close

हेटौंडा उपमहानगरले ल्यायाे २ अर्ब ६० करोडकाे बजेट

हेटौंडा उपमहानगरले ल्यायाे २ अर्ब ६० करोडकाे बजेट

Trulli
ADVERTISEMENT

मकवानपुर- हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको बिहीबार बसेको ९औँ नगरसभामा उपप्रमुख मीनाकुमारी लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा ६ करोड ७६ लाख रुपैयाँ बढी बजेट प्रस्तुत गरेको छ ।


हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख, सामाजिक विकासअन्तर्गत स्वास्थ्यतर्फको ससर्त र आन्तरिक बजेटतर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालनका लागि ३ करोड ७ लाख, विपद् व्यवस्थापन र वातावरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार बजेट सार्वजनिक गरेको छ ।


यस्तै, शिक्षातर्फको ससर्त र आन्तरिक बजेट कार्यक्रम सञ्चालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरिएको छ । हेटौंडा उपमहानगरले आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार विकासतर्फ एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजनाअन्तर्गत १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।


हेटौंडा उपमहानगर वडा नम्बर ४ मा निर्माण हुने बहुवर्षीय योजनाअन्तर्गत बहुउद्देश्यीय व्यापारिक भवन निर्माण प्रारम्भ गन १५ करोड, बृहत्तर चक्रपथ निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । स्वच्छ खानेपानी वितरण कार्यक्रमका लागि १ करोड ५० लाख, वडा तथा बस्ती स्तरीय पूर्वाधार योजनाका लागि ३२ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । ऊर्जा, सडक बत्ती, आवास व्यवस्था, जलस्रोत सिँचाइलगायत नगरस्तरीय पूर्वाधार आयोजना सञ्चालनका लागि १ अर्ब ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ छुट्याइएको छ ।


प्रादेशिक थोक फलफूल तथा तरकारी बजार केन्द्र निर्माणका लागि ३ करोड, कृषि र पशुपक्षी विकास कार्यक्रमका लागि क्रमशः २ करोड २४ लाख ५० हजार र वित्तीय क्षेत्रका कार्यक्रमका लागि १ करोड २७ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
गुम्बाडाँडा, कुष्माण्ड सरोवर त्रिवेणीधाम, टोनी हेगन पार्क, जुरेथुम पर्यटकीय पार्कलगायत निर्माणका लागि २ करोड १९ लाख रुपैयाँ छुट्याइएको छ ।


शिक्षक स्वर्णिम अवकास योजनाका लागि ५० लाख, दिवा खाजा कार्यक्रमका लागि विद्यालय अनुदानका लागि २ करोड ९८ लाख १ हजार, निःशुल्क पाठ्यपुस्तक अनुदानका लागि १ करोड ६३ लाख ६१ हजार, छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणका लागि ७९ लाख ५२ हजार, विशेष विद्यालयको क्रमागत भवनका लागि १ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।


कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि आवश्यक रकमको व्यवस्था गरिएको र स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति र उपकरणसहित नगर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना तथा सञ्चालनका लागि २ करोड १० लाख, डायलासिस मेसिन खरिद, प्लाजमा उत्पादनका लागि उपकरण र स्वास्थ्य उपकरण खरिदका लागि ५५ लाख, गर्भवती उत्प्रेरणा सेवा, न्यानो झोला र निःशुल्क गर्भपतन कार्यक्रमका लागि ८८ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

 

आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार, राजस्व बाँडफाँटबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड १ लाख, नगर विकास कोषको ऋण अनुदानबाट ९ करोड र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ खर्च बेहोरिनेछ ।