close

बाढीग्रस्त ३ पालिकालाई काठमाडौं महानगरको ३ करोड सहयोग

बाढीग्रस्त ३ पालिकालाई काठमाडौं महानगरको ३ करोड सहयोग

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले बाढीग्रस्त सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई राहत तथा उद्दारका लागि ३ करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोलीले मेलम्ची पुगेर ती पालिकालाई सहयोग रकम उपलब्ध गराएको हो। 

 

काठमाडौं महानगरले मेलम्ची नगरपालिकालाई २ करोड र बाँकी २ पालिकालाई ५०/५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा यसअघि नै गरेको थियो । 


सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको महानगरले जनाएको छ । 


बाढीग्रस्त क्षेत्रको अवलोकन र सहयोग रकम हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुगेका शाक्यले सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा गरिएको बताए ।


‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरको सम्बन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौंबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो सम्बन्ध बलियो छ । यो सहयोग रकम ठूलो नभए पनि यहाँका बासिन्दाको पीडामा मल्हमको काम गर्छ भन्ने अपेक्षा छ ।’

 

मेलम्चीसँग महानगरको भगिनी सम्बन्ध स्थापित भएकाले यहाँका बासिन्दालाई परेको दुःखमा साथ दिनु कर्तव्य ठानेर सहयोग रकम लिएर आएको उनले सुनाए । ‘जनताको दुःखमा काठमाडौं महानगर साथमा छ भन्ने बोध गराउन पनि हामी यहाँ आएका हौँ,’ शाक्यले भने ।


महानगरको टोलीसँगै बाढीग्रस्त क्षेत्र अवलोकनमा आएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरको यो सहयोग स्तुत्य रहेको बताए ।


‘मेलम्चीबासीलाई पीडा पर्दा काठमाडौं महानगर प्रमुखसहितको टिम मल्हम लगाउन आउनुभएको छ । मेलम्ची र सिंगो यो क्षेत्रका जनताको तर्फबाट धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊर्जा प्राप्त भएको छ ।’ 


स्वास्थ्यमन्त्री तामाङले बाढीग्रस्त क्षेत्रको समस्या समाधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको सुनाए ।