close

कांग्रेस महाधिवेशन बहसः होला त तेस्रो धारको उदय ? 

यसकारण बलियो छ निधि-कोइराला-सिंह समीकरण

कांग्रेस महाधिवेशन बहसः होला त तेस्रो धारको उदय ? 

यसकारण बलियो छ निधि-कोइराला-सिंह समीकरण

Trulli
ADVERTISEMENT

काठमाडौं- १४औं महाधिवेशनको मिति नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी (प्रदेशतिर कही ठाउँमा सत्तापक्ष) दल नेपाली कांग्रेसभित्र नीतिभन्दा नेतृत्व र मतदाता (महाधिवेशन प्रतिनिधि) का विषयमा बहस चुलिएको छ । 

 

महाधिवेशन प्रतिनिधिको बैधानिकता जाँच्ने क्रमलाई छाँयामा पार्नेगरी नेतृत्वका आकांक्षी देखिएपछि यसपटक कांग्रेस महाधिवेशनमा नीति भन्दा नेतृत्वको बहस प्रधान हुने देखिएको छ । 

 

मुख्य आकांक्षी अधिकांश ६० कटेका 

४५ वर्षमा गृहमन्त्री र ४८ वर्षमा प्रधानमन्त्री बनेका सभापति शेरबहादुर देउवा ७५ वर्षको उमेरमा सभापतिमा दोहोरिने प्रतिस्पर्धामा जुटिसकेका छन् । उनीभन्दा एकवर्ष जेठा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि टिम बनाएर देउवालाई यसपटक पछारेरै छाड्ने अभियानमा छन् । 

 

१६ पटकसम्म प्रधानमन्त्रीका उम्मेदवार बनेर हारेका पौडेल यसपटक पार्टी सत्ता जित्न चाहन्छन् । तुलनात्मक रुपमा पौडेलको टिममा युवापंक्ति धेरै देखिए पनि देउवाको टिमलाई ६० कटेकाको भरथेग हुने देखिन्छ । 


सभापतिका आकांक्षीका प्यानल टुंगो लागि नसके पनि स्थायी जस्तो देखिने देउवा-पौडेल पक्षधर नेता टिम बनाउन जुटिरहेकाले अहिलेनै कसले कुन प्यानलबाट चुनाव लड्लान भन्ने तय गर्न मुस्किल छ । तर, एउटा सत्य चै के भने कांग्रेसको नेतृत्वमा यसपटक पनि युवापंक्तिको वर्चस्व हुने सम्भावना भने न्युन मात्र नभएर क्षीण नै देखिन्छ । 


देउवाको टिमबाट यसपटक उपसभापतिमा विजय गच्छदार, पूर्णबहादुर खड्का, एनपी साउद र ज्ञानेन्द्र बहादुर कार्कीले इच्छा देखाएका छन् ।  महामन्त्रीमा प्रकाशशरण महत, बालकृष्ण खाँड, रमेश लेखक र विश्वप्रकाश शर्माको दावी छ । 

 

पौडेल टिमबाट उपसभापतिमा अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य। रामशरण महत र दिलेन्द्र प्रसाद बडूले आकांक्ष देखाएका छन् भने महामन्त्रीमा गगन थापा, प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुङ, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, दिपक गिरिलगायतको आकांक्षा छ । 
 


अर्जुनरसिंह केसी र गोपालमान श्रेष्ठ ७३ वर्षका भएका छन् भने  शेखर कोइराला ७० र कृष्ण सिटौला ७१ वर्षका भए । रामशरण महत ७० पुगे भने बिजय गच्छदार र बलवहादुर केसी ६७ वर्षका भएका छन् । 


आकांक्षीमध्ये प्रकाशमान सिंह र पूर्णबहादुर खड्का ६५ वर्षका छन् भने महेश आचार्य र ज्ञानेन्द्र बहादुर कार्की ६६ वर्षका भए । अर्का आकांक्षी बालकृष्ण खाँडले ६० टेके भने प्रकाशशरण महत ६१ वर्षका भएका छन् । 


यी मुख्य आकांक्षी ६० वर्षमाथि हुँदा पौडेलका टिमका महामन्त्रीका उमेदवार भनिएका गगन थापा र देउवा टिमका महामन्त्रीका उमेदवार विश्वप्रकाश शर्मा मात्रै  ५५ वर्ष भन्दा कमका देखिन्छन् । अझ यी मध्ये कुनैपनि उमेदवार नेपालले अंगिकार गरेको युवा उमेर (४५ वर्ष) सम्मका युवा समूहका छैनन् । 

 

यसले के देखाउँछ भने कांग्रेसको आगामी महाधिवेशनबाट युवा पुस्तामा नेतृत्व हस्तान्तरण हुने या हस्तान्तरणको प्रकृयामा पुग्ने नेता जित्ने सम्भावना छैन । कांग्रेस यसपटक पनि वुढा नेताको नेतृत्वमा रमाउने देखिन्छ । 

 

पौडेललाई छाडेकै हुन कोइराला परिवारले ? 

आगामी महाधिवेशनमा देउवा निकट मानिएका उपसभापति बिमलेन्द्र निधिले देउवा क्याम्प छाडेर सभापतिको आकांक्षी बनेका छन् ।

 

निधिलाई सभापतिमा कोइराला परिवारले साथ दिने संकेत देखिइरहेको छ । पछिल्ला दिन प्रकाशमान सिंह, निधि, शेखर कोइराला, शशांक कोइरालालगायतका नेताहरु बारम्बार छलफलमा जुटेपछि यसपटक पुराना प्रतिद्धन्दी देउवा र पौडेललाई झस्को पसेको छ । 


पौडेललाई साथ दिदै आएको कोइराला परिवारलाई कांग्रेसमा निर्णयक शक्ति मानिन्छ । यो परिवारले देउवा र पौडेल दुवैको साथ छाड्ने संकेत देखिएपछि कांग्रेसमा पहिलोपटक तेस्रो धार हावी हुने निश्चितप्राय छ । 

 

निधिले सभापतिको दावी छाडेनन् र कोइराला परिवारलाई उपसभापति या महामन्त्रीमा रिझाएर टिम बनाउन सकेभने यसपटक निधिले देउवाको जितमा व्यवधान ल्याइदिन सक्छन् । किनकी उनको टिममा कांग्रेस संस्थापकहरु बिपि कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको ‘राजनीतिक बैधता’ रहने देखिन्छ ।

 

निधि-कोइराला गठजोडले देउवालाई मात्र होइन पौडेल पक्षरधलाई पनि क्षति पुर्याउन सक्छ । यसअघि कोइराला पक्षधरको बलियो साथ पौडेललाई थियो । निधितर्फ यो ‘लिगेसी’ सरेको खण्डमा पौडेललाई स्वत घाटा पुग्ने देखिन्छ । 

 

तुलनात्मक रुपमा युवा पंक्ति दोस्रो र तेस्रो वरियताका नेतामा अघि सारेर हिडेका पौडेलमाथि निधि समूह हावी भए युवा पुस्ता नेतृत्वमा पुग्न मुस्किल पनि हुने देखिन्छ । 


किनकी पौडेल टिमका भनिएका गगन थापा, प्रदीप पौडेल, गुरु घिमिरेजस्ता महामन्त्रीका युवा दावेदारहरु निधि टिमको प्रभावका कारण बाहिरिन सक्छन् ।