close

कोसीको गाउँपालिकाकाे बजेट ४८ करोड

कोसीको गाउँपालिकाकाे बजेट ४८ करोड

Trulli
ADVERTISEMENT

सुनसरी- सुनसरीको कोसी गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ का लागि ४८ करोड २ लाख ७३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

 

कोसी गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि योजना, निती तथा कार्यक्रम गाउँसभाबाट सार्वजनिक गरेको छ । गाउँपालिकाको आठौँ गाउँसभामा पालिका अध्यक्ष ऐयुब अन्सारीले वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।


कोसी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि चालू खर्चतर्फ २५ करोड ५० लाख ७३ हजार र पुँजीगत खर्चतर्फ २२ करोड ५२ लाख गरी ४८ करोड २ लाख ७३ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको हो ।


इनरुवा नगरपालिका प्रमुख राजन मेहता सहभागी गाउँसभामार्फत पालिका अध्यक्ष अन्सारीले लोकप्रिय योजनासमेत प्रस्तुत गरे ।


पूर्वाधार, गाउँमै रोजगार, कृषि र पर्यटन समृद्धिको आधार आकांक्षाका साथ आर्थिक वर्ष २०७८/०७९ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको अध्यक्ष अन्सारीले बताए ।

 

कोसी गाउँपालिकाले प्रत्येक वडामा गाउँका कच्ची सडकलाई कल्भर्ट, ह्युमपाइपसहित ग्राभेल सडकमा स्तरोन्नति गर्ने नीति लिएको छ । 


त्यसैगरी एक वडा एक गौरव योजना कार्यक्रमअन्तर्गत प्रत्येक वडामा कम्तीमा ५ करोड रुपैयाँ लागतको एक योजना पहिचान गरी कार्यान्वयन गरिने भएको छ ।


एक वडामा एक खेल मैदानको अवधारणाअनुसार गाउँपालिका क्षेत्रमा रहेका ऐलानी सार्वजनिक जग्गालाई संरक्षण गरी खेल मैदान तथा पार्कका रूपमा विकास गर्ने नीति छ । 


गाउँपालिकाले गरेको गाई भैंसी सुन्दरी प्रतियोगितालाई निरन्तरता दिँदै किसानको मनोबल उच्च गर्न सहभागी कृषकलाई पुरस्कारसमेत वितरण गरिने योजना ल्याएको छ ।


कृषि क्षेत्रमा नेपालकै नमुना कार्यक्रमको रूपमा छनोट भएको र कृषिको आधुनिकीकरणमा समेत सहयोग पुग्ने भएकाले योजनालाई निरन्तरता दिइएको अन्सारीको भनाइ छ । 


गाउँपालिकाले दलित समुदायका मुसहर, मरिक (डोम), राम (चमार) र आदिवासी जनजातिका उराँव समुदायलाई गरी ४ जातिलाई विद्युत् महसुलमा २५ प्रतिशत छुट दिने भएको छ ।

 

वर्षभर उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै नीति तथा कार्यक्रम अवसरमा कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, नायब सुब्बा राजकिशोर मेहता र प्राविधिक मुन्ना ठाकुर पुरस्कृत भएका छन् ।


त्यसैगरी गाउँपालिकाभित्र रहेको वडामध्ये सबैभन्दा बढी कर संकलन गरेको भन्दै वडा नम्बर १ वडा कार्यालयका वडाध्यक्ष राजु साहलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।