close

जनकपुरधाम उपमहानगरपालिकाको बजेट १ अर्ब ५३ करोड, प्राथमिकतामै परेन कोरोना नियन्त्रण

जनकपुरधाम उपमहानगरपालिकाको बजेट १ अर्ब ५३ करोड, प्राथमिकतामै परेन कोरोना नियन्त्रण

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरको सभाकक्षमा भएको नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

 

आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा उपमहानगरले चालु तर्फ ६२.२३ प्रतिशत अर्थात ९५ करोड ७५ लाख ६१ हजार र पुजिगत तर्फ ३७.७७ प्रतिशत अर्थात ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले ल्याएको बजेटमा चालु खर्च बढी हुनुले विकास निर्माणका कार्यलाई वास्ता नै नगरिएको जस्तो देखिएको अर्थविदहरुको भनाई छ । 

 

बजेटमा आगामी आर्थिक वर्ष सवारी साधन खरिदको लागि ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सवारी साधन मर्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको हो । आगामी आर्थिक वर्षको बजेटमा पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ५० लाख रकम विनियोजन गरेको हो ।

 

आगामी आर्थिक वर्षका लागि युवाहरुलाई सीप विकास तालिमका लागि ९९ लाख, कार्यक्रम खर्च शीर्षकमा ५ करोड ३८ लाख ७१ हजार, सार्वजनिक सम्पत्ति मर्मतका लागि २ करोड ५५ लाख, विद्युत संरचना निर्माणका ५ करोड ६१ लाख, अन्य सार्वजनिक निर्माण शीर्षकमा १ करोड बजेट छुट्याइएको छ । 

 

नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेट बारे केही खुलाइएको छैन । 

 

त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि बजेट उल्लेख छैन भने सो शीर्षकमा चालु आर्थिक वर्षमा कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन ।