close

भरतपुर महानगरको बजेट ४ अर्ब ८१ करोड: उद्यमी युवाले  ३ वर्षसम्म ऋणको व्याज तिर्नु नपर्ने 

भरतपुर महानगरको बजेट ४ अर्ब ८१ करोड: उद्यमी युवाले  ३ वर्षसम्म ऋणको व्याज तिर्नु नपर्ने 

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

 

उपप्रमुख पार्वती शाह ठकुरीले चालु वर्षभन्दा करिव ५० लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गरिन् । चालु वर्षका लागि  महानगरले महानगरले ४ अर्ब १५ करोड ६४ लाखको बजेट ल्याएको थियो ।

 

आगामी आवको लागि आन्तरिक आयबाट एक अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन, खानी तथा खानीजन्य पदार्थ बाँडफाँडबाट प्राप्त आयसमेत) र अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट एक अर्ब ७७ करोड २९ लाख ८३ हजार रुपैयाँ प्राप्त हुने महानगरको अनुमान छ ।

 

महानगरले  केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट ३० करोड, बैंक मौज्दात १ अर्ब, मर्मत सम्भार कोषबाट ३ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समितिबाट ३ करोड जुटाउने लक्ष्य राखेको छ ।

 

महानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २ करोड रपैया बजेट विनियोजन गरेको छ भने अन्य योजनाहरुलाई ९८ करोड रुपैयाँ छुट्याइएको छ । हरेक वडालाई ७० लाखका दरले बजेट दिइएको छ ।

 

शहरी पूर्वाधार, भू-उपयोग तथा वस्ती विकासका लागि ४१ करोड छुट्याइएको छ जसमध्ये संघ तथा प्रदेशको साझेदारीमा महानगरको मुख्य प्रशासकिय भवन निर्माण गर्न १० करोड विनियोजन गरिएको छ ।

 

शिक्षामा १२ करोड ५० लाख, महानगरपालिका कोभिड कोष स्थापना गर्न एक करोड ५० लाख, अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमका लागि ९ करोड, कृषिमा ८ करोड, पशुपंक्षी विकासतर्फ ८ करोड ७० लाख रुपैयाँ छ्ट्याइएको छ ।

 

बेरोजगार युवाहरुलाई रोजगारी प्रवर्द्धन गर्न ५ लाख रुपैयासम्मको ऋणको ब्याजमा ३ वर्षसम्म शतप्रतिशत अनुदान दिइने उल्लेख छ । निजी क्षेत्रसँगको सहकार्यमा पूर्वाधार निर्माण गर्न तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।