close

कोरोना कहरः घरै बसौँ भरिन्न पेट, बाहिर निस्कौँ पुलिसको ‘थ्रेट’

कोरोना कहरः घरै बसौँ भरिन्न पेट, बाहिर निस्कौँ पुलिसको ‘थ्रेट’

Trulli
ADVERTISEMENT

चितवन- कोरोना महामारीको त्रासका कारण सरकारले देशभर निषेधाज्ञा लागू गरिरहेको छ । तर, दैनिक काम गरेर खाने र व्यापार, व्यवसाय गरेर घरमा चुल्हो बाल्नेहरू यसको प्रत्यक्ष मारमा छन् ।

 

पहिलो चरणको कोरोना महामारीका बेला स्थानीय निकाय तथा सहयोगी दाताबाट खाद्यान्न सहयोग पाएका र दैनिकी चलाएका धेरैजसो विपन्न अहिले पनि त्यसैको पर्खाइमा छन् । दैनिक ठेलामा व्यापार गरेर ५ जनाको परिवार पाल्ने भरतपुर वडा नम्बर ७ का विष्णुप्रसाद गैरे अहिले बिहान-बेलुकाको छाक टार्ने समस्या रहेको सुनाउँछन् ।


‘सरकारले भनेको मान्नुपर्छ । रोगले मरिने चिन्ता छ । घरमा बस्न मन छ तर घरभित्रै बसेर दैनिकी चल्दैन । परिवार पाल्नुपर्‍यो । अन्य आयस्रोत छैन । कसरी खाने धौ हुन थाल्यो ?’ गैरे गुनासो गर्छन् ।

 

गाउँ-गाँउमा निषेधाज्ञाका कारण बजार, होटल व्यवसाय बन्द हुँदा तरकारीलगायत वस्तुहरू कुहिन र बिग्रन लागेका छन् । वडा नम्बर ८ गौरीगञ्जबाट सस्तोमा तरकारी खरिद गरेर बेच्दै हिँड्ने गरेको उनले बताए । उनले थपे, ‘जोखिम छ । आफ्नै कारण परिवारमा संक्रमण हुने चिन्ता पनि छ । तर, सजग हुँदै व्यापार गरेको छु ।’

 

कतिपय ठाउँमा व्यापार गर्दै जाँदा दुव्र्यवहारसमेत भोगेको उनले सुनाए । गैरेले भने, ‘सुरुमा बजार क्षेत्रमा जाने गरेको थिएँ । बाटोमा प्रहरीको हैरानी खेप्नुपरेपछि अहिले जान छाडिदिएँ । तर, दैनिकी जुटाउन व्यवसाय भने छाड्न सकिनँ । गाउँ-गाउँ पुगेरै भए पनि खाने बाटो तय गरेको छु ।’

 

निषेधाज्ञाअघि तरकारी बेच्दा सबै खर्च कटाएर दैनिक ८ सयदेखि १२ सय रुपैयाँसम्म बचाउने गरे पनि अहिले खान मात्र पुगेको उनको भनाइ छ । गैरेले सिजनअनुसारको तरकारी व्यापार गर्दै आएका छन् । वडा नम्बर ८ गौरीगञ्जबाट प्रतिकिलो ३० का दरले खरिद गरेर ल्याएको लौका ३५ रुपैयाँमा बेच्ने गरेको उनले सुनाए ।

 

उनले घरमै उत्पादित कटहर, फूल गोभी, टमाटर, गाजर, मूलालगायत तरकारी पनि बेच्ने गरेका छन् । ठेला व्यापारमा पहिला जति फाइदा नभए पनि खर्चको जोहो भने भएको उनको भनाइ छ । प्रहरी प्रशासनले ठेलामा तरकारी बेच्दा सुरुमा दुःख दिए पनि अहिले अत्यावश्यक भन्दै छाड्ने गरेको गैरेले बताए ।