close

यस्तो छ खोटाङका पालिकाको नीति तथा कार्यक्रम र बजेट 

यस्तो छ खोटाङका पालिकाको नीति तथा कार्यक्रम र बजेट 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको साकेला गाउँपालिकाले पूर्ण अर्गानिक कृषि पालिका बनाउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँसभामार्फत साकेलाले रासायनिक मल तथा विषादिको प्रयोगलाई शून्य गर्दै अर्गानिक कृषि उत्पादनमार्फत पूर्ण अर्गानिक कृषि पालिकाको रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पास गरेको हो । 

 

पूर्ण अर्गानिक कृषि पालिका बनाउने लक्ष्यका साथ साकेलाले कृषि उत्पादनका क्रममा प्रांगारिक मल तथा जैविक विषादिको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने जनाएको छ । 


गाउँपालिकाले परम्परागत रुपमा गरिँदै आएको निर्वाहमुखी खेती प्रणालीमा सुधार गर्न कृषि, पशु तथा फलफूलको पकेट क्षेत्र निर्धारण गरी सामुहिक खेती, भेगीय खेती प्रणाली, एकीकृत खेती प्रणाली तथा सहकारीताको विकास गर्ने, लोपोन्मुख अवस्थामा रहेका र अन्य रैथाने जातका कृषि तथा पशु उपजहरुको खोजी, संरक्षण, विकास तथा बजारीकरणका लागि बिउ उत्पादन गर्न आवश्यक मात्रामा कृषि तथा पशु श्रोत केन्द्रको स्थापना तथा सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । 

 

यस्तै, कृषि उपज खाद्यान्नको भण्डारका लागि सोलार ड्रायर, रष्टिक स्टोर, सोलार स्टोर जस्ता प्राविधिको प्रवद्र्धन तथा विकास गर्ने, स्थानीय सामग्रीको अधिकतम उपयोग गरी कम मूल्यामासौर्य विस्कुन निर्माण गर्न अनुसन्धान, निर्माण तथा प्रदर्शन गर्ने, गाउँपालिकामा उत्पादन भएका कृषि उपज तथा अन्य वस्तुको बजारीकरणका लागि सम्वन्धित निकायसँग आवश्यक समन्वय गर्ने, खाद्यान्न, तरकारी, फलफूल तथा मसलाजन्य कृषि उपजको प्रशोधनका लागि आवश्यक तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । 

 

लोप भइसकेका तथा लोपोन्मुख रैथाने प्रजातीका पशु, पंक्षी, अन्नवाली, सागसव्जी, दलहन, तेलहन, फलफूल तथा मसलाजन्य कृषि उपजहरुको खोजी, संरक्षण तथा विकासका लागि उचित स्थानहरुको खोजी गरी श्रोत केन्द्रको स्थापना र सञ्चालन गर्ने, नियमित श्रमबजारमा प्रवेश गर्ने तथा कोभिड-१९ का कारण बैदेसिक रोजगारबाट फर्किने युवा श्रमशक्ति तथा कोभिड-१९ का कारण बैदेसिक रोजगारबाट फर्किने युवा श्रमशक्तिलाई कृषि उत्पादनसँग जोड्ने नीति तथा कार्यक्रममा समावेश छ । 


आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै परम्परागत रुपमा सञ्चालन हुँदैआएका पैदल मार्गलाई स्तरोन्नती गर्ने, चखेवाभञ्ज्याङ-मपारुङभीर-मानेभञ्ज्याङ-पानधारे-चखेवाभञ्ज्याङ-टेम्के र मानेभञ्ज्याङ-टेम्के जैविक पदमार्गको निर्माण तथा विकास गर्ने, नासपातीको हव बनाउन गाउँपालिकाभित्र निर्माण हुने सडकको दायाँ-वायाँ नासपाती रोप्ने, मानिसको फेरिएको जीवनशैलीको कारण बाँझिदै गएको जमिन उपयोग गर्न जग्गाधनी र अन्य सरोकारवालासँग छलफल गर्ने, गाउँपालिकाको अतिविपन्न घर परिवार पहिचान गरी वडागत रुपमा बढीमा एक वटा सुपथ मूल्याको खाद्य सहकारी पसल सञ्चालन गर्न पहल गर्ने भनिएको छ । 

 

यस्तै, पालिका स्तरिय अस्पताल स्थापना तथा सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग पहल गर्ने, प्राविधिक तथा अप्राविधिक शिक्षण संस्थाको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा जोड दिने, सवै सरकारी तथा सामुदायीक विद्यालयमा ऐच्छिक रुपमा अंग्रेजी माध्यमबाट पठन-पाठनको व्यवस्था मिलाउने, युवा वर्गले ज्येष्ठ नागरिकसँग शिक्षा लिन तथा ज्येष्ठ नागरिकको एक्लोपना कमगर्न उपयुक्त स्थानको खोजी गरी ज्येष्ठ नागरिकको भेटघाट चौतारीको बनाउने, खेलकुदको विकासका लागि कवर्डहल, भलिबल, फुटबल खेल मैदान निर्माण एवं प्रशिक्षक तथा खेल सामग्रीको प्रवन्ध गर्ने, लोपोन्मुख पञ्चेवाजा, नौमती बाजा, विनायो, मुर्चुङ्गा, रैथाने वाद्यवादन लगायत स्थानीय गीत संगीतको खोजी, संरक्षण, विकास तथा बजारीकरण गर्ने गाउँपालिकाले जनाएको छ । 

 

विष तथा करेन्ट हालेर माछा मार्न रोक 

साकेला गाउँपालिका-३ खिदिमास्थित तावाभञ्ज्याङ क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पुर्वाधार निर्माण गर्न संघीय सरकार, प्रदेश सरकार लगायतसँग समन्वय गर्ने, स्थानीय खोला, खोल्सी तथा चिस्यानमा पाइने स्थानीय/रैथाने जातका जलचर/उभयचरको संरक्षण, संवद्र्धन तथा विकास गर्ने, स्थानीय खोला खोल्सीमा विष तथा करेन्ट हालेर माछा मार्ने कार्यलाई पूर्णरुपमा रोक लगाउन छिमेकी स्थानीय तहसँग समन्वय गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको छ । 

 

खोटेहाङको प्राथमिकता सडक र विद्युत  

खोटेहाङ गाउँपालिकाले सडक, विद्युत, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवद्र्धन, लक्षित कार्यक्रम, युवा तथा खेलकुद, विपद व्यवस्थापन तथा सुशासन तथा संस्थागत विकास लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छ । 

 

आर्थिक विकास र गरिवी निवारणमा सहयोग पुग्ने, उत्पादनमुलक तथा छिटो प्रतिफल दिने, जनताको जीवनस्तर सुधार गर्ने, आम्दानी र रोजगार बढ्ने, स्थानीय श्रोत साधन र सीपको अधिकतम प्रयोग हुने, महिला, वालबालिका तथा पिछडिएको वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, दिगो विकास र वातावरण संरक्षण संवद्र्धनमा सघाउ पुग्ने विषयलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 


वार्षिक आय व्यायको संक्षिप्त अनुमानित विवरण सार्वजनिक गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले सडक विस्तार, मर्मत, सम्भार तथा स्तरोन्नतीका लागि २ करोड ४७ लाख, विद्युतीकरणका लागि ४० लाख, कृषि तथा पशु सेवातर्फ ७८ लाख ९२ हजार, पर्यटन विकासका लागि ८१ लाख ५० हजार विनियोजन गरेको जानकारी दिएका छन् । 

 

यस्तै, अध्यक्ष/उपाध्यक्ष योजनालाई विकास निर्माणमा जोड्नेगरी अध्यक्ष/उपाध्यक्ष रोजगार विकास योजनामा ८० लाख, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला, दलित, जनजाती, फरक क्षमता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका लगायतका क्षेत्रमा २ करोड ९३ लाख ३० हजार, स्थानीय पाठ्यक्रम निर्माण तथा छपाइका लागि २५ लाख, विपद व्यवस्थापन कोषमा १५ लाख, एम्बूलेन्स खरिदका लागि १२ लाख, भाषा, कला, साहित्य, संस्कृतिा संरक्षण, सम्वद्र्धन तथा विकासका लागि ५ लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । 

 

उच्च शिक्षा छात्रबृत्तिका लागि बजेट 

खोटेहाङले उच्च शिक्षा छात्रबृत्तिका लागि ५ लाख विनियोजन गरेको छ । उच्च शिक्षा हासिल गर्ने छात्र/छात्राको प्रोत्साहनका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि सुरु गरेको उच्च शिक्षा छात्रबृत्तिका कार्यक्रमलाई निरन्तरता दिएको हो । 

 

एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहन स्वरुव छात्रवृत्ति प्रदान गर्ने नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले चालु आर्थिक वर्ष खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीका विधावारिधि शोधकर्ता बिष्णुबहादुर कार्कीलाई छात्रवृत्ति स्वरुप १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । 

 

गाउँपालिकाले एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति स्वरुप जनही ५५ हजार ५ सय ५५ र पिएचडी अध्ययन गर्ने विद्यार्थीलाई जनही १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ । पिएचडी र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै बिश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड छ । 

 

बाँझो जमिनमा खेती गर्ने कृषकलाई अनुदान 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँझो जमिनमा खेती गर्ने कृषकलाई नगद अनुदान उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ । नगरसभाले नगरको ‘बाँझो जमिन उपयोग कार्यविधि’ बमोजिम खेतीयोग्य बाँझो जमिनमा खेती गर्ने किसानको प्रोत्साहनमा नीति तथा कार्यक्रम ल्याएको हो । 

 

खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नका लागि बाँझो जमिनमा खाद्यान्न बाली बगाए वापत प्रतिरोपनी १ हजार ५ सय, फलफूल खेती गरे वापत २ हजार ५ सय, मसलाबाली खेती गरे वापत २ हजार ५ सय, तरकारी खेती गरेवापत ५ हजार नगद अनुदान उपलब्ध गराइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

१५ वडा रहेको नगरपालिकाले वर्षौँदेखि कृषि पेशामा आवद्ध किसानको सम्मानमा ‘उत्पादनमा आधारित अनुदान’ कार्यक्रम अवलम्बन गर्ने भएको छ ।  खाद्यान्न बालीको उत्पादनमा आबद्ध कृषकको प्रोत्साहनका लागि आगामी आर्थिक वर्ष ७० मुरी धान, ८० मुरी मकै तथा ८० मुरी आलु उत्पादन गर्ने कृषकलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने नीति तथा कार्यक्रम ल्याएको हो । 

 

नगरको नीति तथा कार्यक्रममा ‘प्राङ्गारिक नगर हाम्रो अभियान’लाई प्रोत्साहन गर्न जैविक मल उत्पादन र गोठसुधार कार्यक्रममा अनुदानको व्यवस्था गर्ने, बन्यजन्तुबाट कृषकले व्यहोर्नु परेको हैरानीलाई मध्यनजर गरी बाँदर नियन्त्रण तथा व्यवस्थापनको उचित बिधि तथा प्रबिधी खोजी गरी व्यवस्थापनका लागि पहल गर्ने लगायत उल्लेख छ । 


यस्तै, नगरपालिकाले नगरभित्रका कृषि विषय अध्यापन गराउने विद्यालयमा अध्ययन गरी सोही विषयमा उच्च शिक्षा हासिल गर्न चाहने ३ जना छात्र/छात्रालाई वार्षिक छात्रबृत्तिको व्यवस्था गर्ने भएको छ । 


कृषि तथा वन विज्ञान विश्व विद्यालय, रामपुर, चितवन र त्रिभुवन विश्व विद्यालय अन्तर्गत ईन्स्टिच्यूट अफ एग्रिकल्चर एण्ड एनिमल साईन्ससँग एमओयू गरेर योग्यताक्रमका आधारमा तीन जनालाई वार्षिक छात्रवृत्तिको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । 

 

आगामी आर्थिक वर्षबाट किसान सूचीकरण सुरुवात गरी डिजिटल किसान परिचयपत्र वितरण गर्ने, कृषि तथ्यांक संकलन कार्यक्रम कार्यान्वयनमा ल्याउने, प्राकृतिक विपत्तिबाट कृषि बालीनालीमा हुने क्षतिको सम्बोधन गर्न कृषि तथा पशुपन्छी बीमालाई प्राथमिकतामा राख्दै वडा स्तरीय घुम्ती अभियान संचालन गर्ने जनाइएको छ । 


यस्तै, बुईपामा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण हुने यलम्बरको मूर्ति निर्माण कार्यलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाउने, रोजगार प्रबद्र्धनका कार्यक्रमलाई निरन्तरता दिने, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको सुरुवात गर्ने नीति तथा कार्यक्रममा समावेस छ । 


प्रअ शैक्षिक सुधार अभियानकर्ता 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष नमुना विद्यालय, विशेष विद्यालयको भवन निर्माण, ल्याव व्यवस्थापन लगायतको कार्यलाई निरन्तरता दिने भएको छ । 

 

विद्यार्थीले प्राप्त गरेको सिकाई उपलब्धिको आधारमा उत्कृष्ट तथा दक्ष शिक्षक र उत्कृष्ट शिक्षक छनौट गरी सम्मान र पुरस्कारको व्यवस्था गर्ने, विद्यार्थीको सिकाई उपलब्धि, विद्यालय सरसफाई, विद्यार्थी संख्या, लगायत चुस्त र दुरुस्त शैक्षिक, भौतिक, आर्थिक र मानवीय व्यवस्थाको आधारमा प्रधानाध्यापकलाई सम्मान र पुरस्कृत गर्ने, लगातार ५ वर्षसम्म सम्मान/पुरस्कृत हुन सफल प्रधानाध्यापकलाई आवश्यक सुविधा प्रदान गरी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा अभियानकर्ता घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । 


यस्तै, दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानलाई जिल्लाकै व्यवस्थित रंगशालाको रुपमा विकास गर्ने, ग्रास रुट फुटबल कार्यक्रम लागू गर्ने, उप-प्रमुखसँग महिला कार्यक्रमलाई निरन्तरता दिने, सबै खाले हिंसा र विभेद बिरुद्धमा विभिन्न अभियानहरू संचालन गर्ने नगरपालिकाले जनाएको छ । 


उत्कृष्ट अंक ल्याउने एक छात्रालाई निःशुल्क नर्सिङ अध्ययन 

सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक ल्याएर नर्सिङ अध्ययन गर्न चाहने एक जना छात्रालाई निःशुल्क नर्सिङ अध्ययनको व्यवस्था गर्ने, नगरपालिका भित्र बसोबास गरी दिक्तेल बहुमुखी क्याम्पसमा स्नातक तह र सो भन्दा माथिल्लो तह अध्ययन गर्न चाहने दलित जेहेन्दार ५/५ जना छात्र/छात्रालाई मेरिट लिस्टको आधारमा वार्षिक छात्रवृत्ती प्रदान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । 

 

आदिबासी जनजातिको परम्परागत भाषा, संस्कृति, लिपीको संरक्षण प्रवर्द्धन गर्ने, नयाँ ट्र्याक ओपनलाई निरुत्साहित गर्दै यसअघि खनिएका सडकको स्तरोन्नती गरी नगर यातायात सञ्चालन गर्ने गराउने, श्रोत कम भएका ठाउँमा थोपा सिँचाई तथा प्लास्टिक पोखरीको व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने, वन पैदावार उपयोग, जैविक विविधता संरक्षण, वातावरण संरक्षण सम्बन्धी नगरस्तरीय नीति कानून तर्जुमा गरी लागू गर्ने, जमिनको उपयोग नीति अन्तर्गत निजी, बाँझो तथा कबुलियती बनमा जडिबुटी तथा अन्य उच्च मूल्यका मसलाजन्य उत्पादन कार्यको सुरुवात गर्ने नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । 


हलेसीमा ‘एक घर एक करेसाबारी’ 


हलेसी तुवाचुङ नगरपालिकाले आगामी आर्थिक वर्षबाट आर्थिक विकासतर्फ ‘एक घर एक करेसाबारी’ अनिवार्य लागू गर्ने भएको छ ।

 

हलेसी तुवाचुङले जैविक कृषि उत्पादन र पशुपन्छीजन्य उत्पादन बढाइ व्यवसायिक र औधोगिकीकरण गर्न टेवा पुग्नेगरी कार्यक्रम सञ्चालन गर्ने, कोभिड-१९ को महामारीका कारण वैदेसिक रोजगारबाट फर्केका नागरिकलाई व्यवसायीक कृषि, स्थानीय पुर्वाधार, साना तथा मझौला उद्योग, उत्पादनमुलक उद्योग, निर्माण र सेवा क्षेत्रमा परिचालन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । 

 

यस्तै, भूमी बैंकको अवधारणालाई अवलम्बन गरी खेतीयोग्य जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने, वाली तथा पशु विमा कार्यक्रम कार्यान्वयन गर्ने, नगरमा भएको सार्वजनिक जग्गामा केरा खेती गर्न प्र्रोत्साहन गर्ने, ‘एक वडा एक कृषि/पशु पकेट क्षेत्र’ निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने, जलवायुमैत्री कृषि प्रणालीमा जोड दिने, प्रत्येक वडामा कृषिजन्य वस्तुको संकलन केन्द्र स्थापना गर्ने, बाँझो जग्गामा कागती, आँप, लिची, सुन्तला, कफी, ड्रागन फ्रुट जस्ता नगदेबाली खेती गरेमा नगद प्रोत्साहन प्रदान गर्ने नीति तथा कार्यक्रम ल्याइएको जनाइएको छ । 

 


गहत र बदामको प्रवर्द्धन गरिने 

पर्यटनतर्फ पर्यटन क्षेत्रको विकासका लागि होमस्टे सञ्चालनमा ल्याउने, स्थानीय भाषा, लिपी, साहित्य र कलालाई प्राथमिकताका साथ संरक्षण र प्रवद्र्धन गर्ने, बृहत हलेसी गुरुयोजनाका निम्ति संघ, प्रदेश र स्थानीय तह र सरोकारवालासँग समनवय गर्ने लगायत उल्लेख छ ।

 

 उद्योग एवं बाणिज्यतर्फ रातो र कालो गहत, बदाम र स्थानीय उत्पादन ढाका, खाँडी जस्ता उत्पादनलाई आगन्तुकलाई मायाँको चिनो र कोसेसी स्वरुप विक्री/वितरणको व्यवस्था मिलाइ प्रवर्द्धन गर्ने, सामाजिक विकासतर्फ बृहत सुक्खा क्षेत्र खानेपानी आयोजनालाई आवश्यक समन्वय गरी यस आर्थिक वर्षमा सम्पन्न गर्ने भनिएको छ । 

 

यस्तै, चाम्लिङ, वाम्बुले र तिलुङ भाषाको स्थानीय पाठ्यक्रम निर्माणका लागि गठित कार्यदललाई गति दिने, ‘एक विद्यालय एक पुस्तकालय’ नीति व्यवस्थित गर्दै जाने, नगर शिक्षकलाई निरन्तरता दिने, सवै तहको विद्यालयमा यस आर्थिक वर्षमा इन्टरनेट, ल्यापटप, कम्प्यूटर र प्रिन्टरको व्यवस्था गरी प्रविधिमैत्री बनाउने, चाम्लिङ, वाम्बुले, तिलुङ र मगर भाषा कक्षा सञ्चालन गर्ने विद्यालयलाई एकमुष्ट अनुदान दिइ प्रोत्साहित गर्ने नगरपालिकाले जनाएको छ ।

 

गर्भवती, सुत्केरी महिलासँग स्वास्थ्य अवस्था बुझ्न फोनिङ कार्यक्रम गर्दै शुन्य होम डेलीभरी वडा घोषणा गर्ने, गम्भीर प्रकृतिका रोगको उपचारार्थ सहयोग कार्यविधि बमोजिम कार्यान्वयन प्रकृयालाई निरन्तरता दिइने, सडक बालबालिका, आमा बुवा गुमाएका, असहाय र अनाथ बालबालिकालाई उचित स्याहार सुसारको व्यवस्था मिलाउने, आमा समुहका लागि बिउ पुँजी घुम्ती कोष कार्यक्रमलाई निरन्तरता दिने, ‘एक वडा एक महिला सहकारी’लाई निरन्तरता दिने, वाल बिवाहमुक्त नगर घोषणा गर्न जोड दिने, कोसेली घरको निर्माण गरी स्थानीय उत्पादित वस्तुलाई विक्री वितरणको व्यवस्था मिलाउने, आगामी आर्थिक वर्ष उज्यालो नगर घोषणा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 


चाम्लिङ, वाम्बुले र तिलुङ कामकाजी भाषा 

‘एक पालिका एक खेलमैदान’को अवधारणा अनुरुप अन्तर्राष्ट्रिय मापदण्डको खेलमैदान निर्माणको कार्यलाई पूणता दिइने, ‘एक वडा एक खेलमैदान’ निर्माण गर्ने, किरातीको भाषा, संस्कार, संस्कृतिको लागि अध्ययन अनुसन्धान गरी सांस्कृतिक नगरपालिकाको रुपमा परिचित गराउने, नगरपालिकाको कामकाजमा चाम्लिङ भाषालाई निरन्तरता दिने, हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवामा वाम्बुले तथा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा तिलुङ भाषालाई कामकाजी मान्यता निरन्तरता दिने, त्यी वडाको लेटरहेडमा सोही भाषाको लिपीको प्रयोगलाई निरन्तरता दिने, ऐतिहासिक कागजात तथा दस्तावेजहरू संकलन गरी पुस्तक प्रकाशन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । 


स्थानीय सञ्चार माध्यमलाई लोकल्याणकारी विज्ञापन 

नगरपालिकाले स्थानीय सञ्चार माध्यमलाई लोकल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाले नगरसभामार्फत स्थानीय छापा तथा विद्युतीय सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याएको हो । 

 

यस्तै, नगरपालिकाबाट राष्ट्रिय स्तरका दैनिक पत्रिकामा प्रकाशन हुने सूचना तथा विज्ञापन प्रकाशनका लागि नगर वा जिल्लाभित्रका विज्ञापन एजेन्सिलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । हालसम्म स्थानीय तहको सूचना तथा विज्ञापन कमिसनमा कर्मचारी वा स्वयं जनप्रतिनिले नै एजेन्सीमार्फत प्रकाशन गर्ने गरेका छन् । 

 

जिल्लाका १० स्थानीय तहमध्ये लोककल्याणकारी विज्ञापन तथा सूचना प्रकाशनका लागि जिल्लाकै मिडियालाई उपलव्ध गराउने नीति तथा कार्यक्रम ल्याउनमा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी मात्र अग्रसर देखिएका छन् । 

 

स्थानीय तहको सार्वजनिक महत्वका सूचना प्रकाशन गरेवापत नियमित भुक्तानी लिन कठिनाइ झेलिरहेका पत्रकारलाई दुई नगरपालिकाको नीति तथा कार्यक्रमले केही उत्साहित बनाएको छ । यद्यपी, नीति तथा कार्यक्रमलाई कार्यान्वयनमा नल्याएसम्म पत्रकारले उत्साहित हुनपर्ने अवस्था नभएको बरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । 

 

दिप्रुङ चुईचुम्मा ५५ कटेका पत्रकारलाई भत्ता 

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५५ वर्ष उमेर नाघेका पत्रकारलाई प्रोत्साहन भत्ता दिने नीति तथा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । 

 

५५ वर्ष उमेर पुरा गरेका ज्येष्ठ पत्रकार वा नेपाल पत्रकार महासंघको सदस्यता लिएको २० वर्ष पुरा गरेका पत्रकारलाई मासिक दुई हजार प्रोत्साहन भत्ता उपलव्ध गराउने नीति तथा कार्यक्रमलाई नै दिप्रुङले निरन्तरता दिएको हो । 

 

चालु आर्थिक वर्षभित्रै मापदण्ड पुगेका पत्रकारलाई प्रोत्साहन भत्ता उपलव्ध गराउन सुरु गरिने दिप्रुङ चुईचुम्मा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सो मापदण्ड अनुसार जिल्लाका बरिष्ठ पत्रकार कृष्ण आचार्यले मात्र प्रोत्साहन भत्ता पाउने छन् ।