close

नगर विकास कोषको पाँच वटा आयोजनासँग ऋण सम्झौता

नगर विकास कोषको पाँच वटा आयोजनासँग ऋण सम्झौता

Trulli
ADVERTISEMENT

काठमाडौं- नगर विकास कोषले विभिन्न तीन वटा खानेपानी तथा सरसफाइ आयोजना, एउटा बसपार्क र एउटा बहुउद्देश्यीय कम्प्लेक्स निर्माणका लागि पाँच वटा आयाेजनासँग ऋण लगानी सम्झौता गरेको छ । कोषले भक्तपुरको दधिकोट खानेपानी तथा सरसफाइ आयोजनामा १४ करोड ६६ लाख ११ हजार रुपैयाँ ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न गरेको छ ।


सहरी खानेपानी आपूर्ति तथा सरसफाइ क्षेत्र आयोजनाअन्तर्गत दधिकोट खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको योजना स्वीकृत भएर निर्माणको चरणमा गएपछि कोषले ऋण सम्झौता गरेको हो ।

 

यस्तै, कोषले टंकी सिनवारी सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना मोरङसँग ५ करोड ५१ लाख ८ हजार रुपैयाँ ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ । आयोजनाअन्तर्गत टंकी सिनवारी सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) को लागत २७ करोड ५५ लाख ४० हजार रुपैयाँ रहेको छ ।


यसमा २० प्रतिशत रकम ५ करोड ५१ लाख ८ हजार रुपैयाँ ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र आयोजनाका अध्यक्ष नवराज विष्टबीच १४ असारमा ऋण सम्झौता सम्पन्न भएको हो । 


टंकी सिनवारी सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र ५ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ । यो आयोजनाले बुँढीगंगा गाउँपालिका मोरङका वडा नम्बर १, २, ३, ४ र ५ का २५८९५ जनसंख्यालाई ८ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ ।

 

यस्तै, कोषले पाल्पाको प्रभास सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनामा १ करोड ५० लाख रुपैयाँ ऋण लगानीका लागि सम्झौता गरेको जनाएको छ । आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) को लागत ११ करोड ७१ लाख ५७ हजारको १२.८ रकम १ करोड ५० लाख रुपैयाँ कोषबाट ऋण लगानी हुनेछ ।

 

नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र प्रभास सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अशोककुमार शाहीबीच १५ असारमा ऋण सम्झौता भएको हो । यो आयोजनामा आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट १२.८ प्रतिशत ऋण लगानी र १७.१९ प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ । 

 

आयोजनाले तानसेन नगरपालिकाका वडा नम्बर ७ र १० का ७०६९ जनसंख्यालाई ३ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ । यस्तै, नगर विकास कोष र जलेश्वर नगरपालिकाबीच स्मार्ट बसपार्क आयोजनाका लागि ११ करोड ४० लाख ७२ हजार रुपैयाँको ऋण सम्झौता सम्पन्न भएको छ ।


कोषले व्यवस्थित सहरीकरणमा नगरपालिकाहरूलाई आर्थिक तथा सामाजिक पूर्वाधारका आयोजनामा वित्तिय सहयोग प्रदान गर्ने उद्देश्यअनुरूप जलेश्वर नगरपालिकामा स्मार्ट बसपार्क आयोजनाका लागि १४ असारमा ऋण लगानी सम्झौता गरेको हो ।


नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र जलेश्वर नगरपालिका नगरप्रमुख रामशंकर मिश्रबीच ११ करोड ४० लाख ७२ हजार रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । कुल अनुमानित लागत १५ करोड २० लाख ९६ हजार रुपैयाँ रहेको यो आयोजनामा कोषको ७५ प्रतिशत ऋण र नगपालिकाको २५ प्रतिशत लगानी हुनेछ । 


कुल १ बिघा ११ कठ्ठा क्षेत्रफलमा निर्माण हुने यो बसपार्क छिमेकी भारतका विभिन्न सहरबाट नेपाल प्रवेश गर्ने बसको ट्रान्जिट प्वाइन्टका रूपमा व्यवस्थित गन्तव्यमा विकास हुनेछ । निर्माण सुरुआतको १८ महिनामा सम्पन्न हुने लक्ष्य रहेको बसपार्कबाट प्रत्यक्ष रूपमा जलेश्वर, पिप्रा, मटिहानीसहित आसपासका नगरपालिका प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।


नगर विकास कोष र तनहुँको व्यास नगरपालिकाबीच बहुउद्देश्यीय कम्प्लेक्स आयोजनाका लागि २० करोड १९ लाख ८० हजार रुपैयाँको ऋण सम्झौता भएको छ ।


व्यास नगरपालिकामा व्यावसायिक क्रियाकलापलाई विस्तार तथा व्यापारिक केन्द्रको रूपमा विकास गराउने उद्देश्यका साथ १४ असारमा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।