close

भरतपुर महानगरका किसानले पाए अनुदानमा ट्रयाक्टर 

भरतपुर महानगरका किसानले पाए अनुदानमा ट्रयाक्टर 

Trulli
ADVERTISEMENT

चितवन- भरतपुर महानगरले नगरभित्र कृषि क्षेत्रमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै अगाडि बढ्ने योजनाका साथ किसानलाई धमाधम कृषि उपकरण वितरण गरेको छ । हरेक दिन कृषिका आधुनिक उपकरण महानगरबाट किसानले ५० प्रतिशत अनुदानमा प्राप्त गर्न थालेका छन् ।


भरतपुर महानगरपालिका कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन महाशाखाले धान रोप्ने अत्याधुनिक मेसिन (राइस ट्रान्सप्लान्टर) देखि किसानको सामान ओसारपोसार र कृषि कर्मका लागि ट्रयाक्टरसमेत वितरण गरेको छ ।  महानगरले धमाधम लाखौँ मूल्यका आधुनिक र अत्यावश्यक उपकरण वितरण गर्न थालेपछि किसान उत्साहित भएका छन् ।


सोमबार मात्रै महानगरले ६ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर किसानलाई वितरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले किसान ट्रयाक्टर वितरण गरे । कार्यक्रममा महानगर प्रमुख दाहालले कृषि पेसामा लागेर खाडी मुलुकमा रोजगारीमा नजान युवा पुस्तालाई आग्रह गरिन् । उपप्रमुख ठकुरीले कृषिमा यान्त्रिकीकरण आवश्यक रहेको धारणा राख्दै कृषि क्षेत्रको विकासका लागि महानगरले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् ।


महानगरले ५० हर्ष पावरका उच्च प्रविधिका ट्रयाक्टर किसानलाई वितरण गरेको हो । महानगरबाट वितरण गरिएका ट्रयाक्टर, कैलाश कृषि विकास कृषक समूह भरतपुर वडा नम्बर ५, विमल एग्रो फर्म एन्ड रिसर्च सेन्टर वडा नम्बर ६, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था वडा नम्बर २२, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था वडा नम्बर २५, हिमशिखर कृषि सहकारी संस्था वडा नम्बर २६ र उन्नतबिज वृद्धि कृषक समूह वडा नम्बर १४ ले पाएको हो ।

 

त्यस्तै, रिजन कृषि तथा पशुपक्षी फार्म वडा नम्बर १८ ले एउटा हाते ट्रयाक्टर प्राप्त गरेको छ । प्रतिट्रयाक्टर १६ लाख ५२ हजार रुपैयाँ लागत परेको छ भने महानगरले प्रतिट्रयाक्टर ८ लाख रुपैयाँ अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।

 

५ फर्मले पाउँदै छन् उपकरण

महानगरमा परेका ४३ आवेदनबाट छनोट गरेर १३ वटा फर्मलाई मागअनुसारको उपकरणमा महानगरले ५० प्रतिशत अनुदान दिएको पौडेलको भनाइ छ ।

 

पौडेलका अनुसार ४ वटा बिउ प्रशोधन मेसिन र एउटा इलेक्ट्रिक ड्रायर मेसिन हस्तान्तरण गर्न बाँकी छ, जुन आउँदो २६ असारमा आइपुग्नेछ ।