close

नमोबुद्धको बजेट ६५ करोड ५९ लाख (भिडियो खबर)

नमोबुद्धको बजेट ६५ करोड ५९ लाख (भिडियो खबर)

ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९का लागि ६५ करोड ५९ लाखको बजेट सार्वजनिक गरेको छ । कोरोना रोकथाम देखि किसान र युवा लक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । नयाँ रोचक कार्यक्रम समावेश गर्दै नगरले व्यक्तित्व विकासमा अधिक जोड दिएको छ ।

 

कृषक लक्षित योजना र कार्यक्रममा बढी जोड दिएको पालिकाले शीत भण्डार र पशुपंक्षी बधाशाला देखि कोल्डस्टोर स्थापना गर्ने जनाएको छ । शिक्षा, स्वास्थ्य क्षेत्रलाई मुख्य एजेन्डा बनाएको पालिकाले अपेक्षाकृत रूपमा जनमुखी बजेट ल्याएको छ । 

 

बिहीबार आयोजित नगरपालिकाको दशौं नगरसभामा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले ६५ करोड ५९ लाख ४७ हजार ५ सय ३० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । जसमध्ये चालुतर्फ ५० करोड ७७ लाख र पुँजीगततर्फ १४ करोड ८२ लाख ४७ हजार ५ सय ३० रुपैयाँ खर्च प्रस्ताव गरिएको छ ।

 

नगरसभा बैठकमा बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख तिमल्सिनाले स्थानीय सरकार, उत्तरदायी सरकार, विकाशशील सरकार, जनमुखी सरकार, बलियो सरकार राष्ट्र समृद्धि सरकार हामी सबैको उन्नतिको आधार भन्ने मान्यतासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार पारिएको बताए । 
नगरपालिकाका मुख्य कार्यक्रमहरू 
–‘किसानका गरा, सधैं हराभरा’ कार्यक्रम लागु गरिने
–‘मेरो कृषि, मेरो पौरख’ कार्यक्रम लागु गरिने
–सबै वडामा पशु तथा कृषि बिमा कार्यक्रम विस्तार गर्ने
–‘एक गाउँ, एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने
– शीत भण्डारको व्यवस्था गर्ने
– आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापना गरिने
–डिजिटल कृषि, कृषकको हातमा सूचना प्रणाली कार्यक्रम सञ्चालन गर्ने
–नमोबुद्ध सिड बैंक स्थापना गर्ने 
–पाडी संरक्षण कार्यक्रम सञ्चालन गर्ने
–‘पर्यटन उद्यमीको हात, नमोबुद्धको साथ’ नारासहित पर्यटन प्रवद्र्धन गर्ने
–‘पहिलो अक्षर ‘क’ लेखौं आफ्नै सामूदायिक विद्यालयबाट’ नारा लागु गर्ने

यि बाहेक नगरपालिकाले सुत्केरी हुनेलाई वडा कार्यालयमार्फत निःशुल्क एम्बुलेन्स वा अन्य यातायातको व्यवस्था गर्ने, ‘एक घर एक आयुर्वेदिक औषधीको विरुवा रोपन’ कार्यक्रम सञ्चालन गर्ने,  सुत्केरीसँग उपमेयर तथा गर्भवती पोषण कार्यक्रम सञ्चालन गर्ने नीति पनि नमोबुद्ध नगरपालिकाले लिएको छ । यस्तै, चालु आर्थिक वर्षमा ७१ करोड ५१ लाख ९९ हजार २ सय ७० रुपैयाँ बिनियोजन भएकोमा हालसम्म ३८ करोड ७७ लाख रुपैयाँ खर्च भएको नगर उपप्रमुखले जानकारी दिइन् ।
 

सार्वजनिक भएको बजेट मुख्यतः कृषिलाई आधुनिकीकरण गर्न बढी केन्द्रित रहेको प्रमुख प्रशासकीय अधिकृतले दावी गरेका छन् । बजेटमा समावेश भएका विषयलाई कार्यान्वयनमा लग्न चुनौती भएपनि नगरको विकासका लागि सहकार्य गरेर अघि बढ्ने दावी अधिकृतको छ । अन्तिम बजेट सार्वजनिक गरिरहँदा नगरपालिकाले यसअघिका अधिकांश योजना पूरा गरेको दावी नगरपालिकाका वडाध्यक्षको छ । 

यसवर्ष पालिकाले महिला र बालबालिकामैत्री नीति तथा कार्यक्रमलाई जोड दिँदै नमोबुद्धले दुई छोरी मात्र जन्माएर स्थायी परिवारनियोजन गर्ने दम्पतीलाई सम्मान गर्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्षभित्र सबै वडाको आफ्नै प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने तथा २० बर्षे दीर्घकालिन सोचका साथ एकीकृत नगर विकास योजना सञ्चालन गर्ने पनि तयारी गरिएको छ ।