close

नमोबुद्धका किसानले पाए अनुदानमा मौरीघार

नमोबुद्धका किसानले पाए अनुदानमा मौरीघार

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीघार वितरण गरेको छ । नगरपालिकाले नगरलाई मौरीपालनमा आत्मनिर्भर नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको मौरीघार वितरण गरेको हो ।

 

मंगलबार किसानलाई मौरीपालनसम्बन्धी तालिमसहित घार वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले जानकारी दिए । चालू आर्थिक बर्षको कार्यक्रमअनुसार ५६ वटा मौरीघार वितरण गरिएको छ ।


किसानलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले मौरीघार हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका किसानलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीघार वितरण गरिएको र आगामी वर्ष पनि यसले निरन्तरता पाउने बताए । 


यसै वर्षदेखि अनुदानमा भैँसी तथा बाख्रा वितरण अभियानको सुरु भइसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाइने जानकारी दिए । यस्तै, वडा नम्बर १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले सोहीअनुसार अभियान थालिएको बताए । 

 

नमोबुद्ध नगरलाई अर्गानिक कृषि केन्द्र बनाउने उद्देश्य रहेको भन्दै अधिकारीले त्यसमा किसानको साथ र सहयोग आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा किसान रामप्रसाद घिमिरेले मौरीघारसहित तालिमसमेत प्राप्त गरेको र व्यवस्थित एवं व्यावसायिक रूपमा मौरीपालनलाई अघि बढाउन हौसला मिलेको सुनाए ।


नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी एवं मौरीघार निर्यात गर्ने योजना बनाएको छ । यस्तै, नगरमा उत्पादित महको बजारीकरणको व्यवस्थासमेत गरिने योजना छ ।

 

नमोबुद्धले यसअघि विभिन्न वडाका किसानका लागि ८० प्रतिशत अनुदानमा १ सय ५५ वडा पाडी वितरण गरिसकेको छ भने चालू आर्थिक वर्षमै बाख्रा वितरण गर्दै छ । कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन (चापाकटर) ५० प्रतिशत अनुदानमा मिनीट्रिलर, इलेक्ट्रिक पम्प, फलफूलका बिरुवा वितरण गर्दै छ ।