close

माछापुच्छ्रेले सडकमै पोख्यो बजेट

माछापुच्छ्रेले सडकमै पोख्यो बजेट

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर नयाँ बजेट बनाएको छ । सडक सन्जालको विकास र स्तरोन्नतिका लागि मुख्य प्राथमिकताका साथ बजेट विनियोजन गरिएको हो ।
वडा कार्यालयसम्मको सडक, वडाबाट गाउँ–गाउँ जोड्ने र समग्र गाउँपालिकाका सडकको गुणस्तर वृद्धि गर्न झन्डै १३ करोड रुपैयाँ विनियोजन गरिएको हो ।


१२ करोड ३५ लाख रुपैयाँ सडकको क्षेत्रमा मात्रै लगानी हुँदै छ । पालिकाले आउँदो वर्षका लागि ५६ करोड ५८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिकामा १५ किलोमिटर सडक कालोपत्रे भएको छ भने २१ किमि ग्राभेल सकिएको छ । अहिले प्रशासकीय भवन निर्माण धमाधम भइरहेको छ ।

यसका लागि १ करोड ५० लाख रुपैयाँ थप बजेट छुट्याइएको छ ।  माछापुच्छ्रेले संघ सरकारको वित्तीय समानीकरण अनुदान १० करोड ७ लाख, राजस्व बाँडफाँट ८ करोड ७४ लाख, विशेष अनुदान १ करोड ६२ लाख, समपुरक अनुदान १ करोड ३७ लाख, ससर्त अनुदान २४ करोड ९७ लाख रुपैयाँ पाएको छ ।


प्रदेश सरकारबाट वित्तिय समानीकरणतर्फ १ करोड १३ लाख, राजस्व बाँडफाँट ५५ लाख ८२ हजार, समपुरक अनुदान १ करोड र सामाजिक सुरक्षातर्फ १४ करोड १७ लाख रुपैयाँ अनुदान प्राप्त हुने पालिकाको अनुमान छ ।
यो वर्ष झन्डै ५ करोड रुपैयाँ खर्च नहुने देखिएको छ । त्यसलाई पनि आगामी वर्षका लागि अख्तियारी सारिएको छ । गाउँपालिकाले २ करोड २८ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको छ । 


बजेटमध्ये प्रशासनिक खर्च १० करोड ९२ रुपैयाँ हुने अनुमान गरिएको छ । ससर्त अनुदानबाट शिक्षा, स्वास्थ्य, कृषि, पशु, कर्मचारीसहित विभिन्न शीर्षकमा २४ करोड ९७ लाख ६, सामाजिक सुरक्षातर्फ १४ करोड १७ लाख १० हजार र पुँजीगततर्फ २१ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।


यो वर्ष पालिका भवन निर्माणका लागि डेढ करोड विनियोजन गरिएको छ भने सडक मर्मतका लागि मर्मतसम्भार कोष बनाएर ७० लाख रुपैयाँ राखिएको छ । समपुरक कोषमा ४ करोड ५० लाख छुट्याएको छ ।
दूध उत्पादक किसानलाई अनुदान दिन १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसबाहेक कृषि र पशु विकासका लागि १ करोड ५ लाख, पर्यटन पदमार्गको विकास गर्न २९ लाख ४७ हजार, कोभिड नियन्त्रणका लागि ४९ लाख, शिक्षा विकासमा ९४ लाख, स्वास्थ्यमा ८९ लाख रुपैयाँ छुट्याइएको छ । 


चालू खर्चतर्फ तलब भत्ता, प्रशासनिक खर्च, ससर्त अनुदानमा बजेट छुट्याइएको छ भने पुँजीगतअन्तर्गत पूर्वाधार विकासमा १४ करोड २२ लाख, सामाजिक विकासमा ५ करोड १७ लाख, आर्थिक विकासमा १ करोड ३८ लाख, वन वातावरण तथा विपद् व्यवस्थापन गर्न ४८ लाख ९९ हजार, सुशासन, संस्थागत विकास गर्न २८ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिईन् । 

खासगरी कोरोना नियन्त्रण र यसबाट सिर्जित समस्या समाधानका लागि बजेट कार्यान्वयन गर्ने पालिकाले जनाएको छ । माछापुच्छ्रेले आफ्नो छुट्टै स्थानीय पाठ्यक्रम तयार गरेको छ । 

आउँदो वर्ष १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने, कृषि र सडकमा विशेष जोड दिइने पालिका अध्यक्ष कर्णबहादुर गुरुङ बताउँछन् ।