close

माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा

आउँदो २१ असारबाट ७६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य

माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा

आउँदो २१ असारबाट ७६ मेगावाट विद्युत् उत्पादनको लक्ष्य

Trulli
ADVERTISEMENT

काठमाडौं– स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादनका लागि अन्तिम चरणको परीक्षण सुरु गरिएको छ ।

 

७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका सार्वजनिक गरिएको हो ।पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावरका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माण स्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारदेखि विद्युत् उत्पादनको तालिका तय गरेको हो । 

 

टोलीले विद्युत्गृहमा भइरहेका उपकरण परीक्षण, बाँध स्थल, रामेछापको खिम्तीमा निर्माणाधीन २२० को न्यू खिम्ती सबस्टेसनलगायतको अनुगमन गरी निर्माणमा संलग्न अधिकारीसँग छलफल गरेको थियो ।

 

‘विभिन्न समस्या झेल्दै आएको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन गर्ने अवस्थामा लगेका छौँ । सम्पूर्ण परीक्षण अन्तिम चरणमा पुगेका छन् । अब कुनै प्राविधिक समस्या नआए आउँदो सोमबार बिहान स्विच अन गरी पहिलो युनिबाट विद्युत् उत्पादन सुरु गर्छौं’, शाक्यले भने ।

 

माथिल्लो र तल्लो ठाटो सुरुङको बीच भागमा राखिने पेनस्टक पाइपको डिजाइन परिमार्जन र निर्माण सम्पन्न भएर भासिएको प्रसारण लाइनको टावर निर्माणका विषयमा कम्पनीबाट तत्काल निर्णय नलिइएको भए आयोजना अझै पर धकिलिने अवस्थामा समयमै निर्णय गरी काम सम्पन्न गरिएको उनले दाबी गरे । 

 

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेकलगायत सिभिल संरचना र त्यहाँ जडान गरिएका गेट, स्टपलगजस्ता हाइड्रोमेकानिकल उपकरणका सबै प्रकारका परीक्षण सफलतापूर्वक सम्पन्न भइसकेका छन् । विद्युत्गृहमा पहिलो युनिटको परीक्षण भइरहेको छ । 

 

आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ । यसका लागि प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ भने त्यसको परीक्षण भइरहेको छ । 

 

७६ किलोमिटर खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ । माथिल्लो तामाकोसीको विद्युत्गृह दोलखाको गोंगरबाट रामेछापको खिम्तीसम्मको ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको परीक्षण गरिनेछ । खिम्तीमा निर्माणाधीन २२० केभीको न्यू खिम्ती सबस्टेसनको परीक्षण भइरहेको छ ।

 

‘सबस्टेसनको परीक्षणका लागि केही दिन लाग्ने देखिएकाले हाललाई वैकल्पिक व्यवस्था गरी आयोजनाको विद्युत न्यू खिम्ती सबस्टेसनमा नलगी सीधै ढल्केबर सबस्ेटसनमा जोडेर राष्ट्रिय प्रणालीमा प्रवाह गरिनेछ’, शाक्यले भने, ‘यसका लागि आवश्यक प्रबन्ध गरिसकेका छौँ ।’ 

 

सबस्टेसन निर्माण सम्पन्न भएपछि आयोजनाको विद्युत् न्यू खिम्तीबाट ढल्केबरतर्फ र खिम्ती–लामोसाँघु–भक्तपुर प्रसारण लाइनमार्फत काठमाडौं उपत्यकातर्फ प्रवाह गरिनेछ । सबस्टेसन १५ दिनभित्र सञ्जालनमा आउनेछ । 

 

आयोजनाको साइट कार्यालय, आयोजना स्थलसम्मको पहुँच सडक, पुललगायत पूर्वाधार निर्माण आर्थिक वर्ष २०६२÷६३ मा र मुख्य संरचना निर्माण २०६७÷६८ मा सुरु भएको थियो ।

 

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेस आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले आयोजना निर्माण ढिलाइ भएको थियो । 

 

लट २ को ठेक्का भारतीय कम्पनी टेक्स्म्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायत हाइड्रोमेकानिकल उपकरण उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । 

 

भूकम्पले गर्दा झन्डै २ वर्ष काम रोकिएको, बाँध स्थलतर्फ जाने सुरुङ मार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेर, कोभिड–१९ लगायतले आयोजना निर्माण प्रभावित भएको थियो ।

 

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकेदारलाई दिइएको थियो ।

 

उच्च राजनीतिक तथा प्रशासनिक नेतृत्व, आयोजनामा खटिएका कर्मचारी, ठेकेदार कम्पनी, स्थानीयलगायत सबैको सहयोगमा आयोजना विद्युत् उत्पादन गर्ने अवस्थामा पुगेको हो । 

 

आयोजनाले चरीकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब १ अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँध स्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।