close

लगानी बोर्डको ४७औँ बैठकः ९७ अर्ब हाराहारी लगानी स्वीकृत 

लगानी बोर्डको ४७औँ बैठकः ९७ अर्ब हाराहारी लगानी स्वीकृत 

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी ओलीको अध्यक्षतामा लगानी बोर्डको ४७औँ बैठक मंगलबार सम्पन्न भएको छ ।


प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ रहेको तल्लो मनाङ–मस्र्याङ्दी जलविद्युत् परियोजना (१३९.२ मेगावाट) गरी २ वटा जलविद्युत् परियोजनाको कुल करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ ।

 

बैठकले सार्वजनिक÷निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क (चाइना–नेपाल फ्राइन्डसिप इन्डस्ट्रियल पार्क) को विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । 

 

बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता भारतीय कम्पनी एसजभिएन लिमिटेडसँग गरिने समझदारी–पत्रको मस्यौदा स्वीकृत गरेको छ ।


त्यसैगरी बैठकमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टता सम्बोधन गरी आवश्यक कानुनी सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 


बैठकले पश्चिम सेती र एसआर संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डसमक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ ।

 

बैठकले अरुण ३ जलविद्युत परियोजना प्रवेश मार्गअन्तर्गत छ्याङ्कुुटी–दिदिङ खण्डमा पर्ने जग्गा मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । 


लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ‘विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिससम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत भएको छ । 

 

उक्त अवसरमा प्रधानमन्त्री ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा उत्पादन सँगसँगै प्रसारण प्रणालीसमेतको निर्माण अगाडि बढाई परियोजनाको प्रभावकारी कार्यान्वयनमा आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।


उनले उत्पादित ऊर्जाको स्वदेशमै खपत बढाउन औद्योगिक विकासलाई तीव्रता दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।


बैठकमा उपप्रधान तथा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष विष्णु पौडेलले लगानी बोर्डमा पेस गरिएका प्रस्तावले मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने देखिएको बताउँदै बोर्डका निर्णयको प्रभावकारी कार्यान्वयमा ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।

 

अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना तथा संस्थागत विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका गतिविधिबारे प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराए थिए । 


उक्त अवसरमा सर्वोच्च अदालतले काममा राेक लगाउनुअघिका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, वन तथा वातावरणमन्त्री नारदमुनि राना, योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, सरकारका मुख्यसचिव शंकरदास बैरागी, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठ, आमन्त्रित सदस्य बालकृष्ण शिवाकोटीलगायत सरकारका उच्च पदस्थ अधिकारी सहभागी थिए ।