close

जुम्लामा ९० प्रतिशत रोपाइँ, मुगुमा कुलो पुरिँदा खेत बाँझै

जुम्लामा ९० प्रतिशत रोपाइँ, मुगुमा कुलो पुरिँदा खेत बाँझै

Trulli
ADVERTISEMENT

उन्नत जातको धान भन्दा रैथाने बाली कालिमार्सी धानको खेतीमा जुम्ली किसानको आकर्षण बढेको छ । उन्नत धानभन्दा कालिमार्सीको बजार मुल्य पनि बढी र राष्ट्रिय अन्तराष्ट्रिय बजारमा माग पनि बढ्दै गएकोले कालिमार्सी धानको खेतीमा जुम्ली किसान आर्कषित भएका हुन् । जुम्लामा हालसम्म ९० प्रतिशत रोपाइँ सकिएको छ । भने बाँकी १० प्रतिशत क्षेत्रमा धान रोपाइँको काम भने चलिरहेको छ ।


जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भइरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, ‘२९ सय हेक्टर मध्ये १५ सय हेक्टरमा रैथाने कालिमार्सी धान र १४ सय हेक्टरमा उन्नत जातको धान खेती भइरहेको छ ।’ जुम्लाका करिब ५५ प्रतिशत किसानले कालीमार्सी धानको खेती गरिरहेका छन् ।

 

जुम्लामा पाँच वटा जातको धान खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जसमा चन्दननाथ १, चन्दननाथ २, लेकाली १ र लेकाली २ गरी उन्तत जातको र रैथाने कालीमार्सी गरी पाँच जातको धानी खेती भइरहेको प्रमुख देवकोटाको भनाइ छ ।

 

नेपालमै महंगो मुल्यका रुपमा प्रतिकेजी १ सय २ रुपैयाँ कालिमार्सी धानको मुल्य निर्धारण समेत गरिएको छ । जुन मुल्य नेपालकै सबैभन्दा बढी मुल्य मुल्य हो । भर्खरै १८ टन क्यानडा गएपछि र देशभरका कोसेली घरमा जुम्ली कालिमार्सी चालमको माग बढ्न थालेपछि किसानको आकर्षण बढेको पाइएको छ ।

 

बजारको माग अनुसार कालिमार्सी धान खेतीको क्षेत्र विस्तारका लागि कृषि कार्यालयले योजना बनाएको छ । देशभर १५ असारमा धान दिवस मनाएपनि जुम्लामा चैत १२ गते धान दिवस र जेठ १५ गते रोपाइँ महोत्सव मनाउने गरिन्छ ।

 

६ हजार मेट्रिकटन धान उत्पादन

जुम्लामा यस वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथानेबाली उत्पादन भएको छ । करिब ५ वर्षयता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले कमी आएको सरकारी अनुमान छ । भने मार्सीधानको उत्पादनमा थोरै बृद्धि भएको छ ।

 

१२ हजार मेट्रिकटन अन्नबाली उत्पादन हुँदा मार्सीधान मात्रै ६ हजार ६ सय ७० मेट्रिकटन धान उत्पादन भएको छ । अझै धानको उत्पादकत्व बढाउन आठवटै स्थानीय तहले कृषि केन्द्रित नीति तथा बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको कृषि विज्ञहरु बताउँछन् ।

 

यसवर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छ भने गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६० कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ ।

 

जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।


पहिरोले लग्यो कुलो, खेत बाँझै 

उता मुगुको पश्चिम खत्याड गाउपालिका- ८ मा रहेको आमगाउँका स्थानीय यो वर्ष रोपाइबाट बञ्चित भएका छन् ।  उनीहरुको मानो रोपेर मुरी फल्ने सपना चुडिएको छ । वष भरी हात मुख कसरी जोड्ने भन्ने पीरले सिङ्गो गाउँ चिन्तामा छ ।


लगातारको बर्षाद र बाउपानी  झुगोला जोड्ने सडकको नुवाखेत खण्डमा जथाभावी डोजर प्रयोग गरिएका कारण सिँचाइ कूलोमा पहिरो जाँदा  करीब २ सय मिटर कुलो पूर्णरुपमा क्षति भएको छ । हरेक वर्ष १५ जेठमा धानको बेर्ना राखेर १५ असारमा रोपाइ सुरु गरिने यस गाउँमा रोपाइँ हुन सकेन । बिगतका बर्षमा १५ असारमा रोपाइँ सुरु हुने यो गाउँका खेत अहिले बाँझै छन् । 

 

रोप्नको लागि घरमा भिजाएर राखिएका धानसमेत खेर गएको स्थानीय अमरसिंह बिकले जानकारी दिए । मर्मत गरेपनि दैनिकजसो आउने पाहिरोले कुलो पुरिदै गएको उनको भनाइ छ । ३४ घरधुरीको बसोवास भएको यो गाउँमा धान रोप्न नपाएपछि किसान चिन्तित छन् । 


सिमी ३ हजार ९ सय ६० मेट्रिकटन, दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ । तेल बाली ८५ मेट्रिकटन, वर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको छ ।