुरक्षित पिउने पानीको व्यवस्था तथा तमोर नदीबाट खानेपानी लिफ्टिङ आयोजना, किशोर-किशोरी लक्षित कार्यक्रम, आगामी ३ वर्षभित्र पालिकालाई बालमैत्री पालिका घोषणा गर्ने, युवाका लागि खेलकुद कार्यक्रम, महिला हिंसा न्यूनीकरणलगायत विषय नीति तथा कार्यक्रममार्फत सार्वजनिक गरिएको छ ।

 

पालिकाले आदिवासी जनजातिका लागि संग्रहालय निर्माण, कला-संस्कृति संरक्षण गरिने नीति कार्यक्रम समावेश गरेको छ । पालिकाले १ करोड रुपैयाँसम्मको आयोजना सम्पन्न गर्दा प्राविधिकको सिफारिसबिना मेसिन गर्न नपाउने नीति ल्याएको छ ।

 

खेतीयोग्य जमिनमा सिँचाइका लागि आवश्यक डिपिआर प्रतिवेदन तयार गर्ने, सुरक्षित बस्ती विकास कार्यक्रम लागू गरिने, प्राविधिक सल्लाहबिना निजी तथा सरकारी भवन निर्माणमा बन्देज लगाउने कार्यक्रम ल्याइएको छ । 

 

हालसम्म पालिका क्षेत्र र धनकुटाको बिहीबारे-हटियाबाट पालिकाको सिंभुवा जोड्ने सडक कालोपत्रे यसै आवमा थालनी गर्ने जनाएको छ । कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पालिकाले जिपिआरएर पद्धतिबाट सूचना प्रवाह गर्ने र संघ-संस्थासँग संस्थागत सञ्जाल समन्वय संयन्त्र स्थापना गर्ने उल्लेख गरेको छ ।

 

नीति तथा कार्यक्रममा गत २ वैशाखमा असिनाबाट भएको क्षतिलाई लक्षित गरी बालीको क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरिएको जनाइएको छ । पालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न नवाैँ गाउँसभामा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिव आङ्ला (लिम्बू) ले नीति तथा कार्यक्रम सफल कार्यान्वयनको शुभकामना दिएका थिए । सभाबाट पारित नीति तथा कार्यक्रमको आधारमा विषयगत समितिसँग छलफल गरी आउँदो १० असारमा नयाँ बजेट ल्याइने पालिका अध्यक्ष लिम्बूले जानकारी दिए ।