close

धनगढीको बजेट १ अर्ब ८१ करोड बढी

किसानलाई क्रेडिट कार्ड बाँडिने

धनगढीको बजेट १ अर्ब ८१ करोड बढी

किसानलाई क्रेडिट कार्ड बाँडिने

Trulli
ADVERTISEMENT

धनगढी- धनगढी उप-महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेट मंगलबार सातौँ नगरसभामा पेस गरेको छ । धनगढी उप-महानगरका उप-प्रमुख सुशीला मिश्र भट्टले नगरसभामा पेस गरेको बजेट १ अर्ब ८१ करोड २८ लाख २२ हजार १ सय रुपैयाँको छ ।


चालूतर्फ १ अर्ब २ करोड ८० लाख ७० हजार र पुँजीगततर्फ ७८ करोड ४७ लाख ५१ हजार रुपैयाँ रहेको छ । बजेट तथा कार्यक्रमले कोभिड-१९ बाट सिर्जित समस्या व्यवस्थापन, स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन, स्वास्थ्य तथा मानव सामथ्र्य विकासलाई प्राथमिकता दिएको छ ।


यस्तै, कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, शिक्षा तथा रोजगारी, पूर्वाधार निर्माण तथा दिगो विकास, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगारी र सहकारिताको विकास, मानव संसाधन तथा संस्थागत सुशासन, सामाजिक विकास तथा गरिबी निवारणलगायत क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।


किसानलाई प्रोत्साहन गर्न किसान क्रेडिट कार्डको व्यवस्था गर्ने, सामुदायिक वनमा जडीबुटी खेती, कृषक पहिचान तथा परिचयपत्र, कृषि बजार मूल्य सूचना प्रणालीको व्यवस्था गरिने भएको छ । पशु विकासतर्फ छाडा पशु चौपायामा भ्याक्सिनेसन, पशुको नस्ल सुधार, पशु बिमालगायत कार्यक्रम समेटिएका छन् ।


पर्यटन विकासतर्फ कैलाली नाला, सुकुटी नाला, मोहना नदी किनारमा साइकल ट्रयाक निर्माण, धनगढीका पर्यटकीय स्थल जोड्न करिडोर, धनगढीका तालतलैयाको विकास, संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि काम गर्ने, भादागाउँ होमस्टे प्रवद्र्धनलगायत कार्यक्रम छन् । 


त्यसैगरी सामाजिक विकासतर्फ वालबालिका, किशोर-किशोरीसँग उप-मेयर कार्यक्रम, मेयर, उपमेयर कल्याणकारी छात्रवृत्ति, उत्कृष्ट शिक्षक सम्मान, बालविकास शिक्षक, सामुदायिक सिकाइ केन्द्रका कर्मचारीलाई केन्द्रले तोकेको तलबमा अपुग रकम थप गर्ने नीति लिएको छ ।


पूर्वाधार, स्वास्थ्य, सुशासन तथा संस्थागत विकास, कानुनी मामिला तथा न्यायिक निरुपणलगायत क्षेत्राई समेट्ने गरी नीति तर्जुमा गरिएको छ । कार्यक्रममा नगरप्रमुख नृपबहादुर वडले सीमित स्रोत-साधनका बीच सबै क्षेत्रलाई समेटेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको बताए ।


उनले भने, ‘हामी छलफलमै छौँ । छुटेको विषय समेटेर लैजान्छौँ । धनगढी उप-महानगरका उप-प्रमुख भट्टले नीति तथा कार्यक्रममा नगरबासीका मागलाई स्रोत-साधनले भ्याएसम्म समेट्ने प्रयत्न गरिएको बताइन् । धनगढी उप-महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा नगरसभाका सदस्य सचिव हरिबहादुर चन्दले वार्षिक नीति, कार्यक्रम तथा बजेटमाथिको छलफल जारी रहेको जानकारी दिए ।